१ आश्विन २०८३, बिहीबार

सामाजिक सञ्जालमाथि निगरानी जरुरी

एसीपी संवाददाता

२२ कार्तिक २०८०, बुधबार १८:१० मा प्रकाशित

यतिखेर विश्वभर जस्तै नेपालमा पनि सामाजिक सञ्जालको जगजगी छ । फेसबुक, टिकटक, युट्युब, ट्विटर, इन्स्टाग्राम तथा स्न्यापच्याट जस्ता माध्यम प्रयोग गर्नेको संख्या दिनानुदिन बढ्दो छ । इन्टरनेटमा उपलब्ध यस्ता माध्यम विशेषगरी नयाँ पुस्तामा यतिसम्म जरो गाड्न सफल भएको छ कि यसलाई न उनीहरू छाड्न सक्छन् न त तोड्न नै । सोझो अर्थमाभन्दा सामाजिक सञ्जाल उनीहरूका लागि लत बनिसकेको छ ।

विज्ञान आविष्कार वा चमत्कारसँग सम्बन्ध राख्छ । त्यसैले सामाजिक सञ्जाल पनि विज्ञानले वर्तमान पुस्तालाई दिएको एकदमै ठूलो र आकर्षक उपहार हो । यही उपहार कतिका लागि जीविकोपार्जनको बाटो बनेको छ भने कतिपयका लागि चिन्तनमनन गर्ने थलो । अनि कतिपयका लागि मनोरञ्जनको मञ्च बनेको छ भने कतिपयका लागि मनको बह बिसाउने ठाउँ । त्यसैले सामाजिक सञ्जाल नजानिँदोतवरले जेष्ठ नागरिकदेखि किशोर वयसम्मका लागि प्रिय बन्दै गएको छ ।

नेपालको परिप्रेक्ष्यमा कुरा गर्दा पछिल्लो समय सामाजिक सञ्जालको व्यापक दुरूपयोग भएको देखिन्छ । कसैको चरित्र हत्या गर्न, कसैलाई दानवीकरण गर्न तथा मिथ्या सूचना फैलाउन यस्तो मञ्च प्रयोग गर्नेको संख्या बढेको छ । विशेषगरी युट्युबरहरूले अपनाएका रबैयाले सिंगै सामाजिक सञ्जालप्रति धेरैको वितृष्णा उत्पन्न हुन थालेको छ । राजनीतिक दलका नेताहरूप्रति लक्षित गरिएका र बिनाप्रमाणका सामग्रीले जनमानसको दिमागसमेत रन्थनाउने गरेको छ ।

नेपालमा सबैभन्दा बढी प्रयोग गरिने सामाजिक सञ्जालमा फेसबुक, युट्युब र टिकटक पर्छन् । यिनै माध्यम एकअर्काप्रति रिस साँध्ने, सिध्याइदिने र जीवन बर्बाद पार्ने हतियारका रूपमा दुरूपयोग हुँदा धेरै मानिसले आत्महत्याको बाटो रोज्नुपरेको छ । कतिपयको घरबार उजाडिएको छ भने सयौँको सार्वजनिक जीवन समाप्त भएको छ । एकपटक सामाजिक सञ्जालमा हालिएका कुरा कुनै न कुनै रूपमा सधैँजसो बस्ने भएकाले यसबाट पीडित भएकाहरूले न्याय पाउने सम्भावना अत्यन्तै कम हुने गर्छ । त्यसैले पनि अहिले सामाजिक सञ्जालको दुरूपयोग व्यापक चिन्ताको विषय बनेको हो ।

नचिनेका जथाभावी मानिसलाई साथी बनाउनु, सोसल मिडियामा देखिएका सबै लिंकलाई क्लिक गर्नु, राहदानी, नागरिकता जस्ता महत्वपूर्ण दस्ताबेज सार्वजनिक गर्नु, आफ्नो खाता अरूलाई चलाउन दिनु, सोसल मिडियाका साथीहरूप्रति बढी नै भर पर्नु र विश्वास गर्नु जस्ता पक्ष यसका दुरूपयोगकर्ताका लागि लिस्नो सावित हुने गर्छ । त्यसैले बिनापरिपक्वता अर्थात ख्यालख्याल सम्झेर प्रयोग गर्दा पनि सामाजिक सञ्जाल दुरूपयोगको शिकार बन्ने खतरा रहन्छ ।

यस्तै कारणहरूले गर्दा गृह मन्त्रालयले दुई दिनअघि मात्र सामाजिक सञ्जालको दुरूपयोग रोक्नेसम्बन्धी विज्ञप्ति नै जारी गरेको छ । जसमा जिम्मेवार नागरिकका रूपमा कानुनसम्मत शिक्षामूलक र सामाजिक सद्भाव नबिगार्ने सामग्री मात्र प्रकाशन, प्रसारण गरी असल नागरिकको भूमिका निर्वाह गर्न र गैरकानुनी कार्य गरेबापत हुने कानुनी कारबाहीबाट बच्न सबैमा अनुरोध गरिएको छ ।

सामाजिक सञ्जालमा संप्रेषण गरिएका गलत सामग्रीले व्यक्ति तथा समाजलाई नकारात्मक प्रभाव पार्नुका साथै कतिपय अवस्थामा व्यक्तिको चरित्र हत्या गर्ने, शान्ति सुरक्षाको अवस्था बिगार्ने, जातीय, भाषिक, धार्मिक सद्भाव खल्बल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्नेलगायतका दुष्प्रभाव सिर्जना गर्ने कुरा पनि उक्त विज्ञप्तिमा उल्लेख छ ।

सामाजिक सञ्जाल विज्ञानको पछिल्लो चमत्कारभित्र पर्छ । त्यसैले विज्ञानका उपलब्धिको भरपुर प्रयोग गरी त्यसबाट अधिकतम लाभ लिन सक्दा जीवन सुन्दर हुन सक्छ । जब यसलाई दुरूपयोग गरिन्छ, त्यसले आफूलाई मात्र नभई अरूलाई समेत सिध्याउँछ भन्ने सबै प्रयोगकर्ताले बुझ्नुपर्छ । त्यसैले सामाजिक सञ्जालमा पूरै विश्वास गर्ने परिपाटी पनि हानिकारक छ । मिडिया शब्द झुण्डिए पनि यो हामीले मान्दै आएको व्यवस्थित र आचारसंहिताको जगमा अडेको पत्रकारिता होइन भन्ने हेक्का हुनुपर्छ । सबै सूचना जानकारीका लागि ठीकै होला तर यी सबै हाम्रा लागि अत्यावश्यक नहुन पनि सक्छन् । जस्तो वैज्ञानिक अल्बर्ट आइन्सटाइनले भनेका छन्– सूचना ज्ञान होइन । नागरिकन्युज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x