२ आश्विन २०८३, शुक्रबार

चिनियाँ समूहले ३३ किलो सुन नेपालमा तस्करी गरेको निष्कर्ष

एसीपी संवाददाता

१ मंसिर २०८०, शुक्रबार १०:१९ मा प्रकाशित

आइतबार जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउने जिल्ला प्रहरी कार्यालय दोलखाको तयारी, पक्राउ परेकाविरुद्ध संगठित अपराध, भन्सार चोरी पैठारी, नेपाल राष्ट्र बैंक ऐनअनुसार क्रिप्टो कारोबारको कसुर चल्ने 

दोलखाको लामाबगर क्षेत्र हुँदै चिनियाँ समूहले ३३ किलो सुन नेपालमा तस्करी गरेको निष्कर्ष प्रहरीले निकालेको छ । तस्करीमा २६ जनाको संलग्नता पुष्टि भएको र अहिलेसम्म १५ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

तस्करी भएको ३३ किलोमध्ये साढे ११ किलो दोलखा प्रहरीले बरामद गरेको छ । करिब आठ साता लामो अनुसन्धान प्रहरीले अन्तिम चरणमा पु¥याएको छ । सम्भवतः आइतबार जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउने जिल्ला प्रहरी कार्यालय दोलखाको तयारी छ । पक्राउ परेकाउपर संगठित अपराध, भन्सार चोरी पैठारी, नेपाल राष्ट्र बैंक ऐनअनुसार क्रिप्टो कारोबारको कसुर चल्ने भएको छ ।

वनसम्बन्धी मुद्दाबारे पनि छलफल भइरहेको प्रहरीले जनाएको छ । सुन तस्करीमा संलग्न चिनियाँले नेपालबाट चीनमा कस्तुरीको बिना तथा यार्साको तस्करी गरेको खुलेको छ । तर, बरामद हुन नसकेकाले मुद्दा चलाउने÷नचलाउने टुंगो लागेको छैन ।

दोलखा प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को सहयोगमा तस्करी गर्ने समूहमाथि विस्तृत अनुसन्धान गरेको हो । ‘अनुसन्धान अन्तिम चरणमा पुगेको छ,’ जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी दीपक खड्काले भने, ‘केही दिनभित्रै रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउँछौँ ।’

असोजको पहिलो साता दोलखाको उत्तरी नाका फलेकबाट तस्करी भई आएको ११ किलो ४५ तोला सुन प्रहरीले बरामद गरेको थियो । उनीहरूले तीन केजी सुन बिक्री गरेका सुन पसले पक्राउ परेका छन् । बाँकी १९ केजी एक तिब्बती मूलका भारतीयलाई बिक्री गरेको बताएका छन्, तर ती व्यक्ति भने फेला परेका छैनन् ।

गिरोहका मुख्य नाइके चिनियाँ नागरिक ६६ वर्षीय टासी दावा भनिने आगर लामा र गेङ राउ भएको प्रहरीको भनाइ छ । आगरका भाइबुहारी ल्हासामा रहेको र उनीहरूले नै नेपालमा सुन तस्करी गराउँदै आएको प्रहरी स्रोत बताउँछ ।

दोलखाको बिगु गाउँपालिका– १ का ५५ वर्षीय नुर्बुछिरिङ शेर्पा र सुनमाला तामाङले पनि सघाएका थिए । तस्करीको सुन किन्ने काठमाडौंका सुन पसले दीपेन्द्र शाक्य र तिलक विक पनि पक्राउ परिसकेका छन् । त्यस्तै, क्रिप्टो कारोबार तथा सुन बिक्रीमा संलग्न महिला माझी र सनत प्रधानको संलग्नता खुलेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

चिनियाँलाई सघाउने लालबहादुर तामाङ, पेम्बा तामाङ, च्यांबा भनिने चसमान तामाङ, केशर तामाङ, माधव मगर, चेतनाथ न्यौपाने पनि प्रहरी हिरासतमा छन् । पक्राउ परेकामध्ये एक किशोर भने नाबालक भएकाले तारेखमा छुटेका छन् । आलुको बोरामा लुकाएर सुन तस्करी गर्ने क्रममा बोरा नै चोरी भएपछि प्रहरीले तस्करीको सूचना पाएपछि सुन बरामद गरेको थियो । सो समूहले क्रिप्टोमार्फत हङकङमा सुनको रकम भुक्तानी गर्दै आएको थियो । हङकङबाट सो रकम ल्हासा पुग्ने गरेको थियो । नयाँ पत्रीका

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x