१४ मंसिर २०८३, आईतवार

युएईका राष्ट्रपतिसमक्ष राजदूत क्षेत्रीले बुझाए ओहदाको प्रमाणपत्र

एसीपी संवाददाता

२० आश्विन २०८०, शनिबार ०७:३७ मा प्रकाशित

काठमाडौं। संयुक्त अरब इमिरेट्स (युएई)का लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले आफ्नो ओहदाको प्रमाणपत्र युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसमक्ष पेश गरेका छन् ।

क्षेत्रीलाई ११ भदौमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा युएईका लागि गैरआवासीय राजदूत नियुक्त गरेका थिए । नियुक्तिको एक महिनापछि ११ असोजमा कार्यभार सम्हाल्न अबुधाबी पुगेका क्षेत्रीले बुधबार राष्ट्रपति कार्यालय कसर अल वाटनमा आयोजित विशेष समारोहमा राष्ट्रपति नाह्यानसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।

कार्यक्रममा राष्ट्रपति नाह्यानका साथै उपराष्ट्रपति, उपप्रधानमन्त्री, राष्ट्रपतीय अदालतका अध्यक्ष, मन्त्रीहरु, विदेश मन्त्रालयका उच्च अधिकारीहरुको सहभागिता थियो ।

ओहोदाको प्रस्तुतिपछि राजदूत क्षेत्रीले राष्ट्रपति नाह्यानलाई समकक्षी नेपालका राष्ट्रपति पौडेलको शुभकामना सन्देश सुनाएका थिए । शुभकामना सन्देशमा पौडेलले राष्ट्रपति नाह्यानको सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गर्दै युएईको निरन्तर शान्ति, उन्नति र समृद्धिको कामना गरेका छन् ।

राजदूत क्षेत्रीले सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई मित्र राष्ट्रबीच कायम रहेको द्विपक्षीय सम्बन्धको उत्कृष्ट अवस्थाबारे प्रकाश पार्दै नेपाली नागरिकका लागि युएई सबैभन्दा आकर्षक गन्तव्य भएको बताए । नेपालीलाई विश्वास गरेर रोजगारीमा सम्मानजनक व्यवहार गरिएकोमा उनले युएई सरकारलाई धन्यवाद दिए । नेपाल र युएईबीच धेरै क्षेत्रमा मिलेर काम गर्ने सम्भावना रहेको उल्लेख गर्दै राजदूत क्षेत्रीले इमिरेटी जनता र सम्पूर्ण मानवताको हितका लागि राष्ट्रपतिको दूरदर्शी नेतृत्वको प्रशंसा पनि गरे ।

राष्ट्रपति नाह्यानले युएईका लागि नेपालको राजदूतका रुपमा क्षेत्रीलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे । नेपाली समकक्षी पौडेलको सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गर्दै नेपालका मित्रजनको उत्तरोत्तर प्रगतिको कामना गरे । युएईका राष्ट्रपति नाह्यानले द्विपक्षीय सम्बन्धको उत्कृष्ट अवस्थाप्रति सन्तुष्टि व्यक्त गर्दै आगामी दिनमा थप मजबुत हुनुपर्नेमा जोड दिए ।

यसअघि राजदूत क्षेत्रीले १५ असोजमा युएईको परराष्ट्र मन्त्रालयमा प्रोटोकल मामिलाका सहायक उपसचिव सैफ अब्दुल्ला अलशमिसीलाई आफ्नो ओहोदाको प्रतिलिपि बुझाएका थिए । १६ गते छुट्टै कार्यक्रममा राजदूत क्षेत्रीले नेपाली राष्ट्रिय गानका साथ गार्ड अफ अनर ग्रहण गरेका थिए । साथै अबुधाबीको कसर अल वाटनमा भएको झण्डा फहराउने समारोहमा सहभागी भएको नेपाली दूतावासले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x