१७ श्रावण २०८३, आईतवार

पाकिस्तानमा आर्थिक संकट गहिरिँदै, कूटनीतिक कर्मचारीको तलब रोकियो

एसीपी संवाददाता

५ जेष्ठ २०८०, शुक्रबार ०८:५८ मा प्रकाशित

पाकिस्तान सरकारले देशमा जारी आर्थिक संकटका कारण विदेशमा रहेका आफ्ना कूटनीतिक नियोग तथा राजदूतावासमा कार्यरत कूटनीतिक कर्मचारीको तलब रोकेको छ।

कूटनीतिक कर्मचारीले दुई महिनादेखि तलब नपाएका, विनापारिश्रमिक उनीहरूले इदुल फित्र मनाएका र विद्यालयको शुल्क तिर्नसमेत धौधौ भएको स्रोतलाई उद्धृत गर्दै पाकिस्तान टुडेले जनाएको छ। समयमा आफ्ना सन्तानको शुल्क नतिरे उनीहरू विद्यालयबाट निष्कासित हुन सक्ने चिन्ताले पनि कूटनीतिक कर्मचारीलाई पिरोलेको छ।

अर्थ मन्त्रालयले गत डिसेम्बरमा सबै कर्मचारीको तलब निकासा गरिएको दाबी गरे पनि मार्च महिनाको तलब प्राप्त नभएको कूटनीतिक नियोगका कर्मचारीले बताएका छन्। पाकिस्तानी विदेश मन्त्रालयले पनि समयमै तलब निकासा गर्न अर्थ मन्त्रालयका अधिकारीलाई अनुरोध गरेको छ। विदेश मन्त्रालयले आफ्नो बजेटबाट कूटनीतिक कर्मचारीलाई जनवरी र फेब्रुअरीको तलब हस्तान्तरण गरेको थियो।

विदेश मन्त्रालयले मातहतका निकाय र विभागमार्फत विदेशमा कार्यरत आफ्ना कर्मचारीका लागि रकम विनियोजन गरी प्रत्येक महिनाको एक वा दुई तारिखमा कर्मचारीको खातामा रकम दाखिला गर्दै आएको थियो। अर्थसचिवसँग यस सम्बन्धमा प्रतिक्रिया लिन खोज्दा त्यो सफल हुन सकेन।

हालैको एक बैठकमा कूटनीतिक कर्मचारीले तलब नपाएको विषय उठेपछि अर्थमन्त्री इसाक दारले जवाफ दिनुपरेको थियो। विदेशमा कार्यरत कर्मचारीलाई विदेशी मुद्रामा तलब दिनुपर्ने भएकाले आर्थिक समन्वय समिति र पाकिस्तानको केन्द्रीय बैंकको समन्वयमा आवश्यक व्यवस्था गरिने बताइएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x