१४ मंसिर २०८३, आईतवार

नारायणगढ- बुटवल सडक निर्माणमा ढिलाइ : यात्रु र व्यवसायीलाई सास्ती

एसीपी संवाददाता

५ कार्तिक २०८०, आईतवार २३:५२ मा प्रकाशित

लुम्बिनी — रुपन्देहीको सैनामैना–१० का सुन्दर सापकोटालाई गत बुधबार काठमाडौंबाट बुटवल पुग्न १८ घण्टा लाग्यो । दसैंका लागि घर हिँडेका उनले नारायणगढदेखि बुटवल पुग्न ६ घण्टा लागेको बताए ।

‘२ वर्षपछि घर आएको, बाटो त ध्वस्त रहेछ,’ उनले भने, ‘अरुले समय धेरै लाग्यो भन्दा विश्वास मान्दैनथेँ आफैंले भोगियो, हैरान लाग्यो ।’ सामान्यतया काठमाडौं–बुटवल ९ घण्टा लाग्ने सडकमा १८ घण्टा लागेको उनले बताए ।

नारायणगढ–बुटवल सडक निर्माण समयमा नहुँदा यात्रुले सास्ती व्यहोर्नु परेको छ । नवलपरासीका सडक, रुपन्देहीका सडक छेउछाउमा गिट्टी र बालुवा थुपार्दै काम भइरहेको दृश्य, कहीँ सानो सडक भएकाले एकतर्फी गाडी पार गर्नुपर्ने बाध्यताले समस्या पर्ने गरेको छ । सडक खण्डमा दुर्घटना समेत हुने गरेका छन् ।

भैरहवाको बेलहियाका नवरत्न सुवेदीले बुटवल–काठमाडौं रुटमा गाडी चलाउन थालेको ९ वर्ष भइसक्यो । उनलाई बुटवल–नारायणगढ सडकको अवस्थाले साह्रै दिक्क बनाउँछ । वर्षाले ठाउँठाउँमा पहिरो जाँदा यात्रु चढ्नै डराउने, हिउँदमा पाउडर (धूलो) आउँछ भन्दै यात्रु चढ्नै मान्दैनन्,’ उनले भने, ‘काठमाडौंसम्म पुग्दा नगर गाडी जस्तै लोकललाई चढाउन बाध्य छौं ।

अहिले त बुटवलतिरबाट भन्दा परासीदेखि भैरहवा निस्किन अलि सहज भएको उनले बताए । सुवेदीले आफूहरुभन्दा अझ बुटवल पश्चिम जाने सवारीसाधनलाई बुटवलसम्म आउन झन्झट बनाएको बताए । सडकको म्याद थपेर नाटक मात्र गर्ने सडक भने नबनाउने परिपाटी हो कि जस्तो लागेको उनको भनाइ छ । एक ट्रिप जाँदा ५ हजार बढी को मर्मत खर्च छुट्याउनुपर्ने अवस्था सडकले बनाएको सुवेदीले गुनासो गरे । यो रुटमा गाडीको टायरदेखि अन्य पार्टपुर्जा छिटोछिटो बिग्रने गरेको उनले बताए ।

‘महँगो तेल, त्यसमाथि सडक खराब अनि प्यासेन्जर न्युन,’ उनले भने, ‘समस्या कति छ, कसलाई भन्ने, बोले नराम्रो भइने, नबोले आफ्नो सम्पत्ति यही एउटा गाडी धरापमा चलाइएको छ ।’

पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले सडकको दुरवस्थाले १० वर्षसम्म टिक्ने गाडी १ वर्षमै ध्वस्त भएको बताए । उनले ससाना मर्मत बाहेकका ठूला पाटपुर्जा बिग्रँदा व्यवसायी अति मर्कामा परेको बताए ।

‘३ वर्षको म्याद भएको सडक बनाउन ४ वर्ष नाघिसक्दा पनि नसक्ने सरकार, यसमा गम्भीर नभएको ठेकेदार कम्पनी र हाम्रा लागि कोही बोलिदिने नेता नहुँदा साह्रै दुःख पाइयो,’ उनले भने, ‘यही ताल हो भने यातायात व्यवसायीले गाडी थन्काएर घरै बस्ने स्थिति छिटै आउनेछ ।

खरेलले चाडबाडमा खुल्ने अग्रिम टिकट समेत खोल्नुअघि आफूहरुले सम्बन्धित निकायमा सडकका खाल्डाखुल्डी पुरिदिन र पहिरो गएमा ‘स्ड्याण्ड बाइ’ डोजर राखी सफा गरिदिन आग्रह गरेको र सम्बोधन हुने भएपछि मात्र टिकट खोलेको जनाए । माग सम्बोधन भएको र अनुगमनमा डोजर पनि देखिएको, तर यात्रु नै नबढेपछि अर्को समस्या परेको उनले बताए । दसैंका बेलालाई भनेर देखिएका मानिसको भिडभाड बाहेक अन्य बेला यात्रु नै नपाइँदा लामो दूरीमा चल्ने सवारीसाधनको आयस्रोत आउनु भन्दा दैनिक १ हजार घाटा व्यहोर्नुपरेको उनको भनाइ छ ।

उनले सरकारको सडक बनाउन पर्छ यो गौरवको योजना हो भन्ने सोंच नै नभएकाले आफूहरु यसमा कमिसन र मिलेमतोको संकेत छ कि भन्ने सोंच्न बाध्य भएको उनको भनाइ छ ।

एयरलाइन्समा महँगो भाडा तिरेर यात्रा गर्न बाध्य भएका नागरिकलाई सरकारले सम्बोधन नगर्ने, उच्च आयस्रोतकालाई साथ दिनेतर्फ सरकारको ध्यान केन्द्रित भएजस्तो मानेको उनले बताए । ‘हामीले हेर र पर्खलाई धेरैपटक प्रयास गर्‍यौं,’ उनले भने, ‘अब सडक नबने हो भने सडक यातायात व्यवसायी सडकमै उत्रेर यसको निकास खोज्न बाध्य हुनेछौं । नागरिकले बुझ्दा भाडा समायोजन नभएकाले गाडी गुडेनन् भन्ने देखिएपनि सडककै अवस्थाले आफूहरु गाडी निकालेर चलाउनै डराएको उनले बताए । नयाँ व्यवसायी लगानी गर्न नचाहने स्थिति सडकका कारण भएको उनको भनाइ छ ।

२०७५ चैत ८ गते नारायणगढ-बुटवल सडकखण्ड विस्तार आयोजनाको काम अगाडि बढेको थियो । १ सय १४ किलोमिटर सडक साढे ३ वर्षमा अर्थात २०८० भदौ ११ र पश्चिम खण्डको साउन ११ मा निर्माण सम्पन्न गर्ने गरी म्याद सम्झौता भएको थियो । पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्ने गरी सम्झौता समेत भएको थियो । तर समयमा निर्माण पूरा नभएपछि म्याद थपेर काम भइरहेको छ । जसमा पश्चिमी खण्डमा ३ सय ५० दिन म्याद थप भएको हो । आगामी भदौ ११ गते म्याद सकिने पूर्वी खण्डको ३ सय ३० दिन म्याद थपिएको छ ।

अहिलेसम्म पूर्वी खण्डमा ४० र पश्चिमी खण्डमा ३७ प्रतिशत काम सम्पन्न भएको छ । १ सय १५ किलोमिटर लामो सडकलाई २ खण्डमा विभाजन गरी काम सुरु गरिएको थियो । एसियाली विकास बैंकको ऋण सहयोगमा १६ अर्ब ९९ करोड ५२ लाख लागतमा निर्माण भइरहेको पूर्व पश्चिम राजमार्गको काम भइरहेको हो । समयमै काम सम्पन्न नहुँदा यात्रुलाई सास्ती परेको छ ।

हाल पुनः एक वर्षका लागि थपिएको म्याद अनुसार २०८१ साउनमा सडक बनिसक्नुपर्नेछ । यसका लागि हाल सडकमा धमाधम काम भइरहेको नारायणगढ बुटवल सडक आयोजना पूर्वी खण्डका प्रमुख आशिष थापामगरले बताए । उनका अनुसार गैंडाकोटदेखि दाउन्नेसम्मको ६४ किलोमिटर ४ सय २५ मिटर सडकखण्ड हेर्ने अभिभारा उनको छ ।

उक्त सडक निर्माणको काममा पहिलो चरणमा कोरोना, दोस्रो वनका रुख सडकमा पर्नु तथा बिजुलीका पोल सार्न भएको ढिलासुस्तीले सडक निर्माणमा असर पुर्‍याएको उनको भनाइ छ । कन्ट्रयाक्टरको ढिलाई पनि नभएको होइन, उनले भने, अन्य क्षेत्रले ढिला गरेपछि उसको भन्दा स्वीकृति पाउने क्षेत्रको ढिलाइले असर गरिरह्यो ।

स्थानीय तहले प्रदान गर्ने नदीजन्य पदार्थको स्वीकृति लिन समेत समय लागेको उनले बताए । सडक नबन्नु दु:खद भएपनि यसमा सरोकार राख्ने सबै निकायको जिम्मेवारी उत्तिकै हुने भएकाले अब थपिएको म्यादमा सकियोस् भन्ने चाहना राखिएको उनले बताए ।

यता, पश्चिम तर्फको दाउन्ने बजारदेखि बुटवलसम्मको ६५ किलोमिटरको जिम्मेवारी नारायणगढ बुटवल सडक आयोजना पश्चिम खण्डमा सशांक मिश्रको नेतृत्वले हेरिरहेको छ । आयोजनाले आफ्नो कामलाई हरेक समयमा तत्परताका साथ गर्नेगरी अघि बढेको मिश्रले बताए । ईकान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x