६ मंसिर २०८१, बिहीबार

हमासको आतंककारी अपहरणको घटना ; जोशीको सकुशल उद्धारको माग गर्दै महेन्द्रनगरमा र्‍याली

एसीपी संवाददाता

१९ कार्तिक २०८०, आईतवार १५:२७ मा प्रकाशित

कञ्चनपुर — प्यालेस्टिनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको सकुशल उद्धारको माग गर्दै महेन्द्रनगरमा र्‍याली निकालिएको छ । आइतबार बिहान विपिनका परिवारसँगै विद्यार्थी र अधिकारकर्मीले दबाब दिन र्‍याली निकालेका हुन् ।

एक महिनाअघि इजरायलमा हमासले आक्रमण गरी अपहरणमा परेका जोशीको रिहाइका लागि दबाबमुलक रुपमा र्‍याली निकालिएको हो । नेपाल सरकार, संयुक्त राष्ट्र संघ र मानव अधिकारवादी संघ संस्थाहरुले तत्काल जोशीको रिहाइका लागि पहल गर्नुपर्ने माग गरिएको छ ।

‘प्रयास जारी छ मात्रै भन्छन्, तर छोरा कस्तो अवस्थामा छ, केही थाहा छैन,’ जोशीका बुवा महानन्दले भने, ‘आज पनि सीडीओसाबले त्यहि कुरा भने ।’ उनले तिहार अगावै छोराको उद्धार गरेर घर ल्याइदिन आग्रह गरेका छन् । र्‍यालीमा जोशीका बुवासँगै आमा पदमा र बहिनी पुष्पा पनि सहभागी थिइन् ।

महेन्द्रनगरको मदन चोकबाट सुरु गरिएको र्‍याली बजार परिक्रमा गरि जिल्ला प्रशासन कार्यालयमा पुगेर समापन गरिएको हो । प्रशासनमा पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र पनि बुझाइएको छ । ज्ञापन पत्र बुझ्दै प्रजिअ गोपाल कुमार अधिकारीले विपिनको उद्धारका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताए ।

‘सरकारले सक्दो प्रयास गरिरहेको छ, तपाईंहरुको ज्ञापनपत्र पनि गृह र परराष्ट्र मन्त्रालयमा पठाइनेछ,’ प्रजिअ अर्यालले भने, ‘विपिनको अवस्थाबारे हामीले पनि नियमित रुपमा जानकारी लिने प्रयास गरिरहेका छौं ।’

इजरायली सरकारले हालै जोशी हमास समूहको नियन्त्रणमा रहेको सार्वजनिक गरेको थियो । त्यसअघिसम्म उनको अवस्था अज्ञात थियो । जोशीको अवस्था सार्वजनिक भएपछि उनको परिवारमा केही आशा पलाएको छ ।  सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायमा अध्ययनरत जोशी अन्य विद्यार्थीसँगै ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तरगत भदौमा इजरायल गएका हुन् । जसमध्ये १० विद्यार्थीको मृत्यु भएको थियो । ईकान्तिपुर बाट साभार

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x