१४ मंसिर २०८३, आईतवार

गगन थापाको क्षेत्रमा बालेनको डोजर, दुई पालिकाबीच तनाव

एसीपी संवाददाता

२६ श्रावण २०८०, शुक्रबार ०८:२६ मा प्रकाशित

काठमाडौ – काठमाडौं महानगरपालिका– ७ र बूढानीलकण्ठ नगरपालिकाबीचको कपन खोलामाथि बनाइएको स्ल्याब हटाउन खोज्दा तनाव भएको छ।

स्ल्याब भत्काउन पुगेको काठमाडौं महानगरपालिकाको नगर प्रहरी टोली र बूढानीलकण्ठ नगरपालिका–१० का वडाध्यक्ष नवराज भट्टराई नेतृत्वको समूहबीच बिहीबार घम्साघम्सी भएको हो।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको निर्वाचन क्षेत्र यहाँ बर्षेनि बाढीको आतंक छ। यस क्षेत्रमा खोलाको बहाव खुम्च्याएर अतिक्रमण गरेको आरोप लाग्ने गरेको छ।

काठमाडौंका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोली बूढानीलकण्ठको सात तलेमा डोजरसहित पुगेपछि तनाव भएको हो। महानगरको टोली डोजरसहित आएपछि स्थानीयबासीले बूढानीलकण्ठका जनप्रतिनिधिलाई बोलाएका थिए।

त्यसपछि बूढानीलकण्ठका मेयर मिठाराम अधिकारी, उपमेयर अनिता लामा र वडा नम्बर १० का वडाध्यक्ष नवराज भट्टराई पुगेका हुन्।

महानगर प्रहरीले भट्टराईलाई लछारपछार गरेको स्थानीयले बताएका छन्। विवाद बढ्दै गएपछि नेपाल प्रहरीको टोलीले हस्तक्षेप गरेको छ।

अहिले काठमाडौं महानगरपालिका–७ का अध्यक्ष विमल होडा र बूढानीलकण्ठका जनप्रतिनिधिहरु वार्तामा बसेका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x