प्रधानमन्त्री प्रचण्डले महाकालेश्वरबाट ल्याएको जल पशुपतिमा चढाएर आरती दर्शन गरेको पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती बताउँछन् । ‘महाकालेश्वरबाट ल्याएको जल पशुपतिमा चढाउनु पनि थियो,’ प्रधानमन्त्रीको पशुपति दर्शनबारे मन्त्री किराँतीले भने, ‘प्रधानमन्त्री कोषको संरक्षक पनि हो । अवलोकन गर्नु पनि थियो ।’
स्वदेशमा औपचारिक रूपमा कुनै मन्दिर नछिरेका प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा महाकालेश्वरको दर्शन गरेपछि प्रशंसा र आलोचना सँगसँगै भइरहेको छ । प्रशंसा गर्नेहरूले पनि बहुसंख्यक हिन्दुको भावनाको कदर नगरेका प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अगाडि भने नतमस्तक भएर गेरु वस्त्र धारण गर्न तयार भएको टिप्पणी गरेका थिए । प्रतिनिधिसभामै पनि उनीमाथि यो कोणबाट प्रश्न उठ्यो । जवाफमा उनले भनेका थिए, ‘नेपालकै महाकालेश्वरको पनि दर्शन गरेको छु । पशुपति पनि जान्छु ।’
पर्यटनमन्त्रीले भनेझैँ महाकालेश्वर दर्शनपछि पशुपतिको दर्शन गर्नुपर्ने धार्मिक परम्परा हो त ? संस्कृतिविद् एवं पशुपति विकास कोषका पूर्वसदस्य–सचिव गोविन्द टण्डन त्यस्तो कुनै धार्मिक परम्परा नभएको बताउँछन् । ‘धेरै नै चर्चा भएपछि मैले पनि अध्ययन गरेँ । तर, त्यस्तो कुनै धार्मिक परम्परा भेटिएन,’ उनले भने, ‘चार धाम गरेपछि पशुपतिको दर्शन गर्ने परम्परा छ । त्यसलाई पूर्ण आहुति भनिन्छ । प्रधानमन्त्रीले त्यसै गर्नुभएको होला ।’
२०६५ मा पहिलोपटक प्रधानमन्त्री हुँदा प्रचण्डले पशुपतिनाथका मूल भट्ट फेर्ने असफल प्रयास गरेका थिए । धर्ममा हस्तक्षेप गरेको भन्दै चौतर्फी आलोचना भयो । पशुपतिमा भारतीय मूल भट्ट रहने परम्परा छ । त्यो परम्परा तोड्न खोजेको भन्दै भारतीय चासो पनि उत्तिकै थियो । अन्ततः पशुपतिमा पुरानै भट्ट फर्काइए ।
पहिलो र दोस्रो प्रधानमन्त्रीत्वकालमा पशुपति नछिरेका प्रचण्ड भारत भ्रमणपछि पहिलोपटक पूजापाठ गर्न मन्दिर पुगेका हुन् । प्रधानमन्त्री पशुपति विकास कोषको संरक्षक छन् । तर, अघिल्ला १८ महिनामा उनी कहिल्यै गएनन् ।
‘मोदी भारतको प्रधानमन्त्री भएपछि २०१४ मै पशुपति दर्शन गर्न आए । तर, प्रचण्डलाई मन्दिर छिर्न मोदीले आग्रह गर्नुपर्यो,’ संस्कृतिविद् टण्डन भन्छन्, ‘महाकालेश्वरको दर्शनपछि लोकाचारका लागि पनि पशुपति दर्शन गर्नुपर्ने भएको हुन सक्छ । जेसुकै कारणले होस्, जीवनको उत्तरार्द्धमा धर्म संस्कृतिप्रति रूचि जाग्नु सकारात्मक मान्नुपर्छ ।’
राजनीतिका जुनसुकै भाका छोप्न सक्ने खुबी प्रधानमन्त्री प्रचण्डसँग छ । हिन्दु धर्मप्रति आमजनमत उदार बन्दै गएको बुझेपछि उनी पूजापाठ स्वीकार्ने विन्दुमा आइपुगेका छन् । एकसिटे राप्रपा धार्मिक एजेन्डाकै भरमा १४ सिटमा विस्तार भएकाे उनले देखेका छन् । त्यसमाथि भारतीय संस्थापनलाई रिझाउने औजारका रूपमा पनि प्रचण्डले महाकालेश्वर दर्शनदेखि पशुपति पूजापाठसम्म गरेको बुझ्न कठिन छैन ।
उनका ‘जनयुद्ध’कालीन सहयात्री डा. बाबुराम भट्टराईले भारतले नेपाली भूभागसमेत समेटेर संसदमा राखेको नक्साको तस्वीरसहित प्रचण्ड कदमलाई ‘नयाँ सांस्कृतिक क्रान्ति’ भन्दै व्यङ्ग्यात्मक प्रश्न उठाएका छन् । ‘नयाँ ‘सांस्कृतिक क्रान्ति’ र ‘सांस्कृतिक नक्सा ?’ एक्लै कोही कुनै धार्मिकस्थल जाँदा प्रश्न उठाउन मिल्दैनथ्यो । त्यो उसको निजी आस्थाको कुरा हो । तर, जब पूरै मन्त्रीमण्डल एकैसाथ जान्छ, तब त्यो राजनीति हुन्छ र प्रश्न उठ्छ,’ डा भट्टराईले ट्विट गरेका छन् । सिलापत्र