१४ मंसिर २०८३, आईतवार

वीरगन्ज सुक्खा बन्दरगाहमा पहिलो पटक भित्रियो ‘डस्टी कार्गो’ रेल

एसीपी संवाददाता

१७ असार २०८०, आईतवार २१:०८ मा प्रकाशित

पर्सा — वीरगन्ज सुक्खा बन्दरगाहमा पहिलो पटक कार्गो रेलमार्फत भित्रिएको डस्टी (कोइला) व्यवस्थापन गरिएको छ । गोदावरी कमोडिटिजको ३६ सय टन कोइला लिएर भारतीय रेल वीरगन्ज सुक्खा बन्दरगाहमा आएको हो ।

यसअघि वीरगन्ज सुक्खा बन्दरगाहमा डस्टी कार्गो व्यवस्थापनको लागि आवश्यक भौतिक पूर्वाधार नहुँदा रक्सौलमा झारेर त्यहाँबाट ट्रकमा हालेर नेपाल ल्याउनुपर्ने बाध्यता थियो । वीरगन्ज सुक्खा बन्दरगाहमा मानव स्वास्थ्यमा असर नपर्नेगरी ६ नम्बर रेल्वे ट्रयाकमा डस्टी कार्गो व्यवस्थापनका लागि आवश्यक भौतिक पूर्वाधार (डस्टी कार्गो झार्ने ठाउँ) को व्यवस्था तयार गरिएपछि सहज भएको सुक्खा बन्दरागाह सञ्चालक कम्पनी प्रिस्टिन भ्यालीका प्रशासन प्रमुख अतुल शर्माले जानकारी दिए ।

भारतबाट रेलमा सिधै नेपालसम्म कोइला ल्याउँदा आयातकर्ताको ढुवानी लागत सस्तिने उनले बताए । यस बाहेक भारतमा कोइला चोरी हुने र हराउनेजस्ता समस्याबाट पनि नेपाली आयातकर्ताले मुक्ति पाउने उनको भनाइ छ । ‘यसअघि भारतको रक्सौल रेल्वे स्टेसनमा रेलबाट कोइला अनलोड गरी वीरगन्जसम्म टिपरमा लोड गरेर ल्याउनु पर्थ्यो, त्यसमा लागत बढी हुन्थ्यो,’ शर्माले भने, ‘अब रक्सौलबाट वीरगन्जसम्म कोइला ढुवानीको झन्झट रहँदैन र लागत पनि घट्न जान्छ ।’ डस्टी कार्गोबाट क्लिंकर, सिमेन्ट, कोइला, मलखाद, नुन लगायत वस्तु आयात गरिन्छ ।

प्रिस्टिन भ्यालीका निर्देशक रजनिश कुमारले २०२२ डिसेम्बर अन्त्यतिर यो बन्दरगाह नाकामा डस्टी कार्गो आयातको लागि पूर्वाधार तयार भइसकेको बताए । प्रिस्टिन भ्यालीले करिब ४ करोड रुपैयाँ लगानी गरी बन्दरगामा डस्टी कार्गो आयातका लागि पूर्वाधार तयार पारेको थियो । ईकान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x