३ आश्विन २०८३, शनिबार

नेपालको अर्थतन्त्रलाई धरापमा पार्दै चिनियाँ नागरिक , सुन तस्करीमा चिनियाँ गिरोह नै संलग्न

नयाँपत्रीका - साभार

२० श्रावण २०८०, शनिबार १२:४१ मा प्रकाशित<

१० चिनियाँ नागरिक अध्यागमनको कालोसूचीमा, एकजना पक्राउ

राजस्व अनुसन्धान विभागको अहिलेसम्मको अनुसन्धानमा सय केजी सुन तस्करीमा चिनियाँ गिरोह संगठित रूपमै संलग्न रहेको देखिएको छ । १० जना चिनियाँको संलग्नता खुलिसकेको छ । एकजना पक्राउ परेका छन् भने बाँकीलाई कालोसूचीमा राखेर खोजी भइरहेको छ ।

नवराज ढुंगाना, महानिर्देशक, राजस्व अनुसन्धान विभाग 
सुन तस्करीमा चिनियाँहरू संगठित रूपमै लागेको देखिन्छ । केहीलाई कालोसूचीमा राखिएको छ । उनीहरू नेपालमै रहेको हाम्रो अनुमान छ ।

हङकङबाट सुन ल्याउनेदेखि नेपालमा त्यसको व्यवस्थापनसमेतमा चिनियाँहरूको संलग्नता भेटिएको स्रोतको भनाइ छ । नेपाललाई ट्रान्जिट बनाएर भारत पुर्‍याउने गरी भएको यो तस्करीमा चिनियाँहरूको प्रमुख भूमिका अझै खुलिसकेको छैन, तर तस्करी व्यवस्थापनमा भने उनीहरूको संलग्नता खुलेको छ । यसका लागि विभिन्न तह र भूमिकामा चिनियाँहरू देखिएका छन् ।

‘सुन तस्करीमा चिनियाँहरू संगठित रूपमै लागेको देखिन्छ । केहीलाई कालोसूचीमा राखिएको छ । उनीहरू नेपालमै रहेको हाम्रो अनुमान छ,’ राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले भने । यद्यपि, विभागले अहिलेसम्म तस्करीमा संलग्न चिनियाँहरूको लहरो भने पहिल्याउन सकेको छैन ।

सय किलो सुन बरामद भएको भोलिपल्टै विभागले चिनियाँ नागरिक जिक्वान लिनको बालुवाटारस्थित गोदाममा छापा हानेको थियो, त्यसको भोलिपल्ट ४ साउनमा उनलाई पनि विमानस्थलबाट पक्राउ गरिएको थियो ।

नौजना अध्यागमनको कालोसूचीमा 
सय किलो सुन तस्करीमा संलग्न भएको आशंका गरिएका थप नौ चिनियाँलाई अध्यागमनले कालोसूचीमा राखेको छ । अनुसन्धानबाट संलग्नता खुल्न आएकाहरूलाई विभागको आग्रहमा अध्यागमनले कालोसूचीमा राखेको हो । कालोसूचीमा राखेकाहरूमाथि अध्यागमनले विशेष निगरानीमा राख्छ । उनीहरूलाई भेटेको खण्डमा नियन्त्रणमा लिएर विभागको जिम्मा लगाउँछ । यसअघि पक्राउ परेका जिक्वान लिनलाई पनि अध्यागमनले कालोसूचीमा राखेर नियन्त्रणमा लिई विभागलाई बुझाएको थियो ।

विभागका अनुसार कालोसूचीमा रहेका चिनियाँहरूमा झोन जेन्वा, याओ पुचेन, विन स्याङत्जा, वोन यान, लिन वेन्व सन, तुचेन याओ, जुन्तान चेन, ज्यालिन लि, फुयान लिउ र जिक्वान लिन छन् । उनीहरूलाई पटकपटक गरी कालोसूचीमा राखिएको छ । राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले पनि चिनियाँहरूलाई कालोसूचीमा राखिएको पुष्टि गरे ।

दावा छिरिङसँग बयान लिइँदै 
राजस्व अनुसन्धानले पछिल्लोपटक पक्राउ गरेका तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङसँग बयान लिइरहेको छ । विभागका महानिर्देशक ढुंगानाले पनि छिरिङको बयान चलिरहेको बताए । ‘छिरिङको बयान चलिरहेको छ, उनका मोबाइल ग्याजेटहरू पनि हेरिरहेका छौँ,’ उनले भने, ‘अनुसन्धानको क्रम चलि नै रहेकाले विषयहरू खुल्दै जालान् ।’

विभागले एक साताअघि १३ साउनमा छिरिङलाई ठमेलको होटेल भियानामा छापा हानेर पक्राउ गरेको थियो । उनीबाट सुन तस्करीबारे नयाँ सूचना पाउने आसमा विभाग छ । छिरिङ विगत पाँच वर्षदेखि नेपालमा बस्दै आएका छन् । विगतमा अवैध कल सेन्टर चलाउने अपराधमा समेत उनको संलग्नता देखिए पनि उम्किँदै आएका छन् ।



अनुसन्धानको जिम्मा सिआईइबीलाई दिने विषयमा निर्णय हुन बाँकी
सुन तस्करी संगठित प्रकृतिको र अन्तरदेशीय अपराध भएकाले यसमा राजस्व अनुसन्धान विभागको दक्षता, जनशक्ति र प्रविधिले नभ्याउने भएकाले प्रहरीलाई दिन उपयुक्त हुने आवाज सुरुदेखि नै उठ्दै आएको छ । विभागले गरिरहेको जारी अनुसन्धानको जिम्मा प्रहरीलाई दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएको कुरा पनि सार्वजनिक भएका छन् । तर, विभागका महानिर्देशक ढुंगानाले यसबारे निर्णय भइनसकेको बताए ।

तस्करीको अनुसन्धानलगायतका विषयमा गृहमन्त्री श्रेष्ठ, रक्षामन्त्री पूर्णबहादुर खड्का, महान्यायाधिवक्ता दीनमणि पोखरेल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र विभागका महानिर्देशक ढुंगानालगायतसँग प्रधानमन्त्री प्रचण्डले बिहीबार छलफल गरेका थिए । त्यसक्रममा तस्करीको छानबिनलाई प्रभावकारी बनाउने सम्बन्धमा छलफल भएको थियो ।

विभागका महानिर्देशक ढुंगानाले अनुसन्धानलाई प्रभावकारी बनाउने सम्बन्धमा छलफल भएको, तर अनुसन्धानको जिम्मा प्रहरीलाई दिने सम्बन्धमा स्पष्ट निर्णय नभएको बताए । ‘प्रधानमन्त्रीज्यूले अनुसन्धानका लागि जुन कानुन आकर्षित हुन्छ र जहाँबाट अनुसन्धान प्रभावकारी हुन्छ, सोहीअनुसार गर्नुस् भन्नुभएको छ,’ उनले भने, ‘कुन तहको अनुसन्धान र कुन कानुन बढी आकर्षित हुन्छ भन्ने सम्बन्धमा यससँग सरोकार राख्ने निकायहरूसँगको छलफल र निष्कर्षपछि मात्र टुंगो लाग्छ ।’ हाल यो विषय परामर्शमै रहेको महानिर्देशक ढुंगानाले बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x