नेताहरु एकले अर्कोलाई भ्रष्टाचारको पोल खोल्छु भनेर तर्साउँदै छन् : गगन थापा
काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले जनतामा ठुलो छट्पटी र आक्रोश बढिरहेको हुँदा बदलिएको कांग्रेसले मात्र देश बदल्ने सामर्थ्य राख्ने बताएका छन् ।
कांग्रेस झापा मेचीनगर समितिको आज धुलाबारीमा आयोजित नगर सम्मेलनमा उनले सबैजसो राजनीतिक दलको नेतृत्वले गलत क्रियाकलाप गर्दा समाजले आत्मविश्वास गुमाएको जनाउँदै कांग्रेसले अब जरैदेखि रूपान्तरित भएर गुमेको आत्मविश्वास फर्काउनुपर्ने बताए ।
आफू वरिपरि डुलिरहने र नजिकमा बसेर चाकरी गर्नेलाई मात्रै चुनावमा उम्मेदवारको टिकट दिने पुरानो प्रणालीले कांग्रेसका सदस्य तथा मतदातामा निराशा बढेको महामन्त्री थापाले आरोप थियो । ‘माथिबाट टिकट पठाएर उम्मेदवार बनाउने प्रथा अब बन्द हुनुपर्छ’, उनले भने, ‘पार्टीभित्र सबै क्रियाशील सदस्य भएकाले कोही ठुलो र कोही सानो भन्ने हुँदैन ।’
महामन्त्री थापाले २३ प्रतिशतभन्दा बढी युवा जनशक्ति रहेको स्वणर्िम कालमा मुलुकको समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ आशा जगाउने कुनै कार्य सरकारमा पुगेकाबाट नभएको गुनासो गरे । पुराना र नयाँ राजनीतिक दलहरू मुलुकको भविष्य तथा जनताको समस्यामा चिन्तित हुन छाडेर २०८४ मा हुने चुनाव कसरी जित्ने भनेर बहकिन थालेको टिप्पणी गरे ।


