६० किलो सुन र ‘भेप’मार्फत सुन तस्करी गर्ने समूहबीच ‘कनेक्सन’
६० किलो सुनबारे अनुसन्धान गरिरहेका एकजना अधिकृतले दुईवटा तस्कर समूह बीच ‘कनेक्सन’ देखिएको रातोपाटीलाई बताए । भेपमा सुन ल्याउने समूहका चिनियाँ नागरिक दाओजिन वाङ र ६० किलो सुनमा संलग्न चिनियाँबीच सम्पर्क भेटिएको छ ।
६० किलो सुन तस्करीमा अहिलेसम्म ३ जना चिनियाँ नागरिकको मुख्य भूमिका देखिएको छ । ‘एलेक्स’ भनेर चिनिने याओ पुचेङ्ग र ‘अलि’ भनेर चिनिने ली वेन सुङ्ग र जिक्वान लिन अहिलेसम्मको अनुसन्धानबाट मुख्य भूमिकामा देखिएका हुन् ।
भारतको राजस्व अनुसन्धान निर्देशनालय (डीआरआई)ले संचालन गरेको अपरेशन ‘गोल्डेन ट्याप’ र ‘मोल्टेन मेटल’ मा पनि उनिहरु संलग्न देखिएका थिए । सुनको धारा बनाएर हङकङबाट गरिने सुन तस्करी विरुद्धको अपरेशनलाई डिआरआईले ‘गोल्डेन ट्याप’ नाम दिएको थियो । एयर कार्गो रुटबाट हङकङ हुँदै दिल्लीमा हुने सुन तस्करीविरुद्ध डीआरआईले ‘मोल्टेन मेटल’ अपरेशन चलाएको थियो ।
ती दुईवटा अपरेशनले अहिले पक्राउ गरिएका ३ जना चिनियाँलाई कारबाही गरेको भेटिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए ।
‘भेप’मा सुन ल्याउने समूहका दाओजिन वाङ र माओवादी उपाध्यक्ष कृष्ण बहादुर महराका छोराहरु राहुल र निर्मलको बीचमा यसअघि नै केन्द्रीय अनुसन्धान ब्यूरोले गरेको अनुसन्धानबाट ‘कनेक्सन’ देखिएको थियो । ब्यूरोले सुन ल्याउने मुख्य योजनाकारको रुपमा कृष्ण बहादुर महरा समेत रहेको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाएको थियो । तत्कालीन भन्सार प्रमुखलाई माओवादी उपाध्यक्ष महराले फोन गरेर भेप ‘लिलाम’ गरिदिन आग्रह गरेको कुरा सार्वजनिक रुपमा स्वीकार गरेका छन् ।
अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार कृष्णबहादुर महराले छोरा निर्मलको नम्बरबाट फोन गरेर ७३० थान भेपबारे चासो राखेका थिए । २०७९ पुस १० मा चिनियाँ नागरिकले दुबईबाट ल्याएको भेप लिलाम गरिदिन महरा पुत्र राहुलले भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठलाई मोबाइलमा फोन गरेर लिलाम प्रक्रियाबारे तारन्तार चासो राखेपछि घटना बाहिरिएको थियो । सो प्रकरणमा अनुसन्धान पुरा भएर मुद्दा अदालतमा गइसकेको छ । रातोपाटि


