भारतीय दूतावासमा भएका आक्रमणका घटनामा संलग्न व्यक्तिको ओसीआई रद्द गर्ने तयारी
क्यानडा, अमेरिका, बेलायत र अस्ट्रेलियामा खालिस्तान समर्थकबाट भारतीय दूतावासमा भएका आक्रमणका घटनामा संलग्न व्यक्तिको ओसीआई रद्द गर्ने तयारी
नयाँदिल्ली — भारतले विभिन्न देशमा रहेर पृथकतावादी आन्दोलन खालिस्तानको समर्थनमा लागेकाहरूको पहिचान गरी भारत प्रवेशमा रोक लगाउँदै सम्पत्ति नियन्त्रणमा लिने तयारी गरेको छ । क्यानडासँग उत्पन्न तनावका बीच भारतले त्यस्तो कडाइ गर्न लागेको हो । क्यानडा, अमेरिका, बेलायत र अस्ट्रेलियामा खालिस्तान समर्थक शिख समुदायका मानिस रहेको भारतले दाबी गर्दै आएको छ ।
खालिस्तानले ती देशमा बेलाबेला प्रदर्शन तथा सभाहरू गर्दै आएको छ । साथै खालिस्तान समर्थकबाट भारतीय दूतावासमा आक्रमणका घटना पनि भएका छन् । त्यस्ता घटनामा संलग्न व्यक्तिको ओभरसिज सिटिजनसिप अफ इन्डिया (ओसीआई) रद्द गर्ने भारत सरकारको तयारी छ । विदेशी नागरिकता लिए पनि ओसीआईवाहकलाई भारत आउनलाई भिसा लिनु पर्दैन ।
भारतीय जाँच एजेन्सीले विदेशमा रहेका खालिस्तानी आन्दोलनलाई नेतृत्व गर्नेहरूको सूची तयार पारेर सम्बन्धित देशलाई दिइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतले खालिस्तान देशको माग गरेर आन्दोलन गर्नेहरूलाई आतंकवादी सूचीमा राख्दै आएको छ ।
लोकतान्त्रिक देशहरूले भने आफ्नो भूमिमा अभिव्यक्तिको स्वतन्त्रता रहेको भन्दै खालिस्तान देश माग गर्नेमाथि कारबाहीमा आनाकानी गर्दै आएका छन् । जी–२० का बेला दिल्लीमा भएको द्विपक्षीय भेटमा भारतीय प्रधानमन्त्री मोदीले क्यानडाका राष्ट्रपति जस्टिन ट्रुडोसँग क्यानडामा खालिस्तान समर्थकको गतिविधिप्रति असन्तुष्टि जनाएका थिए । त्यस्तो गतिविधि हुन नदिन ट्रुडोमाथि मोदीले दबाब दिएका थिए ।


