एमालेले संसदलाई अनिर्णयको बन्दी बनाउन खोज्यो : अर्थमन्त्री महत
जनकपुरधाम । नेपाली कांग्रेसका नेता एवं अर्थमन्त्री डा.प्रकाशशरण महतले संसद् अवरोध छोडेर प्रक्रियामा आउन नेकपा एमालेलाई आग्रह गरेका छन् ।
बिहीबार जनकपुरधाममा नेपाल प्रेस युनियन धनुषाद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् । अर्थमन्त्री महतले एमालेले सदनलाई बन्धक बनाएकोमा आपत्ति जनाए ।
अर्थमन्त्री महतले भने,‘सदन छलफल र बहस गरेर समस्या समाधान गर्ने थलो हो । धेरै ऐनहरू बनाउनु छ । संघीय कानून नबनेर समस्या आइरहेको छ । तर एमालेले सदनमा छलफल नै हुन दिएन ।’
अर्थमन्त्री महतले नेकपा एमालेले अनाहक बखेडा झिकेर संसद्लाई प्रभावहीन बनाउने काम गरिरहेको टिप्पणी गरे । उनले आफूहरू सरकारभन्दा बाहिर हुँदा कहिल्यै संसद् अवरोध नगरेको तर एमाले सरकारबाट बाहिरिने बित्तिकै अनावश्यकमा संसद् अवरोध गरिरहेको बताए ।
सङ्घीयता, सङ्घीय कानुन, संसद् र कार्यपालिका चुस्त बनाएर प्राप्त उपलब्धि बचाउने कर्तव्य प्रतिपक्षीको पनि रहेकाले अनावश्यक संसद् अवरोध छोडेर प्रक्रियामा आउन उनले एमालेलाई आग्रह गरे ।


