१३ आश्विन २०८३, मंगलवार

सुन तस्करीमा पक्राउ परेका सवै चिनियाँसँग नेपाली नागरिक्ता र पासपोर्ट

एसीपी संवाददाता

२ भाद्र २०८०, शनिबार ०८:३३ मा प्रकाशित

नेपालमा लामो समयदेखि बसेर सुन तस्करीमा संलग्न भएका चिनियाँ गिरोहसँग नेपाली नागरिकता र पासपोर्ट भेटिएको विषय अहिले चर्चाको विषय वनेको छ।

उनीहरुले सन् २०२१ र २२ मा नेपाली नागरिकता र राहदानी लिएको खुलेको छ। चारजनाले काभ्रेबाट तथा एकजनाले काठमाडौंबाट नागरिकता तथा पासपोर्ट बनाएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी कुवेर कडायतले बताए ।

उनीहरूसँग चिनियाँ पासपोर्ट पनि छ, नेपाली पासपोर्ट पनि भेटिएको छ। ली नेनकाईले सोनाम लामाको नाममा र डिङ सी फाले राम लामाको नाममा काभ्रेबाट नागरिकता लिएका छन । तियान मी र वेन तोङसँग पनि काभ्रेबाट जारी भएको नागरिकता भेटिएको छ । त्यसैका आधारमा उनीहरूले पासपोर्टसमेत लिइसकेका थिए । ली वेनले भने जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लिएको सिआइबीले जनाएको छ ।

गिरोहका नाइकेमध्येका एक दावा तामाङले पनि काभ्रेबाटै निमा तामाङको नाममा नागरिकता र पासपोर्ट बनाएको यसअघि नै पुष्टि भइसकेको छ । जसमा प्रहरीले एक वर्षअघि नै छानबिन गरे पनि त्यसमा कुनै कारबाही नगरेको पाइएको छ ।

नेपाली महिलासँग बिहे गरी ठमेलमा होटेल चलाउँदै आएका दावासँग बेल्जियमको समेत पासपोर्ट छ । पक्राउ परेकामध्ये थुप्तेन छिरिङ र याओ पुसिङसँग भारतीय आधारकार्ड भेटिएको छ ।

चिनियाँले नेपाली राहदानी र नागरिकता लिएको विषयमा सीआईबीले थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयमा पत्र पठाउने तयारी गरेको छ।

हङकङ हुँदै नेपालमा आएको साढे ६० केजी सुन साउन ३ गते बरामद भएको थियो। सुन प्रकरणका मुख्य नाइके भनिएका यो पुचेङलाई बिहीबार साँझ सिंहदरबारबाट सीआईबीले पक्राउ गरेको छ। यस्तै बिहीबार साँझ नै ली वेङ सुङलाई पनि प्रहरीले लैनचौरबाट पक्राउ गरिसकेको छ।

राजस्व अनुसन्धान विभागले पनि सुन ल्याउने चिनियाँ गिरोहका मुख्य नाइके उनीहरु ६ जना रहेको जनाएको छ। यस्तै प्रहरीले बुधबार काठमाडौंबाटै सुन तस्करी प्रकरणमा चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा टियान पिङ, वेन टोङ, डियाङ से फा र ली नेङ्गकाई थिए। पक्राउमध्ये पिङ महिला र अन्य तीन पुरुष थिए।

हङकङ हुँदै आएको सुन तस्करी प्रकरणमा हालसम्म २३ जना पक्राउ परेका छन्। यसअघि यस प्रकरणमा अनुसन्धान गरेको राजस्व अनुसन्धान विभागले पक्राउ परेका १८ मध्ये १७ जनालाई सीआईबीको जिम्मा लगाएको थियो। जसमा एकजना भने छुटिसकेका छन्।

राजस्वले फाइल बुझाएर केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरुविरुद्ध संगठित अपराधमा अनुसन्धान गरिरहेको छ।

सुन प्रकरणमा ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल, दिलीपका मामा रामकुमार भुजेल र दिलीपलाई कम्पनी खोल्न लगाउने हर्कराज राई सुरुमा पक्राउ परेका थिए।

यस्तै तिब्बतीमूलका भारतीय नागरिक थुप्तेन छिरिङ, चिनियाँ नागरिक जिक्वाङ लिन, कार्गो कम्पनी सञ्चालकहरु राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ, पुस्करराज भट्ट, भन्सार अधिकृत सन्तोष चन्द, एक्सरे अपरेटर सरोज श्रेष्ठ र भन्सार जाँचमै संलग्न कुमार ढकाल पक्राउ परेका थिए।

तस्करीको सुन भन्सार पास गर्न सहयोग गरेको भन्दै भन्सार एजेन्टहरू यादव शंकर पराजुली, सुदर्शन गौतम र रुक्मिना सुब्बा पक्राउ परेका थिए। त्यसपछि सीआईबीले आफ्नो अनुसन्धानको सुई चिनियाँ नगारिकतिर घुमाएको हो। सीआईबीले दावाबाहेक ६ जना चिनियाँलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। नेपालआज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x