परराष्ट्रमन्त्री साउद आइतबार अमेरिका जाँदै
अमेरिकी समकक्षी ब्लिन्केनसँग सोमबार द्विपक्षीय भेटवार्ता हुने
काठमाडौँ — परराष्ट्रमन्त्री एनपी साउदको अमेरिका भ्रमणतालिका सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै परराष्ट्रमन्त्री साउदले कात्तिक १२ देखि १९ सम्म अमेरिकाको औपचारिक रूपमा भ्रमण गर्न लागेको जानकारी दिएको हो ।
अमेरिकाको विदेश मन्त्रालय र नेपालको परराष्ट्र मन्त्रालय दुवैले करिब एक महिनाभन्दा बढी समन्वय गरेपछि परराष्ट्रमन्त्री साउदको भ्रमणको औपचारिक रूपमा सार्वजनिक गरिएको हो ।
मन्त्री साउदलाई सोमबार वासिङ्टन डीसीमा स्वागत गरेलगत्तै सोही दिन अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग द्विपक्षीय भेटवार्ता हुनेछ । परराष्ट्रमन्त्री साउद संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसलाई आइतबार स्वागत गरेर द्विपक्षीय भेटवार्ता गरेपछि बेलुकी अमेरिका जाने भएका हुन् ।
मन्त्री साउद सन् २०१८ पछि अमेरिका भ्रमण गर्ने नेपालका उच्च पदाधिकारी हुनेछन् । सन् २०१८ डिसेम्बर १८ देखि २१ मा केपी ओली नेतृत्वका सरकारका तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकाको भ्रमण गरेका थिए । त्यस बेला उनले डोनाल्ड ट्रम्प प्रशासनका विदेशमन्त्री माइकल पम्पियोलाई भेटेका थिए । यस पटक साउदले जो बाइडेन प्रशासनका विदेशमन्त्री एन्टोनी ब्लिकेनसँग द्विपक्षीय भेटवार्ता गर्न लागेका हुन् ।
परराष्ट्रमन्त्री साउद केही समयअघि न्युयोर्कमा भएको संयुक्त राष्ट्र संघको ७८ औं महासभामा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहालसँगै अमेरिकाका आएका थिए । उक्त समयमा साउदको व्यस्तता नेपाल र अमेरिकाको द्विपक्षीय सम्बन्धभन्दा पनि राष्ट्र संघको बहुआयामिक कूटनीतिमै केन्द्रित रहेको थियो । तर साउदले त्यस बेला पूर्वविदेशमन्त्री माइक पम्पियोसँग न्युयोर्कमा भेटवार्ता गर्दै द्विपक्षीय सम्बन्धको बारेमा कुराकानी गरेका थिए ।
परराष्ट्रमन्त्री साउदले अमेरिका भ्रमणका दौरान अमेरिकी सहयोग नियोग यूएसएआईडीकी प्रमुख प्रशासक सामान्था पावर, अमेरिकी सहयोग संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलिस पी. अलब्राइट र अमेरिकी सरकारका अन्य उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै, परराष्ट्रमन्त्री साउदले अमेरिकी सांसद तथा नेपाल ककसका सहअध्यक्ष माइक केरीसँग भेटवार्ता गर्ने कार्यक्रम पनि छ ।
त्यसबाहेक परराष्ट्रमन्त्री साउदले अमेरिकी इन्स्टिच्युट अफ पिसमा सम्बोधन गर्ने कार्यक्रम छ । यस्तै, नेपाली–अमेरिकी व्यापारिक समुदाय, प्राविधिकसम्बन्धी एडभाइजरी नेटवर्क र एनआरएनएका प्रतिनिधिहरूसँग कुराकानी गर्ने कार्यक्रम रहेको छ ।
विदेशमन्त्री ब्लिन्केनसँग परराष्ट्रमन्त्री साउदले दुई मुलुकबीचको सहकार्य र सहयोगको विषयमा कुराकानी गर्ने कार्यक्रम रहेको परराष्ट्र स्रोतले बतायो । साथै, (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत अलब्राइट नेपालमा कार्यान्वयनमा गएको अमेरिकी ५०० मिलियन डलर अनुदानको एमसीसी परियोजनाको विषयमा कुराकानी हुने छ । अलब्राइटले एक महिनाअघि मात्र नेपालको भ्रमण गरेकी थिइन् ।
यसै वर्ष नेपालको भ्रमण गरेकी यूएसएआईडीकी प्रमुख प्रशासक सामान्था पावरको भेटवार्तामा परराष्ट्रमन्त्री साउदले यूएसएआईडीमार्फत अमेरिकाले दिएको र दिने सहयोगको विषयमा कुराकानी हुनेछ ।
दाहाल नेतृत्वको सरकार आएपछि राजनीतिक मामिला विदेशमन्त्री भिक्टोरिया नुल्यान्डदेखि अन्य पदाधिकारीहरुले भ्रमण गरिसकेका छन् । दाहाल तेस्रो पटक प्रधानमन्त्री भएपछि भारत र चीनको भ्रमण गरिसकेका छन् भने अमेरिकामा राष्ट्र संघको ७८ औं महासभालाई सम्बोधन गर्न आएका थिए । तर उनले त्यस बेलामा अमेरिकासँग द्विपक्षीय भेटवार्ता गरेनन् । चीन र भारतमा आफैं गएका दाहालले अमेरिकासँगको द्विपक्षीय भ्रमणमा भने परराष्ट्रमन्त्री साउदलाई पठाउन लागेका हुन् ।
नेपालका दुई छिमेकी भारत र चीन विश्वमञ्चमा बलियो हुँदै गइरहेको छ । नेपालले छिमेक सम्बन्धमा उत्तिकै महत्त्व दिँदै आइरहेको छ । साथै, नेपालले विश्व शक्ति अमेरिकासँगको सम्बन्धलाई पनि उत्तिकै महत्त्व दिएको छ । प्रधानमन्त्री दाहालले नेपालले तीनै मुलुकसँगको कूटनीतिक सम्बन्ध सन्तुलित राख्न सफल भएको उल्लेख गर्ने गरेका छन् । ईकान्तिपुर


