३१ भाद्र २०८३, बुधबार

मुस्लिम महिला नकाब बाहिर आउन मन गर्छ

एसीपी संवाददाता

८ आश्विन २०८०, सोमबार १५:०७ मा प्रकाशित

“मलाई वास्तवमै घाम ताप्न मनपर्छ, मलाई भिटामिन डी मन पर्छ र वर्षभरि नै मलाई मेरो छाला घाममा डढाउन मन लाग्छ। त्यसैले म वास्तवमै गोपनीयता भएको र बिदा मनाउन सकिने जहाँसुकै र जुनसुकै ठाउँमा जान मन पराउँछु,” जाहरा रोज भन्छिन्।

यूकेकी यी ‘सोसल मिडिया इन्फ्लुएन्सर’ आफ्नो छालाको रोगन गाढा बढाउन चाहन्छिन् र आफ्नो मुस्लिम धर्मप्रति पनि कटिबद्ध रहन चाहन्छिन्। उनी ३० वटाभन्दा धेरै देशहरूमा ‘हलाल होलिडे’ अर्थात् मुस्लिम आस्था अनुकुलको व्यवहार गर्न पाइने सुविधा भएको बिदा मनाउन गइसकेकी छन्।

हलाल अरबी भाषाको शब्द हो र त्यसले इस्लाम धर्मावलम्बीहरूलाई ‘जायज छ’ भन्ने अर्थ दिन्छ।

‘हलाल होलिडे’ मा मुस्लिमहरू उनीहरूको धार्मिक विश्वास र अभ्यासमा कुनै सम्झौता नगरी विभिन्न ठाउँहरू घुम्न जान सक्छन्।

गोपनीयता

विश्वमा सबैभन्दा धेरै सङ्ख्या भएका धर्मावलम्बीमध्ये इसाईहरूपछि मुस्लिमहरू दोस्रो नम्बरमा आउँछन्। र धेरै मुस्लिम देशहरूमा मध्यम वर्ग बढिरहेको छ।

पश्चिमी युरोप तथा उत्तर अमेरिकाका दोस्रो र तेस्रो पुस्ताका मुस्लिमहरूसँग उनीहरूका अभिभावकको तुलनामा खर्च गर्न सकिने आम्दानी धेरै छ र त्यसलाई उनीहरू बिदा मनाउन घुमफिर गरेर खर्च गर्न सक्छन्।

हलाल खाना

तस्बिर स्रोत,GETTY IMAGE

यो फस्टाउँदो बजार हो।

“मेरो लागि नियमित होलिडे र हलाल होलिडेबीचको मुख्य भिन्नता भनेको गोपनीयताको हो,” जाहरा रोजले बीबीसी वर्ल्ड सर्भिस बिजनेस डेली कार्यक्रमलाई बताइन्।

उनका अनुसार उनी हलाल खानाको सहज पहुँच पनि खोज्ने गर्छिन्।

मुस्लिम पर्यटकहरूलाई एकजुट गर्ने कुरामा खाना मुख्य हो। उक्त धर्ममा सुँगुरको मासु र मदिरा वर्जित छ।

ह्यासर सुकुओग्लु अडिगुजेल

तस्बिर स्रोत,HACER SUCUOGLU ADIGUZEL

तस्बिरको क्याप्शन,ह्यासर सुकुओग्लु अडिगुजेल

इस्तानबुलमा बस्ने हासेर सुकुओग्लु अडिगुजेल ३६ वर्षीया तीन सन्तानकी आमा हुन्।

टर्कीभित्र ‘हलाल होलिडे’ मनाउने ठाउँ फेला पार्न कुनै समस्या छैन। तर उनको परिवारले गैर-इस्लामिक देशमा भ्रमण गर्दा धेरै सोधखोज गरेर योजना बनाउनुपर्छ।

उनी भन्छिन्, “हालसालै हामी म्यासेडोनिया र कोसोभो गयौँ। हामीले हाम्रो होटलमा बिहानको खाजा खायौँ त्यसपछि परम्परागत ठाउँहरूमा घुम्न गयौँ, त्यहाँ मदिरा बिना नै खाना दिइयो।”

उनी दिनमा पाँच पटक प्रार्थना गर्छिन् र इस्लामिक मूल्य मान्यताहरू पालन गर्छिन।

“हलाल होटलहरूमा उनीहरूले प्रार्थनाका लागि म्याट उपलब्ध गराउँछन्। यदि हामी सामान्य होटेलहरूमा बस्न जान्छौँ भने हामी प्रार्थनाका लागि आफैँ म्याट लिएर जान्छौँ।”

“म कम लुगा लगाएका मानिसहरूलाई होटलमा हेर्न चाहन्न। हामी हाम्रा छोराछोरीहरू हाम्रो आस्था र संस्कृति पालन गर्ने मानिसहरूमाझ रहुन् भन्ने चाहन्छौँ। हामी उनीहरूलाई मानिसहरूले नाङ्गै घाम तापिरहेका समुद्री किनाराहरूमा लान चाहँदैनौँ।”

उनी महिलाहरूलाई अनलाइन उद्यमशीलता र सामाजिक सञ्जालबारे तालिम दिन्छिन्। हलाल होलिडेको सम्भावनालाई पर्यटन उद्योगले पूर्ण रूपमा प्रयोग गर्न नसकेको उनको भनाइ छ।

ठूलो बजार

ग्लोबल मुस्लिम ट्राभल इन्डेक्सका अनुसार २०२२ मा हलाल होलिडेको आकार २२० बिलियन डलर बराबरको थियो।

ह्यासर सुकुओग्लु अडिगुजेल

तस्बिर स्रोत,HACER SUCUOGLU ADIGUZEL

केही कम्पनीहरूले हलाल पर्यटनमा विशेषज्ञता हासिल गरिरहेका छन् भने अरूले यसलाई विकल्पको रूपमा थपिरहेका छन्।

उष्णतटीय टापु राष्ट्र माल्दिभ्स पश्चिमा ग्राहकहरूका लागि विशेषखाले होटलहरूको निम्ति परिचित छ तर अहिले विश्वभरिबाट उक्त देशमा जाने हलाल पर्यटकहरूको वृद्धि भइरहेको छ।

“माल्दिभ्स मुस्लिम देश हो र त्यसैले हाम्रोमा मुस्लिममैत्री पर्यटन छ,” उक्त देशका पर्यटनमन्त्री डा. अब्दुल्ला मौसूम भन्छन्, “र, यो क्षेत्र धेरै तीव्र रूपमा बढिरहेको छ।”

उनका अनुसार अहिले सबै होटलका बेडको एक चौथाइ बेडहरू “समुदायमा आधारित” वा स्थानीय स्वदेशी पर्यटनका लागि छुट्याइएको छ।

माल्दिभ्स

तस्बिर स्रोत,GETTY IMAGES

कानुनी रूपमा सबै होटलहरूमा कर्मचारीका लागि प्रार्थना गर्न एउटा मस्जिद हुनुपर्छ। त्यस्ता मस्जिदमा प्रार्थना गर्ने पर्यटकको चाप पनि बढ्दै गएको उनी बताउँछन्।

“धेरै रिसोर्ट उनीहरूले छुट्याएका कोठा, कोठाको डिजाइन र खानाका हिसाबले मुस्लिममैत्री छन्,” उनी भन्छन्।

उक्त देशको आर्थिक उत्पादनको एक चौथाइभन्दा बढी हिस्सा पर्यटनले क्षेत्रले ओगटेको छ ।

परिमार्जन

ग्लोबल मुस्लिम ट्राभल इन्डेक्स २०२३ मा बहुसङ्ख्यक मुस्लिम देशहरू हलाल पर्यटनमा हाबी देखिन्छन्।

सबैभन्दा शीर्ष स्थानमा इन्डोनेशिया र मलेशिया रहेका छन्।

लन्डन

तस्बिर स्रोत,MAGDY RUSTUM

उक्त सूचीमा दुई वटा मात्र गैर-मुस्लिम देशहरू परेका छन्- सिङ्गापुर ११औँ स्थानमा र यूके २०औँ स्थानमा।

लन्डनको पाँचतारे ल्यान्डमार्क होटल सन् १८९९ मा खोलिएको थियो। अहिले त्यहाँ हलाल मासु उपलब्ध हुन थालेको छ।

होटल कर्मचारी मध्यपूर्वको धार्मिक र सांस्कृतिक मान्यताबारे पनि प्रशिक्षित छन्।

“हामीसँग मदिरा र गैर-मदिराजन्य पेय पदार्थहरू छन्। बारमा तपाईँ मदिरा नभएको ककटेल पाउन सक्नुहुन्छ र त्यो धेरै लोकप्रिय छ,” उक्त होटलको मध्य पूर्वका लागि बिक्री निर्देशक म्याग्डी रुस्तम भन्छन्।

“हाम्रा दुईवटा प्रवेशद्वार छन्। होटलको उत्तरमा रहेको प्रवेशद्वार निजी हो।

“हाम्रा अधिकांश मध्यपूर्वी परिवारका सदस्य विशेषगरी महिलाहरू अरुले उनीहरूलाई हेरेको मन पराउँदैनन्, त्यसैले उनीहरू उत्तरतर्फको प्रवेशद्वारबाट आउँछन्।”

“त्यहाँ एउटा विशेष लिफ्ट पनि छ, त्यहाँबाट उनीहरू सीधै आफ्नो कोठामा जान सक्छन् त्यसले गर्दा उनीहरूलाई कसैले पनि देख्न सक्दैनन्।”

होटलको बलरूम विवाह समारोहको लागि प्रयोग गर्न सकिन्छ र त्यहाँ इस्लामिक परम्परा अनुसार पुरुष तथा महिला पाहुनालाई अलग अलग स्थानमा बस्ने व्यवस्था गर्न पनि सकिन्छ।

जहारा

तस्बिर स्रोत,ZAHRA ROSE

तस्बिरको क्याप्शन,जहारा

यी सबै खालका परिमार्जनहरू गर्नुपर्दा थप पैसा खर्च हुन्छ त्यसलाई जाहरा रोज स्वीकार गर्छिन्।

“मलाई थाहा छ गोपनीयता दिने खालका बिदा मनाउने स्थानहरूको लागत अन्य सामान्य स्थानका तुलनामा उच्च हुन्छ,” उनी भन्छिन्।

“मिश्रित पौडि पोखरीहरू भएका वा तपाईँको आफ्नै गोपनीयता हुने पौडी पोखरी वा निजी बाल्कनी नभएका रिसोर्ट बुक गर्न धेरै सजिलो छ।

“त्यसैले हो, म भन्छु त्यसकारण पनि निश्चित रूपमा मूल्यमा भिन्नता त हुन्छ नै।”बिबिसी बाट साभार गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x