देश दुर्घटनाबाट जोगाउन नयाँ सम्झौता गरेर राजालाई स्पेस दिनुपर्छ : राजेन्द्र लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई दुर्घटनाबाट जोगाउनका लागि नयाँ सम्झौता गरेर राजालाई स्पेस दिनुपर्ने बताएका छन् ।
पार्टीले बुधबार काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै लिङ्देनले राजालाई अभिभावकीय भूमिकामा राखेर देशलाई दुर्घटनाबाट जोगाउनका लागि नयाँ सम्झौता गर्न दलहरूलाई आग्रहसमेत गरे ।
उनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने र प्रदेश तह खारेज गर्नुपर्ने बताए । ‘जनतालाई धर्मनिरपेक्षता, गणतन्त्र, संघीयताको भारी बोकाइएको र देशलाई दलहरूले सिण्डिकेटको सिकार बनाएकाले त्यसलाई उल्टाउनका लागि जनता काठमाडौं घेर्न तयारी गरिरहेको छ,’ उनले भने ।
उनले जनता जागेर आएको दिन व्यवस्थाबाट भाग्ने बाहेकको कुनै विकल्प नहुने भन्दै त्यस्तो अवस्था आउन नदिन दलहरू नै राष्ट्रिय मेलमिलाप गर्न तयार हुनुपर्ने धारणा राखे ।


