११ आश्विन २०८३, आईतवार

१५ अर्बको लागतमा निर्माण हुने दोधारा चाँदनी सुक्खा बन्दरगाह बने पछि नेपाल र भारतबीचको व्यापारमा वृद्धी हुने

एसीपी संवाददाता

२ जेष्ठ २०८०, मंगलवार ०९:२८ मा प्रकाशित

काठमाडौं . सरकारले सुदूरपश्चिम प्रदेशको दोधारा चाँदनी नगरपालिका, कञ्चनपुरमा दोधारा चाँदनी सुक्खा बन्दरगाह एकीकृत जाँचचौकी निर्माणको कामका लागि प्रक्रिया अगाडि बढाएको छ। वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट स्वीकृत भएसँगै आयोजनाको निर्माणको प्रक्रिया अघि बढेको हो।

सरकारले सुदूरपश्चिम प्रदेश र भारतबीचको व्यापार र यातायात पूर्वाधार विकासका लागि सुक्खा बन्दरगाह/एकीकृत जाँचचौकी निर्माण प्रस्ताव गरेको थियो। नेपाल इन्टरमोडल यातायात समिति उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय प्रस्तावक रहेर तयार पारिएको वातावरणीय रिपोर्ट वन तथा वातावरण मन्त्रालयमार्फत स्वीकृत भएको हो।

दोधारा चाँदनी सुक्खा बन्दरगाह/एकीकृत जाँचचौकीको लागत १५ अर्ब रुपैयाँ अनुमान गरिएको छ।

नेपाल भारत अन्तरदेशीय व्यापारमा काँकरभिट्टा, विराटनगर, वीरगञ्ज, भैरहवा, नेपालगञ्जजस्तै सुदूरपश्चिम प्रदेशमा यो पहिलो आयोजना तथा व्यापार केन्द्र हुनेछ। यो आयोजनाले इन्डियन ओसनतर्फको व्यापार तथा पारवाहन सुविधालाई सहज बनाउने सरकारको भनाइ छ। यसले कोलकत्ता तथा विशाखापट्टनम बन्दरगाहको भारलाई कम गराउनुका साथै मुम्बई तथा गुजराततर्फको बन्दरगाहलाई जोड्ने तथा दिल्लीतर्फको व्यापार मार्ग पनि सहज बन्ने समितिले जनाएको छ।

समितिले सुक्खा बन्दरगाह महत्त्वपूर्ण विकास आयोजना बन्ने सम्भावना रहेको बताएको छ। दोधारा चाँदनी सुक्खा बन्दरगाह/एकीकृत जाँचचौकी आयोजनादेखि दिल्लीसम्मको दुरी लगभग २४५ किमि रहेको छ।

त्यसैगरी गुजरात करिब १२०० किमि रहेको छ। यस सुक्खा बन्दरगाहले भारतका पश्चिमी राज्यहरू दिल्ली, राजस्थान, गुजरात, उत्तराखण्ड, पञ्चाब, हरियाणा आदि राज्यको नजिक र सहज व्यापार सुविधामा वृद्धि हुने समितिको भनाइ छ। दोधारा चाँदनी सुक्खा बन्दरगाह/एकीकृत जाँचचौकी निर्माण आयोजनाले नेपालको पश्चिमी नाकालाई जोड्ने छ।

आयोजना क्षेत्र १७४ मिटर देखि २१५ मिटरको उचाइमा फैलिएको छ। दोधारा चाँदनी नगरपालिकाको विद्यमान भू-उपयोग हेर्दा नगरपालिकाको झण्डै ६५.७६ प्रतिशत (३७.३८ वर्ग कि.मि.) जग्गा खन-जोत हुने उपयुक्त जमिनको रूपमा रहेको छ भने १९.९० प्रतिशत (११.३१ वर्ग किलोमिटर) वन, झाडी तथा घाँसे मैदानले ओगटेको छ। खेतीयोग्य जमिनमध्ये अधिकांश जमिन मौसमी वर्षामा निर्भर रहेको छ।

गर्मीयाममा दोधारा चाँदनी नगरपालिकाको औसत तापक्रम अधिकतम ३७.५ डिग्री सेल्सियस रहेको छ भने हिउँदमा न्यूनतम ६.९ डिग्री सेल्सियस रहेको छ। नगरपालिकाका विभिन्न भौगोलिक क्षेत्र तथा वडाहरूमा फैलिएर रहेका नदी नाला, खोला र पोखरीहरूले जलभण्डार गरिएको छ। यस नगरपालिकाको प्रमुख नदीमा महाकाली नदी र जोगबुढा नदी रहेका छन्। यसबाहेक नगरमा अन्य सानातिना खोला तथा पोखरीहरू रहेका छन्।

नगरपालिकाका नदी तथा खोला किनारका भागहरू भू-क्षयको दृष्टिकोणले संवेदनशील क्षेत्रमा पर्छन्। नगरपालिका क्षेत्रमा परिरहेको वन विनाशको चाप, अनियन्त्रित डढेलो एवं अव्यवस्थित ढंगले ढुंगा तथा बालुवाहरू झिक्नाले प्राकृतिक सन्तुलन बिग्रन गई बस्ती एवं खेतीतर्फ अनियन्त्रित बाढीको प्रकोप बढेको छ।

आयोजना क्षेत्र वरिपरि पर्याप्त हरियाली वनस्पति रहेको भए तापनि वायुको गुणस्तर केहि प्रदूषित रहेको छ। आयोजना स्थलमा प्रयोग हुने भूमिगत पानीको गुणस्तर गुणस्तरसम्बन्धी मापदण्ड २०६३ भित्र रहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x