बंगलादेशमा डेंगीले १८५ को मृत्यु
स्वास्थ्य संकटकाल घोषणा गर्दै नयाँ कदम चाल्न सरकारलाई चिकित्सकको सुझाव
ढाका — बंगलादेशमा यस वर्ष डेंगीका कारण मृत्यु हुनेको संख्या १ सय ८५ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले मंगलबार जनाएको छ । संक्रमितको संख्या ३५ हजार २ सय ७० पुगेको स्वास्थ्य मन्त्रालय अन्तर्गतको महानिर्देशनालयको तथ्यांकमा उल्लेख छ ।
गत सोमबारसम्मको तथ्यांकअनुसार यो महिनामा डेंगीबाट मृत्यु हुनेको संख्या १ सय ३८ पुगेको महानिर्देशनालयले पुष्टि गरेको छ ।
महानिर्देशनालयले सार्वजनिक गरेको तथ्यांकअनुसार गत महिना ५ हजार ९ सय ५६ जनामा डेंगीको संक्रमण देखिएको थियो । जुलाईको हालसम्म थप २७ हजार २ सय ९२ जनामा डेंगी देखिएको छ । यो अवधिमा ढाकामा १ हजार २ सय ३८ सहित दुई हजार २ सय ९३ जना नयाँ डेंगीका बिरामी फेला परेको बंगलादेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस वर्षको जनवरी १ देखि जुलाई २४ सम्म देशभरका विभिन्न अस्पतालबाट उपचार गराएर २७ हजार ६ सय २२ जना डेंगीका बिरामी घर फर्केका छन् ।
बंगलादेश सरकारले आधिकारिक रूपमा घोषणा नगरे पनि दक्षिण एसियाली स्वास्थ्य विज्ञहरूले त्यहाँ डेंगीले महामारीको रूप लिएको बताएका छन् । बंगलादेशमा यसअघिका वर्षमा अगस्ट र सेप्टेम्बरमा सबैभन्दा धेरै डेंगीका बिरामी अस्पताल भर्ना हुने गरेको तथ्यांक छ । पछिल्लो अवस्थाबारे पनि विज्ञहरूले चिन्ता व्यक्त गर्दै डेंगीले अझै जोखिम निम्त्याउन सक्ने भन्दै सचेत गराएका छन् ।


