दाहालविरुद्ध अदालतको अवहेलना मुद्दाको आदेश मंसिर १८ मा आउने
काठमाडौँ — प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध परेको अदालतको अवहेलना मुद्दाको सुनुवाइ सकिएको छ । सर्वोच्च अदालतले आइतबार रिट निवेदक र विपक्षी दाहालका कानुन व्यवसायीको बहस सुनिसकेर निर्णय सुनाउने मिति तय गरेको छ ।
सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेका अनुसार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले बहस सुनिसकेर आदेश सुनाउने मिति तोकेको हो । उनका अनुसार आगामी मंसिर १८ मा दाहालविरुद्धको रिटमा आदेश सुनाउने मिति तय भएको छ ।
दाहालले अदालतको अवहेलना गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका थिए । दाहालको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै त्रिपाठीले २०७३ जेठ १२ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
माओवादी केन्द्रका अध्यक्ष दाहालले २०७३ वैशाख अन्तिममा आफूविरुद्ध षड्यन्त्र भएको अभिव्यक्ति दिएका थिए । उनले माओवादीविरुद्ध द्वन्द्वकालीन मुद्दालाई लिएर अदालत प्रयोग भएको भन्दै आलोचना गरेका थिए । सोही अभिव्यक्तिलाई लिएर अदालतमा मुद्दा परेको थियो । ईकान्तिपुर


