३१ भाद्र २०८३, बुधबार

नेपालका पुजारी गौतमले गराउँदै अयोध्याको श्रीराम मन्दिरको प्राण प्रतिष्ठा

एसीपी संवाददाता

२२ पुष २०८०, आईतवार १२:२१ मा प्रकाशित

काठमाडौँ । भारतको अयोध्याको श्रीराम मन्दिरको प्राण प्रतिष्ठा नेपालका पूजारीले गराउने भएका छन् । राम जन्मभूमि तीर्थ क्षेत्रले गरेको निमन्त्रणा अनुसार नेपालका पुजारी दुर्गाप्रसाद गौतमले सो प्राण प्रतिष्ठा गर्ने भएका हुन् ।

अयोध्यामा श्रीराम जन्मभूमि मन्दिरमा हुने भगवान रामको मूर्ति प्राण प्रतिष्ठा समारोहको वैदिक रीति रिवाज अनुसार विशेष पूजा यही १७ जनवरीदेखि प्रारम्भ हुँदैछ । २२ जनवरीमा प्राण प्रतिष्ठा हुँदैछ ।

यस प्राण प्रतिष्ठाको लागि गरिने विशेष पूजाको निम्ति नेपालबाट एक जना विशेष पूजारीको रुपमा गौतमलाई आमन्त्रित गरिएको हो । श्रीराम जन्मभूमि मन्दिरको शिलान्यासको बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई वैदिक मन्त्रोच्चारसहित शिलान्यास गराउने नेपाली मूलका पूजारी आचार्य गौतमलाई विशेष पूजाको लागि निम्तो गरिएको छ।

श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका महामन्त्री चम्पत रायले दुर्गाप्रसाद गौतमलाई १६ जनवरी देखि २२ जनवरीसम्म अयोध्याको नवनिर्मित मन्दिरमा हुन गइरहेको प्राण प्रतिष्ठाको विशेष पूजामा सहभागी हुन आग्रहसहित निमन्त्रणा पत्र पठाएका हुन् ।

झापा जिल्लाको मेची नगरपालिकाका निवासी आचार्य गौतमले आफूलाई प्राण प्रतिष्ठाको पूजा गराउन निम्तो पाउनु गौरवको विषय भएको प्रतिक्रिया दिएका छन्। उनले प्रधानमन्त्री मोदीलाई ५ अगस्त २०१९ मा शिलान्यास गराएको सौभाग्य प्राप्त भएको बताउँदै सोही मन्दिरको निर्माण पछि मूर्ति प्राण प्रतिष्ठामा पनि निम्तो पाउनु पूरै देशकै लागि गौरवको विषय भएको बताए ।

गौतमले नै अहिलेसम्मका सबै मुख्य कार्य गर्दै आएको बताइएको छ । यो पत्र केवल औपचारिकता भए पनि उनकै दिशानिर्देशमा सन् २०२० को १८ अप्रिलमा राज जन्मभूमि अयोध्यामा नित्य हवन तथा पूजन भएको थियो । साथै उनकै नेतृत्वमा मन्दिरको शिखर निर्माण चलिरहेको छ ।

अयोध्याको यस प्राण प्रतिष्ठा समारोहमा सहभागी हुन नेपालका विभिन्न सम्मानित सन्त तथा धार्मिक संगठनका प्रमुखहरूलाई निम्तो आएको छ।

विश्व हिन्दू परिषद नेपालका महासचिव जितेन्द्र सिंहले नेपालबाट झण्डै ३०–३५ साधु संतहरूलाई अयोध्याबाट प्राण प्रतिष्ठामा समारोहमा निम्तो आएको जानकारी दिए । हाम्राकुरा बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x