स्वास्थ्यजन्य फोहरमाथि मेयरको निगरानी, सरसफाई अवस्थाबारे अनुगमन
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट आज विहानै सडकमा निस्किए । मोर्निङ वाकको हुलियामा घरबाट निस्किएका विष्ट त्रिभुवन चोकबाट सदरलाइन हुँदै जिल्ला प्रशासन कार्यालय अगाडिको बाटो भएर भेरी अस्पताल पुगे । प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल संगसंगै चारबाहिनी चोकसम्म पुग्दै गर्दा उनीहरुले सडकमा स्वास्थ्यजन्य फोहरसंगै सरसफाईको अवस्थाबारे अनुगमन गरेका थिए ।
सरसफाई फाँट हेरिरहेका कर्मचारी र सरसफाईकर्मीलाई खटनपटन गराउने टिम लिडरहरुलाई स्पष्ट निर्देशन दिँदै उनले काममा कुनै कम्प्रमाइज नहुने बताए । “शतप्रतिशत काम चाहिन्छ, टालटुले हिसाबले हुँदैन, राम्रोसंग काम नगर्नेहरुलाई तुरुन्त फायर गर्नुस्, काममा कुनै कम्प्रमाइज हुँदैन, नगर सफा देखिनुपर्दछ,” विष्टले भने । नेपालगञ्ज उपमहानगरपालिकाले सरसफाईका लागि थुप्रो धनराशी खर्च गरिरहेको बताउँदै उनले सहर सफा देखिने गरी काम गर्न निर्देशन दिए । नगर प्रमुख विष्टले सरसफाईको अवस्था हेर्न निरन्तर अनुगमन गरिने बताए ।
प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले स्वयं नागरिकमा इमान्दारिता, जागरुकता र जिम्मेवारीपन भए सफा र स्वच्छ नगर बनाउने उपमहानगरपालिकाको अभियान छिट्टै सार्थक हुने बताए । नगरको सुन्दरता र स्वास्थ्यसंग जोडिएको संवेदनशील विषय भएकाले सबैको साझा प्रयासबाट स्वच्छ र सफा सहर निर्माणमा टेवा पुग्ने रिजालको विश्वास छ ।


