७ कार्तिक २०८१, बुधबार

सुन तस्करीका अभियुक्त दावा छिरिङ तिब्बती शरणार्थीका रुपमा नेपाल भित्रिएको खुलासा

एसीपी संवाददाता

३१ भाद्र २०८०, आईतवार १९:२३ मा प्रकाशित

काठमाडौँ — नेपालमा बसेर सुन तस्करी गर्दै आएका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङ तिब्बती शरणार्थीका रुपमा नेपाल प्रवेश गरेको पाइएको छ । करिब ६१ केजी सुन प्रकरणमा पक्राउ परेका दावा तिब्बती शरणार्थीका रुपमा नेपालमा आएर त्यसपछि अन्तरदेशीय सुन तस्करको ‘नेपाल व्यवस्थापक’ बनेको अनुसन्धानबाट पत्ता लागेको हो ।

रोल्पा थवाङकी माओवादी कार्यकर्ता अमला रोकासँग विवाह गरेर उनले त्यसकै आडमा सुन तस्करी, अवैध कल बाइपासलगायत अपराध धन्दा चलाउँदै आएका थिए ।

पछिल्लो पटक गत साउन २ मा विमानस्थल भन्सार जाँचपास भई बाहिरिएको सामानमा फेला परेको करिब ६१ केजी सुन तस्करी प्रकरणमा उनी पक्राउ परेका थिए । त्यसको अनुसन्धान गर्ने क्रममा दावाको पृष्ठभूमि ‘तिब्बती शरणार्थी’ रहेको खुलेको हो । उनको नेटवर्कमा रहेको चिनियाँ तस्करले पछिल्लो ११ महिनामा मात्रै ३ सय ६३ केजी सुन नेपाल भित्र्याएको पुष्टि भइसकेको छ ।

दावा स्वयंले पनि प्रहरीलाई दिएको बयानमा आफू १७ वर्षको उमेरमा सन् १९९९ मा तिब्बती शरणार्थीका रुपमा नेपाल आएको स्वीकार गरेका छन् । अनुसन्धानका क्रममा सीआईबीले दावा तिब्बती शरणार्थीका रुपमा भित्रिएका व्यक्तिहरुको निकट सम्पर्क र सम्बन्धमा रहेको भेट्टाएको थियो ।

सीआईबीले दावासहित पक्राउ परेका २६ र फरार १८ लाई प्रतिवादी बनाएर साढे ३ अर्ब बराबरको बिगो मागदावीसहित मुद्दा चलाउन जिल्ला सरकारी वकिल कार्यालयमा रायसहित प्रतिवेदन बुझाएकोमा आइतबार सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्दै छ । अनुसन्धानका क्रममा दावाले आफू सुन तस्करीमा संलग्न नभएको तर आफूले सञ्चालन गरेको भियाना होटलमा तस्करले सेल्टर लिएको जिकिर गरेका छन् । तर, अनुसन्धानले भने उनको योजना र व्यवस्थापनमा तस्करी भइरहेको पुष्टि भइसकेको छ ।

अनुसन्धानका क्रममा सीआईबीले दावालाई ‘तपाईं के–कुन प्रयोजन तथा उद्देश्यले कुन–कुन भिसामा कहिलेदेखि नेपाल आउनुभएको थियो ? नेपालमा कुन स्थानमा बस्दै आउनुभएको छ ?’ भनेर प्रश्न सोधेको थियो ।

जवाफमा दावाले १७ वर्षको हुँदा शरणार्थीका रुपमा आएर स्वयम्भू क्याम्पमा बसेको र त्यसपछि भारत गएर १२ कक्षा पास गरेर बेल्जियम पुगेको उल्लेख गरेका छन् । विद्यार्थी र पर्यटक भिसामा आफू आएको जिकिर गरे पनि उनको आडमा खोलिएका होटलसहितका शंकास्पद कारोबारले उनको आपराधिक धन्दाबाट आर्जित सम्पत्ति व्यवस्थापनका लागि भएको आशंका छ ।

सीआईबीले तपाईंको नेपालमा आम्दानीको स्रोत के हो ? भनेर प्रश्न गरेको छ त्यसको जवाफमा उनले ‘सुरुमा मेरो श्रीमती अमला रोक्कामगर र मन्जिल श्रेष्ठले ५०–५० लाख रकम तिरी मासिक १० लाख रुपैयाँ रकम भाडा तिर्ने गरी संचालन गर्दै आएको हो । सुरुमा लगानी गरेको ५० लाख रकमको स्रोत, मेरो श्रीमती अमला रोक्कामगरले जडिबुटीको कारोबार गरेर कमाएको रकम हो । मासिक भाडाबापत तिर्नु पर्ने रकम मासिकरुपमा होटलबाट कमाएको रकमबाट तिर्ने गरेका छौं’ भनेर दावी गरेका छन् । तर, सुन तस्करीको अनुसन्धानपछि दावाकी श्रीमती अमला फरार छिन् । उनी भागेर भारत पुगेको सीआईबी स्रोतको भनाइ छ ।

दावाले भने आफू बेल्जियमबाटै आफूले राहदानी र नागरिकता पाएको र त्यही राहदानीका आधारमा अध्ययन भिसामा नेपाल आएको बयान दिएका छन् । नेपालमा विद्यार्थी भिसामा आए पनि उनी माओवादी पूर्वनेतासमेत रहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र पूर्वमन्त्री तथा माओवादी उपमहासचिव वर्षमान पुनको परिवारसँग निकट रहेर त्यसकै आडमा अपराधधन्दा चलाउँदै आएका थिए ।

‘म तिब्बतमा जन्मिई करिब १७ वर्षको उमेरमा सन् १९९९ मा तिब्बतीयन शरणार्थी भई नेपाल आई स्वयम्भूको तिब्वतियन शरणार्थी क्याम्पमा बस्दै आइरहेकोमा तिब्बतीयन शरणार्थी क्याम्पले भारतको हिमाञ्चल प्रदेशमा अध्ययनको लागि पठाएकोमा सन् २००३ मा १२ कक्ष अध्ययन सकाई पुनः नेपालमा स्वयम्भूमा कोठा खोजी बसी न्यूरोडबाट ४०–५० जोर जुत्ता र जिन्स पाइन्ट खरिद गरी बसमा भारतमा गई भारतमा उक्त जुत्ता तथा पाईन्टहरु बिक्री गर्ने गरेको थिएँ,’ दावाले बयानमा भनेका छन्, ‘पछि बौद्धमा गई तीन वर्ष बसी जडिबुटी खरिद बिक्री गर्ने काम गरेको थिएँ । सोही क्रममा सन् २००९ मा अमला रोक्का मगरसँग भेट भई चिनजान भएपछि हामीले बिहे गर्ने भनि नयाँ बसपार्कमा कोठामा बस्दै आएकोमा सन् २०११ मा म भारतमा गई भारतबाट शरणार्थीको रुपमा बेल्जियम गएको हुँ ।’

नेपालमा काठमाडौं र ललितपुरसहित विभिन्न जिल्लाका १२ ठाउँका शिविरमा १५ हजार हाराहारीमा तिब्बती शरणार्थी रहेको अनुमान छ ।

आफूले सन् २०१३ मा बेल्जियमको ग्रिनकार्ड लिएको र त्यसपछि राहदानी पाएर सन् २०१३ मा बेल्जियम नागरिकको पर्यटक भिसामा नेपाल आएको उल्लेख गरेका छन् । दावाको यो स्वीकारोक्तिले सुन तस्करीको नेटवर्क तिब्बती शरणार्थी भेषमा नेपालमा रहेका विदेशी नागरिकको संलग्नतामाथि समेत अनुसन्धान गर्नुपर्ने पक्षलाई उजागर गरिदिएको छ ।

‘बेल्जीयन राहदानी पाइसपछि नेपाल आएको र बेल्जियम जाने आउने गरेकोमा सन् २०१५ पछि पर्यटक र अध्ययन भिसामा नेपाल आई गोंगबुमा बस्दै आइरहेकोमा सन् २०२० ठमेलको ज्याठामा भियना होटल संचालन गरी बस्दै आइरहेको छु,’ उनले बयानमा भनेका छन्, ‘भिसा नवीकरणको लागि प्रत्येक पटक बेल्जियम जाने आउने गरेको छु । हाल म ६ महिनाको अध्ययन भिसामा रहेको छु मेरो भिसाको म्याद सन् २०२४ को जनवरीसम्म रहेको छ । म हाल विश्व भाषा क्याम्पसमा नेपाली भाषा अध्ययन गरिराखेको छु ।’

तर, सुन तस्करको नेटवर्कमा बसेर अपराध धन्दा चलाइरहेका दावाले काभ्रेबाट फर्जी विवरणका आधारमा २०७४ पुस २० मा नेपाली नागरिकता लिएको र त्यसलगत्तै राहदानी बनाएर पटक–पटक नेपाली नागरिकको हैसियतमा विदेश यात्रा गरेको पनि भेटिएको छ । ईकान्तिपुर बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x