शिक्षकका न्यायोचित माग यथाशिघ्र सम्बोधन गर्न कांग्रेस बाँकेको आग्रह
नेपालगन्ज । नेपाली कांग्रेस बाँकेले शिक्षक आन्दोलनले अघि सारेका न्यायोचित माग यथाशिघ्र सम्बोधन गर्न सरकारसंग आग्रह गरेको छ । पार्टी सभापति नारायणप्रसाद गौडेलले आज एक प्रेस विज्ञप्ती जारी गर्दै शिक्षकको आन्दोलनप्रति नेपाली कांग्रेस बाँकेको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
शिक्षक आन्दोलनले अघि सारेका न्यायोचित माग यथाशिघ्र सम्बोधन गर्न सरकारसमक्ष जोडदार अपिल गरिएको छ । बर्षौंपछि निर्माण हुँदै गरेको संघीय शिक्षा ऐनमार्फत बर्षौंदेखि अल्झिएका समस्याहरुको गाँठो फुकाउन सरकारले यथोचित पहल गर्नुपर्ने विज्ञप्तीमा उल्लेख छ ।
शिक्षक र सरकारलाई संवादमार्फत तत्काल समाधान खोजेर विद्यालय अबिलम्ब सुचारु गर्न गराउन सरकार र शिक्षक नेतृत्वसंग आग्रह गरिएको छ ।
‘शिक्षा विधेयक संसदमा दर्ता भएको अवस्थामा त्यसमाथि छलफल गर्ने, संशोधन गर्ने र शिक्षकहरुलाई आत्मसम्मान महसूस हुने गरी निष्कर्षमा पुग्ने भरोसा शिक्षकहरुलाई दिलाएर पठनपाठनको वातावरण सिर्जना गर्नु राज्यको दायित्व हो । तसर्थ सरकारले ठोस अग्रसरता लिन जरुरी छ,” विज्ञप्तीमा भनिएको छ ।


