गगनलाई प्रदेश महामन्त्री श्रेष्ठले भने, ‘बालहठलाई छोड्नुस्, सभापति बन्न मन लागे अधिवेशन कुर्नुस्’
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश महामन्त्री राजु श्रेष्ठले नेतृत्व परिवर्तनको बालहठ छोड्न माउ पार्टी नेपाली नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई अनुरोध गरेका छन् ।
बागमती प्रदेशस्तरीय प्रशिक्षणमा कार्यक्रमलाई सम्बोधन काठमाडौ ४ का पूर्व क्षेत्रीय सभापतिसमेत रहेका श्रेष्ठले त्यही कार्यक्रममा उपस्थित महामन्त्री थापालाई सभापति बलियो बनाउने बेला पार्टीभित्र धुव्रीकरण गरेर हिँड्नु उपयुक्त नभएको बताए । श्रेष्ठले टुप्पो भाँच्ने बादरे प्रवृत्ति नदेखाउन चेतावनी पनि दिए ।
यस्तो श्रेष्ठको धारणा: महामन्त्रीज्यूले अलिकति बालहठलाई छोड्नुपर्यो । त्यसलाई कुर्न सक्नुपर्यो । तपाई हुनुहोला त पार्टी सभापति । त्यसको लागि अधिवेशन कुर्नुपर्यो । यतिबेला हामी आपसमा झगडा गर्ने बेला होइन । नीतिको अधिवेशन होला । विशेष अधिवेशन के को लागि ? तपाईलाई चाहियो भनेर मलाई नै चाहियो अहिले नै चाहियो चाहिहाल्यो भन्ने होइन । त्यसको लागि त कुर्न सक्नुपर्यो । तीन वर्ष कुर्नलाई के ठूलो कुरो भयो र ?
त्यसकारण अहिलेलाई नीति अधिवेशनको कुरा छ । अरु नेतृत्व परिवर्तनको कुरा, टुप्पो भाँच्ने कुरा नगरौं । अहिले कांग्रेस पार्टीमा गजुर हाल्ने बेला पो हो । टुप्पो भाँच्ने बेला हो र ? यो त बाँदर प्रवृत्ति भइहाल्यो नि । बाँदरलेमात्र टुप्पो भाँच्छ । रुख हल्लाउँछ, पात हल्लाउँछ । यतिबेला रुखलाई बलियो पार्न मलजल गर्ने बेला हो । जो आज महामन्त्री हुनुहुन्छ, भविष्यमा पार्टी सभापति हुन्छु भन्नुभाछ र प्रधानमन्त्री पनि हुन्छु भन्नुभएको छ । प्रधानमन्त्री हुन प्रयास पनि गर्नुभयो । मतदाताले सडक र सदनमा अब्बल भूमिका देखाउनुभएको, मन्त्री भएर पनि सफल भूमिका देखाउनुभएकाले उहाँलाई प्रधानमन्त्री बनाउन भोट हालेर जिताए ।
अहिले आएर पहल गर्नुभयो, संसदीय दलको नेतामा उम्मेदवारी इमानदारितापूर्वक दिइहाल्नुभयो । कांग्रेसभित्र विधि र प्रक्रिया छ । म पनि पार्टीभित्र सभापति लड्न सक्छु, तर त्यसको लागि आवधिक निर्वाचन कुर्नुपर्यो नि । यतिबेला हामी झगडा गर्ने बेला हो ? हाम्रा प्रतिस्पर्धी थपिएका छन्, चुनौती थपिएका छन् । नयाँ पार्टी आएका छन् । भर्खरै उहाँहरु तनहुँमा जानुभएको होइन । चितवनमा जानुभएको होइन ।
सबै पार्टी लाएर, प्रधानमन्त्री लगाएर पाँच पार्टी गठबन्धन लागेर त एउटा स्वतन्त्र पार्टीलाई हराउन सकिएन, त्यसबाट हामीले पाठ सिक्नु पर्दैन ? अब पनि झगडा गरेर बस्ने हो ? त्यसैले म के भन्छु भने पार्टीभित्रका तितामिठा कुराहरु बैठकमा राखौला । म पनि अबका दिनमा पार्टीका नेतृत्वहरुलाई चित्त नबुझेको कुरा यसरी सार्वजनिक कार्यक्रममा नराखौला । तर पार्टीमा सुनुवाइको परिपाटी हुनुपर्यो ।


