१७ श्रावण २०८३, आईतवार

सीआइबीको दोहोरो रोल : सुनकाण्डमा डामेका महराका बाबुछोरालाई उन्मुक्ति, सांसद शर्मालाई पक्राउ

एसीपी संवाददाता

२८ श्रावण २०८०, आईतवार ०८:१० मा प्रकाशित

काठमाडौं – प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले आफ्नो भूमिकामा दोहोरो रोल निभाइरहेको दुईवटा घटनाले पुष्टि गरेको छ ।

चिनियाँ नागरिकले विद्युतीय चुरोट (भेप) भित्र लुकाएर ल्याएको नौ किलो सुनमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका दुई छोरा निर्मल र राहुल नै मुख्य कारोबारी भएको सिआईबीले आफ्नो ५२ पृष्ठको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरेको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको प्रतिवेदनमा महरा बाबुछोरा नै मुख्य सुनका कारोबारी रहेको किटान नै गरेको थियो ।

सिआईबीले भन्सार एजेन्ट, कल डिटेल्स सबैको अध्ययनमा सो कुरा पत्ता लगाएको थियो । तर उसलाई गृहमन्त्री नारायणकाजी श्रेष्ठले महराका बाबुछोरामाथि अनुसन्धान गर्न अनुमति दिएनन् ।

जसकारण जिल्ला सरकारी वकिलको कार्यालयले असार २७ गते महराका बाबुछोरालाई छाडेर अरुमाथि विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

निष्पक्ष ढंगले अनुसन्धान गर्ने हो भने महराका बाबुछोरा उम्किने कुनै गुञ्जायस नै नभएको सिआईबीकै अधिकृतहरू बताउँछन् । तर पनि सत्ताको आडमा उनीहरूलाई उन्मुक्ति दिइएको छ ।

अहिले गृहमन्त्री श्रेष्ठलाई एक क्विन्टल सुन तस्करीमा संलग्न रहेको भनेकै भरमा सिआईबीले नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्मालाई पक्राउ गरेको छ ।

प्रतिशोध साँध्नकै लागि शर्मालाई गृहमन्त्रीले सिआईबी लगाएर पक्राउ गरेको सबैले थाहा पाइसकेका छन् । तर भन्नलाई आईएस्सीको सर्टिफिकेट नक्कली भएको भनिएको छ ।

शर्मा विद्यावारिधि प्राप्त भए पनि उनले सर्टिफिकेटका आधारमा कहीँकतै जागिर खाएका छैनन् । सांसद बन्न सर्टिफिकेट पेस गर्नुपरेको छैन ।

सरकारी सेवामा पनि छैनन् । मेडिकल व्यवसाय चलाउँछन् । विरामी जाँचेका छैनन् । तर पनि प्रतिशोध साँध्नकै लागि गृहमन्त्रीले एक सातादेखि नै सिआईबीलाई दबाब दिएर शर्मालाई पक्राउ गर्न लगाएको खुलेको छ ।

शर्माले बिहीबार बिहानैदेखि सबैलाई फोन गरेर आफू पक्राउ पर्न लागेको जानकारी दिएका थिए । उनले गृहमन्त्री श्रेष्ठकै दबाबमा आफूलाई सिआईबीले पक्राउ गर्न लागेको जानकारी दिएका थिए ।

तर कांग्रेसका नेताहरूले गम्भीर रूपमा नलिदिँदा शर्माले बिहीबार पक्राउ परेका हुन् । गृहमन्त्री श्रेष्ठले एक सातादेखि नै शर्मालाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको बुझिएको छ ।

कांग्रेसले आज बस्ने संसदीय दलको बैठकबाटै शर्माको पक्राउबारे आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ । मिडियाडबलि

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x