एनआरएनए चुनाव : यस्तो छ बद्री केसीको समावेशी र सर्वपक्षीय टिम
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न निर्वाचनका लागि समूहगत र स्वतन्त्ररुपमा उम्मेदवारी घोषणा हुने क्रम जारी छ । २९ असोजसम्म मनोनयन दर्ताको समय छ, मनोनय दर्ता खुला भएसँगै प्यानल र स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा भइरहँदा समावेशिताको प्रश्न उठेको छ । निर्वाचनमा तीनवटा प्यानल बनेका छन् ।
वर्तमान कार्यकारी अध्यक्ष बद्री केसीको प्यानल निर्वाचनमा प्रमुख दाबेदार मानिएको छ । यो टिम समावेशी र सर्वपक्षीय भएकाले पनि प्रमुख दाबेदार मानिएको हो । अध्यक्षका उम्मेदवार केसी युरोप क्षेत्रअन्तर्गत रसियाबाट प्रतिनिधित्व गर्छन् । उनको टिमको विश्लेषण गर्दा महिला, मुस्लिमदेखि पिछडिएको क्षेत्रसम्मका समुदायलाई उम्मेदवारमा समेटिएको छ । समावेशिताका आधारमामात्र होइन सर्वपक्षीय हिसाबमा पनि केसीको टिम सन्तुलित छ । यो टिममा नेपालका प्राय सबै दलनिकट व्यक्तिहरु समेटिएका छन् ।
यसैगरी एसिया प्यासिफिक क्षेत्रअन्तर्गत जापान महेश श्रेष्ठको प्यानल छ । वर्तमान उपाध्यक्ष श्रेष्ठ कांग्रेसनिकट मानिन्छन् । उनको टिममा कांग्रेसको वर्चश्व छ, सर्वपक्षीय नहुनुका साथै यो टिममा समावेशितामा पनि प्रश्न उठेको छ । कांग्रेस समर्थक वर्तमान उपाध्यक्ष रविना थापा र वर्तमान उपमहासचिव विनय अधिकारीले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्, तर प्यानल देखिएको छैन । जसले गर्दा कांग्रेस समर्थित फरक फरक उम्मेदवार भएकाले नतिजा पक्षमा हुने अनुमान गरिएको छ । निर्वाचनमा तेस्रो प्यानल हो, माओवादी समर्थित आरके शर्माको । वर्तमान उपाध्यक्ष रहेका शर्मा मध्यपूर्वबाट प्रतिनिधित्व गर्छन् । उनको टिममा माओवादीको वर्चश्व छ, समावेशिताको पनि प्रश्न उठेको छ । तुलनात्मक रुपमा यो टिमलाई कमजोर मानिएको छ ।
निर्वाचनमा मुख्यत: केसी र श्रेष्ठको टिमबीच प्रतिस्पर्धा हुने ठानिएको छ । नेपालको संविधानले समानुपातिक समावेशिता सिद्धान्तलाई अनुशरण गरेकाले गैरआवासीय नेपाली संघको निर्वाचनमा पनि यो सिद्धान्तलाई पालना गर्नुपर्ने दायित्व छ । तर आफू जसरी पनि जित्ने भावनाका कारण कतिपय प्यानलले यसलाई उल्लंघन गरेको पाइन्छ । निर्वाचनमा मतदाताहरुले समावेशी र सर्वपक्षीय टिमलाई निर्वाचित गराउनुपर्ने विज्ञहरुको सुझाव छ । समावेशी टिम निर्वाचित हुँदा संस्था थप प्रभावकारी बन्ने बताइन्छ ।
यस्तो छ टिम बद्री केसी
अध्यक्ष: बद्री केसी
उपाध्यक्ष: डा हेमराज शर्मा, रामशरण शिम्खडा, डा. विनोद श्रेष्ठ, चिरज्जीवी घिमिरे, रोविन श्रेष्ठ, यासमिन बेगम सयद
युवा उपाध्यक्ष: रोशन थापा
महासचिव: गौरीराज जोशी सचिव: प्रमोद सिटौला, सन्तोषकुमार भट्टराई, डा. नवराज रोस्यारा, पारसमणी पोखरेल, राजेन्द्र पुडासैनी र यज्ञराज सुवेदी, डा. ज्ञानेन्द्र रेग्मी, प्रकाश सापकोटा
कोषाध्यक्ष: सुदन थापा महिना संयोजक: अनुजा प्रधान युवा संयोजक: सुपेन्द्र घिसिङ


