दोहोरो चरित्र देखाउॅदै राजावादीको वकालत गरेपछि प्रधानमन्त्रीको चेम्बरमै अमरेशले खाए हप्कीदप्की, कालोनिलो भएर निस्किए
काठमाडौं । प्रचारबाजीमा रमाउने र द्वैध चरित्र देखाउने स्वतन्त्र सांसद अमरेशकुमार सिंहले एक्कासी राजावादीको वकालत गरेपछि प्रधानमन्त्रीको चेम्बरमै हप्कीदप्की खाएका छन् ।
बाहिर मिडियाको अगाडि सरकारलाई गाली गर्ने र प्रधानमन्त्रीको अगाडि खुलेर प्रशंसा गरी मख्ख पार्ने दोहोरो चरित्र प्रदर्शन गर्ने अमरेशले आइतबार संसदमा राजावादीको वकालत गरेपछि मन्त्रीहरुकै हप्की खाएका हुन् ।
आइतबार प्रतिनिधिसभामा राप्रपाका ज्ञानेन्द्र शाहीले बोल्नका लागि समय माग्दा सभामुख देवराज घिमिरेले नदिएपछि आफ्नो सिटबाट उठेका अमरेशले बोल्न पाउनुपर्ने माग गरेका थिए । उनले राजाको पालामा बोल्न पाइन्थ्यो, अहिले किन पाइँदैन भनेर तर्क गरेका थिए । जबकी सचेतकहरुसँगको छलफलमा दलीय आधारमा नबोल्ने सहमति भएको थियो । यसविपरीत उठेका अमरेशलाई सभामुखले चेतावनी दिँदै निर्देशन दिएका थिए । निर्देशन नमाने सभामुखले बैठकबाट निष्काशन गर्न सक्छन् ।
संसदमा बोल्नका लागि राजाको वकालत गरेका अमरेश बैठक सकिने वितिक्कै दौडिएर संसद भवनभित्र रहेको प्रधानमन्त्रीको च्याम्बरमा पुगेका थिए । जहाँ अमरेशले प्रधानमन्त्रीको खुलेर चाकरी गरिरहेका थिए । भ्रमण राम्रो भएको भन्दै मस्का लगाइरहेका थिए । त्यतिकैमा माओवादी सांसदहरु पुगेका थिए । जसमा माधव सापकोटा पनि थिए । उनले राजाको वकालत गर्ने अनि यहाँ आएर मस्का लगाउने भन्दै आलोचना गरेका थिए ।
त्यसपछि आएका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र कानुनमन्त्री धनराज गुरुङले पनि सदनभित्र राजावादीको पक्ष लिने यहाँ आएर गुलियो कुरा गर्ने भन्दै हप्काएका थिए । प्रत्यक्षदर्शी एक सांसदका अनुसार सबैको हप्की दप्कीपछि अमरेश कालोनिलो भएर निस्केका थिए । पछिल्लो समय गणतन्त्रविरुद्ध अमरेश बोल्दै हिँडेको पाइएको छ ।
बाहिर परिवर्तनका उपलब्धीको विरोध गर्ने र भित्र परिवर्तनका नायक प्रचण्डलाई मस्का लगाएर फाइदा लिने गरेपछि अहिले प्रधानमन्त्रीको सचिवालयले अमरेशलाई बालुवाटारमा समेत निषेध गरेको छ ।


