बेलायतको नेपाली समुदायमा यौन अपराध बढ्दै
लन्डन — बेलायतमा सबैभन्दा बढी नेपाली बसोवास गर्ने रसमोर बरोमा बालबालिका र इन्टरनेटसँग सम्बन्धित यौन अपराधहरु बढिरहेको छ । स्थानीय प्रहरीले यस्ता अपराधको कानूनी सजायबारे अवगत गराउँदै बेलैमा सचेत रहन नेपाली भाषामा विभिन्न सुझाव समेत प्रकाशित गरेको छ ।
ह्याम्पसायर कन्सट्याबुलरीको इन्टरनेट चाइल्ड अब्यूज टिम (आइक्याट) ले १८ वर्ष मुनिका बालबालिकाको अश्लिल र अशोभनीय तस्बिरहरु खिच्न, राख्न, वितरण गर्न वा यौन सम्बन्धी कुराकानी गर्नु बेलायतको कानुन अनुसार गैर कानूनी भएको जनाउँदै यसो गरे जेल जानेमात्र नभएर अन्य नराम्रो परिणाम ल्याउन सक्ने पनि उल्लेख गरेको छ ।
बेलायतमा पछिल्लो समय भूतपूर्व गोर्खाका सन्तान, विद्यार्थी तथा वर्क परमिटमा कामदार आउने क्रम अकाशिएको छ । यहाँ नेपाली जनसंख्या बढेसँगै लागूऔषध र यौन अपराध सम्बन्धी घटना पनि बढेका छन् । ह्याम्पसायर कन्सट्याबुलरीका पीसीएसओ दुर्गा थापाले रसमोरमा यौनजन्य अपराध बढेको बताउँदै यसबाट सचेत रहन नेपाली समूदायलाई अपिल गरे ।
‘विशेष गरी भर्खर नेपालबाट आएका युवा र अधवैंशेसमेत बालबालिका र इन्टरनेटसँग सम्बन्धी यौन अपराधमा संलग्न भएको पाइएको छ,’ थापाले कान्तिपुरसँग भने, ‘च्याटरुममा अश्लिल कुराकानी गर्ने, भिडियो फोटो देखाउने, खिच्ने र बालबालिकालाई भेट्न बोलाउने जस्ता क्रियाकलापमा नेपाली संलग्न भइरहेका छन् ।’ थापाले यकीन तथ्यांक भने खुलाउन चाहेनन् ।


