धीरेन्द्रकृष्ण शास्त्रीले ९ वजे प्रचण्डलाई भेट्दै
भारतीय धर्मगुरु बागेश्वर बाबा ‘धीरेन्द्रकृष्ण शास्त्री’ ले आज प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट्ने कार्यक्रम छ। स्रोतका अनुसार आज बिहान ९ बजे प्रधानमन्त्रीलाई भेट्ने तय भएको हो ।
प्रधानमन्त्रीलाई भेटेपश्चात् उनी शास्वतधामतिर लाग्नेछन् । शास्त्री राष्ट्रपति रामचन्द्र पौडेललाई पनि भेट्न चाहन्थे । तर, राष्ट्रपतिले समय नदिएको स्रोतले बतायो । सरकारले शास्त्रीलाई भारतको ‘वाइ सेक्युरिटी’ स्तरमा सुरक्षा प्रदान गरेको छ ।
शाश्वत धाममा शास्त्रीले तीन दिन प्रवचन दिने कार्यक्रम रहेको छ । शास्त्रीलाई चौधरी ग्रुपले नेपाल ल्याएको हो । उनको टोलीलाई ल्याउने र राख्ने सबै खर्च चौधरी ग्रुपले व्यहोर्ने छ । स्रोतका अनुसार शास्त्रीले पारिश्रमिक भने लिएका छैनन् ।
शास्त्री शुक्रबार नै पशुपतिनाथमा दर्शनका लागि पुगेका थिए। उनलाई पशुपति विकास कोषले स्वागत गरेको थियो। उनलाई कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले दीप प्रज्वलनसहित स्वागत गरेका थिए ।
यसै बिच
भारत मध्यप्रदेशस्थित प्रख्यात धार्मिक केन्द्र बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्रकृष्ण शास्त्रीले नेपाल भारतको अभिन्न अंग भएको भन्दै टिप्पणी गरेका छन्।
चौधरी ग्रुप एवम् सीजी कर्प ग्लोबलको आतिथ्यमा शुक्रबार काठमाडौं आएका शास्त्रीले सनातन हिन्दू धर्मको पक्षमा नेपाल र भारतसँगसँगै रहेको चर्चा गरे । सम्बोधनका क्रममा उनले नेपाल भारतको मित्र देश भएको चर्चा गर्दै भारतसँग काँधमा काँध मिलाएर पूरा संसारमा सनातनको झण्डा फैलाउने देश नेपाल भएको बताए ।
‘यो यस्तो भक्तिको भूमि हो, माता जानकीको नगरी हो। नेपाल भारतको एक अभिन्न अंग, भारतको मित्र देश। भारतसँग काँधमा काँध मिलाएर पुरा संसारमा सनातनको झण्डा फैलाउने देश हो।’ शास्त्रीले भने।
नेपाल भन्दा सनाथ अरु कुनै राष्ट्र नभएको पनि उनले जिकिर गरे। बागेश्वरधाम सरकारका नामले समेत परिचित शास्त्री चौधरी ग्रुप एवम् सीजी कर्प ग्लोबलको आयोजनामा नवलपरासीस्थित शाश्वतधाममा हुने हनुमन्त कथा वाचन गर्न नेपाल आएका हुन। नेपालआज


