मानवअधिकार उल्लंघनका घटनामा संलग्नहरूलाई आममाफी दिन सकिँदैन : लेखक
काठमाडौँ — प्रतिनिधिसभा सांसद एवं नेपाली कांग्रेसका नेता रमेश लेखकले गम्भीर प्रकृतिको मानवअधिकार हननका घटनामा संलग्नहरुलाई आममाफी दिनेगरी सरकारले संसद्मा पेस गरेको विधेयक परिमार्जन गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् ।
संसद्मा प्रस्तुत केही नेपाल ऐन संशोधन विधेयकहरुका सम्बन्धमा मानवअधिकार तथा शान्ति समाजले आइतबार काठमाडौंमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै नेता लेखकले उक्त विधेयक परिमार्जन गरेर अघि बढ्ने बताएका हुन् । प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक लेखकले मुलुकमा न्याय, शान्ति हुने, हिंसा नहुने, मानवअधिकार रहने, कानुनको शासन पनि जीवित रहने र दण्डहीनता पनि समाप्त हुने ढंगले उक्त विधेयक संसद्बाट पारित गराउने बताए । मुलुकमा दण्डहीनताको अन्त्य हुने गरी विधेयकहरु अघि बढाउने विषयमा आफूहरुले गम्भिरतापूर्वक छलफल गर्ने उनको भनाइ थियो । उनले उक्त विधेयक संक्रमणकालीन न्यायसँग भने सम्बन्धित नभएको स्पष्ट पारे ।
सशष्त्र द्वन्द्वकालका न्याय निरुपणका लागि भने संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकले काम गर्ने बताउँदै लेखकले भने, ‘यो संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक र अहिले जुन केही नेपाल ऐन संशोधन गर्नका लागि प्रस्तुत गरिएको विधेयकमा माफी दिने व्यवस्था गरी ल्याएको बीचमा फेरि यी दुई विधेयक बीचको तालमेल होइन । वास्तवमा द्वन्द्वकालीन समयमा भएका घटनामा पनि यो संशोधनले माफी दिने हो कि भनेर पनि जुन चिन्ता व्यक्त गरिएको छ । त्यो चिन्ता जायज छ । तथापि होइन । दुईटा फरक कुरा हुन भन्ने मलाई लाग्छ ।’ ईकान्तिपुर


