नगर प्रमुख सुरेश साह सोनारले एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण नगरवासीमा राम भगवान्को प्राण प्रतिष्ठाका दिन खुसियाली मनाउन आग्रह गरेका छन्। उनले हामी सम्पूर्ण व्यक्तिलाई माता जानकीको नगरवासी (मिथिलावासी) रहेको संज्ञा दिँदै हाम्रा लागि भगवान् रामको मन्दिरमा प्राण प्रतिष्ठाका दिन गौरव र सम्मानको दिन भएकाले सो दिनमा दीपावली मनाउनुका साथै खुसी साटासाट गर्न आग्रह गरेका छन्।
साथै जलेश्वर नगरपालिकाद्वारा आउँदो सोमबार जलेश्वर नगरपालिका क्षेत्रभित्र माछा, मासु र मदिराको सेवन तथा बिक्री वितरणमा रोक लगाइएको विज्ञप्तिमा उल्लेख छ।
सोही दिन जलेश्वरका युवाले पनि भगवान् रामचन्द्रको प्राण प्रतिष्ठाको दिनलाई स्मरणीय बनाउन सो दिनमा जलेश्वर नगरभरि रामचन्द्र र माता सीताको झाँकी निकाल्ने, रामनाम जापसहितको बाजागाजा र लावा लस्कर निकालेर नगर परिक्रमा गर्ने, जलेश्वरनाथ महादेवपरिसरमा दीप प्रज्ज्वलन गर्ने, जलेश्वर नगरपालिका- १ स्थित वरुण सरोवरमा साँझपख गङ्गा आरती गर्ने, राति नगरभरि दीपावली गर्न लगाउनेलगायतका कार्यक्रम राखेको जलेश्वर उद्योग वाणिज्य सङ्घका महासचिव शिवचन्द्र चौधरीले बताए। –रासस


