देउवालाई तत्काल दलको नेताबाट हटाउन नसकिने शेखरको निष्कर्ष: प्रचण्डका कारण अराजकता, जातीय द्वन्द्वको डर
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले तिहारपछि देश धार्मिक द्वन्द्वतर्फ धकेलिन आशंका व्यक्त गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कारण देश अराजकतातर्फ धकेलिएको शेखरको आरोप छ।
कोशी र धरानमा अराजकताको झिल्को
धरानमा मच्चिएको अराजकतालाई प्रधानमन्त्री प्रचण्डले प्रोत्साहन गरिरहेको उनको टिप्पणी छ। ‘धरानको मेयरले मन्दिर अघि चर्च बनाउने, सामाजिक सञ्जालमा गोरु काटेर खाएको विषय छ। पहिले पनि खान्थे तर यो हेर्दा धर्मको मात्र कुरा हैन भन्ने लाग्छ,’ कोइरालाले भने, ‘म विराटनगरमै थिएँ त्यो बेला। छलफल गर्न पाएँ साथीहरुसँग। देख्दा धार्मिक लडाइँ जस्तो लाग्थ्यो। तर त्यो धार्मिक लडाइँ हैन रहेछ। धरान गएपछि क्रिस्चियन र अन्य धार्मिक गुरुहरू भेटें। प्रचण्डजीको अभिव्यक्तिले पनि झिल्कोको रुप लियो। विषय यहीं सीमित होलाजस्तो लाग्दैन।’
उनले सुरक्षा नियकाका अधिकारी भेट्दा कुनै पनि बेला जातीय द्वन्द्व भड्किन सक्ने संकेत गरेको उनको भनाइ छ। ‘सेक्युरिटीका साथी भेट्दा कुरा गर्दा अर्कै खाले परिस्थिति छ। जातीय द्वन्द्व भड्किन सक्छ भन्नुहुन्छ,’ कोइरालले भने, ‘त्यहाँ फन्ड पनि प्रशस्त छ। आर्म्स नै छ त म भन्दिनँ। तर त्यतातिर पनि जान सक्छ। गण्डकीमा पनि लखन थापावाला इस्यू रहेछ। त्यहाँ पनि टेन्स सिचुएसन छ।’
देशको अवस्था एकदम गम्भीर
देशको असस्था अहिले गम्भीर मोडमा पुगेको र सोचेको भन्दा पनि खराब अवस्था रहेको शेखरको भनाई रह्यो। ‘प्रधानमन्त्री र अर्थमन्त्रीले अर्थतन्त्र उकालो लागेको लागेकै छ भन्नुहुन्छ। तर ओरालो लागेको लागेकै छ,’ कोइरालाले भने, ‘सटरहरु बन्द भएको भयै छ। लोकरिझ्याइँ गर्दा झन् धेरै देशमा धेरै निराशा बढेको छ।’
सरकारले यसको सम्बोधन गर्न नसके देश एकदम अप्ठ्यारो अवस्थामा पुग्ने शेखरको भनाई थियो। ‘देशलाई अराजकतातर्फ लगिरहेको छ। त्यसलाई कहाँसम्म लैजाने हो। दुई ठूला देशको बीचमा हामी छौं। मिलाएर लान नसके हामी एकदम अप्ठ्यारो अवस्थामा छौं,’ कोइरालाले भने, ‘विदेशी राजदूतले पनि लोकरिझ्याइँको कुरा बोल्न थाले, देश अराजकतामा गएको छ। अर्काको देशमा आएर बोल्न त मिल्दैन नि! मलाई त डर छ महेन्द्र यादवजीलाई जुन आक्रमण भयो हामीले क्विक रिलिफ दिन सकेनौं भने तिहारपछि फेरि अराजकता बढेर जान्छ जस्तो मलाई लाग्छ।’
मन्त्रीको काम झन्डा हल्लाउनेमात्र
कोइरालाले सरकारमा सहभागी मन्त्रीहरुको कामप्रति समेत असन्तुष्टि जनाए। उनले सरकारमा सहभागी मन्त्री झन्डा हल्लाउनमा मात्र सीमित भएको बताएका हुन्। ‘सरकारबारे अर्ली कमेन्ट त गर्न नमिल्ला। तर मन्त्रीको काम झन्डा हल्लाउने मात्र भएको छ। तेल हाल्न पनि प्रधानमन्त्रीलाई भन्न जानुपर्छ,´ कोइरालाले भने।
कांग्रेस ५ महिनादेखि सरकारमा छ। उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङसहित कांग्रेसका ९ नेता मन्त्री छन्। तीमध्ये युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बु डा. कोइराला निकट हुन्।
कोइरालाले अधिकांश सचिव एमाले निकट भएकाले काम गर्न नपाएको भन्दै आफ्ना मन्त्रीको बचाउ पनि गर्न खोजे। ‘कांग्रेस सरकारमा गएको धेरै त भएको छैन। तर सचिवहरु अर्कै पार्टीको भएकोले काम गर्न सकेका छैनन्,’ उनले भने, ‘मन्त्री कांग्रेसको, सचिव एमालेको। अनि कसरी काम गर्ने?’
सुशासनको मुद्दा लिएर देश दौडाहामा निस्कँदै
जनतामा जारी नैरश्यता थप बुझ्न आफू सुशासनको मुद्दा लिएर देश दौडाहामा जाने उद्घोषसमेत उनले बताए। देशभर सुशासन खड्किएकोले आफू सुशासनको मुद्दा लिएर देश दौडाहमा निस्कन लागेको कोइरालाले सुनाए।
उनले आफू संघीयताको पक्षमा रहे पनि कोशीको घटनाक्रम हेर्दा प्रधानमन्त्री प्रचण्ड नै संघीयताको विरोधमा लागेको आभाष भएको बताए।
रुपान्तरणको अर्कै अभियान
केन्द्रीय सदस्य मधु आचार्य नेतृत्वको रुपान्तरण अभियानले भदौ २४ गते बीपी जन्म जयन्तीदेखि कात्तिक २४ गते लौहपुरुष गणेशमान जन्म जयन्तीसम्म दुई महिने रुपान्तरण अभियान कार्यक्रम घोषणा गरेको छ। आचार्य नेतृत्वको यो अभियान १६५ निर्वाचन क्षेत्र पुग्नेछ। आचार्यका अनुसार अभियान भदौ २४ गते काभ्रे-२ बाट सुरु हुनेछ।
‘टक सेन्टर’बाट शक्ति बढाउँदै सिटौला
कांग्रेसमा ‘थर्ड पोल’मा रुपमा चिनिएका कृष्ण सिटौला आफ्नो गुट ब्युँताउन फेरि जुर्मुराएका छन्। गगन थापादेखि प्रदीप पौडेलले साथ छाडेपछि सहमहामन्त्री उमाकान्त चौधरी, भीमसेनदास प्रधानलगायत लिएर उनी प्रदेश दौडाहामा छन्। ‘टक सेन्टर’ नामक संस्थाबाट उनी आफ्नो गुटलाई ‘रिभाइभ’ गर्न लागिपरेको उनी पक्षीय नेताहरु बताउँछन्।
साउन २१ गते काठमाडौंको राष्ट्रिय सभागृहबाट थालेको यो कार्यक्रम कोशीको विराटनगर हुँदै गण्डकीको पोखरा पुगिसकेको छ। संविधान कार्यान्वयन आफ्नो प्रमुख एजेन्डा भएको सिटौला बताउँछन्। कार्यक्रमहरुमा सिटौला प्रमुख अतिथि बने पनि वक्ता बन्दैनन् स्रोताका रुपमा बस्छन्। सिटौलाको साथमा युवा नेताहरु कुन्दनराज काफ्ले, कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता भूपेन्द्र राई, गण्डकीका प्रदेश सांसद जितबहादुर शेरचनलगायत छन्।
संसदीय दलको नेता देउवा नै
महामन्त्री गगन थापाको छटपटाहट फेरि सतहमा बढ्दो छ। साउन ३ बाट सुरु भएको केन्द्रीय समितिअघि जसरी पनि संसदीय दलको नेता परिवर्तन गरेरै छाड्ने उद्घोष गरेका थिए गगनले। यद्यपि, केन्द्रीय समिति बैठकमा गगनको चर्को विरोध भयो। लगभग एक्लिएका गगन आफ्नो अडानमा बसे।
संसदीय दलको निर्वाचन यता शेखर र गगनको मेल देखिन्न। यी दुई जनालाई मिलाउन केन्द्रीय सदस्य अर्जुननरसिंह केसी लागिपरेका छन्। आइतबारमात्र केसी निवास इटालीटारमा गगन, अर्का महामन्त्री विश्वप्रकाश शर्मा र प्रदीप पौडेललाई सँगै राखेर केसीले शेखरसँग मिल्न दबाब दिएका छन्। शेखरलाई भने उक्त बैठकमा निम्ता नदिएको खुलासा भएको छ। ‘मलाई निम्ता थिएन,’ डा शेखरले शुक्रबार भने।
संसदीय दलको नेता जसरी पनि फेर्ने गगनको मुद्दामै छलफल केन्द्रित भएको एक नेताले बताए। ‘आइतबार लामै छलफल भयो संसदीय दलको नेता फेर्ने विषयमै,’ ती नेताले भने। यद्यपि अहिलेको अवस्थामा देउवालाई हटाएर संसदीय दलको नेता बन्ने प्रयास त्यति सजिलो भने नरहेको ती नेताले बताए। ‘केन्द्रीय समिति होस् या संसदीय समिति, दुवैतिर देउवा बलिया छन्,’ ती नेताले भने, ‘राजनीति हो केही हुन्छ भन्ने आशा हो।’
शेखरले पनि अहिलेको अवस्थामा संसदीय दलको नेता फेर्न सक्ने अवस्था छैन। ‘एब्सुलुट मेजोरिटी छ देउवासँग। त्यसैले संसदीय दलको नेता फेर्न सक्छ जस्तो मलाई लाग्दैन,’ शेखरले भने। बिजमान्ड् बाट