१७ श्रावण २०८३, आईतवार

माथिल्लो अरूण जलविद्युत परियोजनामा लगानी जुटाउन छलफल

एसीपी संवाददाता

२५ जेष्ठ २०८०, बिहीबार १९:२० मा प्रकाशित

काठमाडौँ– माथिल्लो अरूण जलविद्युत परियोजनामा लगानी जुटाउन अर्थ मन्त्रालयमा विभिन्न दातृ निकायका प्रतिनिधिहरूसँग छलफल भएको छ ।

१ हजार ६१ मेगावाट क्षमताको अर्ध जलाशययुक्त यो परियोजनामा लगानी गर्न अर्थ मन्त्रालयले विश्व बैंक, एसियाली विकास बैंक, जाइका, जर्मनी सरकार, ओपेक फण्ड, युरोपियन युनियन, युरोपियन लगानी बैंक, कुबेद फण्ड, जर्मन, नर्वे, साउदी विकास फण्ड लगायतका दातृ निकायका प्रतिनिधिसँग छलफल गरेको हो । 

छलफलमा अर्थमन्त्री डा. प्रकाशशरण महतले विश्व बैंकले माथिल्लो अरूणमा लगानी गर्न खोज्नु सकारात्मक भएको बताए । मन्त्री महतले जलाशययुक्त दुधकोशी जलविद्युत परियोजनामा एसिया विकास बैंकले चासो राखेको भन्दै लगानीको प्रक्रिया छिटो अगाडि बढाउन आग्रह गरे । त्यसैगरी छलफलमा उर्जा मन्त्री शक्ति बस्नेतले नेपालमा जलविद्युत उत्पादन र यसको प्रभावकाबारेमा चर्चा गरेका थिए । 

 छलफलमा विश्व बैंक, एशियाली विकास बैंक, जाइका फण्ड, साउदी फण्डका प्रतिनिधिहरुले माथिल्लो अरूण परियोजनामा लगानी गर्न इच्छुक रहेको बताएका थिए ।  जर्मनी सरकारका प्रतिनिधिले भने परियोजनामा हुने प्रगतिका आधारमा ट्रान्समिसन लाइनमा लगानी गर्ने आफूहरू इच्छुक रहेको जनाएका थिए ।

 अपर जलविद्युत आयोजनाले गरेको अध्ययन अनुसार परियोजनाको काम सम्पन्न गर्न १ अर्ब ८० करोड अमेरिकी डलर लागत लाग्ने अनुमान गरिएको छ । त्यसमध्ये ८५ करोड डलर आन्तरिक श्रोतबाट जुटाउने योजना रहेको छ भने आन्तरिक श्रोतबाट करिब ४० करोड डलर लगानी गर्ने गरि विभिन्न संस्थासँग सम्झौता भइसकेको छ ।

परियोजना निर्माणका लागि गर्नु पर्ने पूर्व तयारीका जग्गा अधिग्रहण, रूख कटान लगायतका धेरैजसो कामहरू सम्पन्न भइसकेका छन् । सन् २०२५ जुलाईबाट परियोजना निर्माणको काम सुरू गर्ने गरि काम अगाडि बढिरहेको अर्थले जनाएको छ । खबरहब 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x