१७ श्रावण २०८३, आईतवार

अदानी ग्रुपले चीनियाँ कम्पनीसँग मिलेर नेपालमा लगानी गर्दै

एसीपी संवाददाता

२९ जेष्ठ २०८०, सोमबार १०:३९ मा प्रकाशित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग निकट सम्वन्ध रहेको भनिएका गौतम अदानीको कम्पनी अदानी ग्रुपले चीनियाँ कम्पनीसँग मिलेर नेपालमा लगानी गर्ने तयारी गरेको छ।

विश्वकै धनीमध्येका अदानीको उक्त कम्पनीले मुख्यतः तीन परियोजनामा लगानी गर्नेबारे छलफल गरिरहेको स्रोतले जनाएको छ।

सौर्य उर्जा, जलविद्युत आयोजना र प्रसारण लाइनमा लगानी गर्ने तयारी स्वरुप छलफल अघि वढिरहेको र त्यसका लागि सहकार्य गर्ने कम्पनीहरुको खोजी भइरहेको अदानी ग्रुपका एक सम्पर्क सुत्रले वताए ।

अदानी ग्रुपले यसअघि पनि सौर्य उर्जाको लागि नेपालमा लगानी गर्ने जनाएको थियो। त्यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकसँग मिलेर प्रसारण लाइनको लागि लगानी गर्ने विषयमा पनि सो समूहले छलफल गरेको थियो।

खासगरी पूर्व–पश्चिम प्रसारण लाइन र मेगा जलविद्युत आयोजनामा अदानी ग्रुपको चासो छ। मुगु कर्णाली जलविद्युत आयोजना र कर्णालीको चिसापानी बहुउदेश्यीय आयोजनामा यो ग्रुपले चासो राखेको हो।

मुगु कर्णाली १ हजार ९ सय मेगावटाको जलविद्युत आयोजना पनि हो। यसको डीपीआरका लागि अदानी ग्रुपले चासो राखेको छ। यसैगरी, नेपाल र भारत दुवैतिर सिंचाइ परियोजना चलाउन सकिने र १० हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन गर्न सकिने कर्णालीकै चिसापानी बहुउदेश्यीय आयोजनामा पनि अदानी ग्रुपको चासो छ।

अदानी ग्रुपले नेपालमा लगानी तथा प्राविधिक सहकार्यको लागि भने चिनियाँ कम्पनीसँग छलफल गरिरहेको छ। चीनको निर्माण क्षेत्रमा लगानी तथा अध्ययन गर्ने सिनोमा इन्टरनेसनल कम्पनीसँग लगानी सहकार्यकोे लागि छलफल भईरहेको जनाईएको छ।

चिनियाँ सिनोमा कम्पनी टेक्नोलोजी र इन्जिनियरिङ प्लाटफर्म होे। सिमेन्ट प्रविधि, उपकरणका लागि विश्वको अग्रणी सेवा प्रदायक कम्पनीमा पर्ने यो इन्जिनियरिङ प्रणाली एकीकरण, चीनको उच्च प्रविधि र प्राविधिक नवप्रवर्तन प्रदर्शन गर्ने कम्पनीमा पर्छ।

यस कम्पनीले हालसम्म ८० भन्दा बढी देशहरूमा सिमेन्ट उत्पादन गरिरहेको छ। अदानी ग्रुपले कुन परियोजनामा लगानी गर्ने भनेर अहिलेसम्म कुनै प्रस्ताव भने नेपाल सरकारका निकायमा पेश गरेको छैन। लगानीका लागि नेपाल लगानी बोर्ड तथा उद्योग विभागमा प्रस्ताव गर्नु पर्ने हुन्छ।

लगानी बोर्डका सीईओ सुशील भट्टले अदानी ग्रुपले लगानी गर्न चाहेको विषयहरु सुन्नमा आए पनि आधिकारिक रुपमा कुनै प्रस्ताव भने नआएको बताए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x