१ आश्विन २०८३, बिहीबार

संवैधानिक राजतन्त्रको वकालत गर्ने अनि ख्याती कमाएकी मनिषा कोइराला ‘कांग्रेस राजनीति’मा

एसीपी संवाददाता

११ श्रावण २०८१, शुक्रबार २०:४० मा प्रकाशित

पछिल्लो समय भ्रष्टाचारविरोधी विषयमा नेपालका विभिन्न मञ्चमा भाषण समेत गरेकी मनिषा केही महिनाअघि पूर्वयुवराज्ञी हिमानी राज्यलक्ष्मी शाहको अन्तरवार्ताका कारण चर्चामा थिइन्।

यसबाहेक दक्षिण भारतीय फिल्म र बलिउडको वेभ सिरिजको अभिनयका कारण पनि उनको चर्चा चुलिएको थियो।

अहिले भने नेपाली कांग्रेसको १५औं महाधिवेशनको सरगर्मी र चर्चाबीच उनी कांग्रेस राजनीतिमा छिर्न सक्ने बताइन्छ। तर, मनिषा संवैधानिक राजतन्त्रको वकालत गर्नेमा पर्छिन्।

उनले एक समय भनेकी थिइन्,‘वीपी बुवाले राजा र मेरो घाँटी जोडिएको छ भन्नुको अर्थ नै राजा देशका लागि अपरिहार्य हुनुपर्छ, राजा भए देश रहन्छ भन्ने सन्देश दिनुभएको थियो। तर, अहिले स्थिति त्यस्तो छैन।’

उनका भाई सिद्धार्थ कोइराला पनि पछिल्लो पुस्तामा कांग्रेस राजनीतिमा सक्रिय हुन खोजेका थिए। सिद्धार्थ नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय हुन खोजे पनि त्यति गहिरोगरी चर्चा हुन सकेन।

बाबु प्रकाश कोइराला भने राजतन्त्रको वकालत गर्नेमा पर्छन्। प्रकाशले राजा ज्ञानेन्द्रको शासनकालमा घोषित चुनावमा सहभागीता जनाउँदा मनिषा प्रचारका लागि बलिउडको व्यस्तता त्यागेर पनि आएकी थिइन्।

गत निर्वाचनमा मनिषा कोइराला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को चुनावी सभामा भाषण गर्न पुगेकी थिइन्। त्यसैले पनि उनी संवैधानिक राजतन्त्रको पक्षधर रहेको मानिन्छ।

himani-manisha-1706850203.jpg
अब भने कोइराला कांग्रेसको राजनीतिमा सक्रिय हुन सक्ने आँकलन, संकेत र अनुमान स्वभाविक छन्। किनभने यसबारेमा उनको दिदी पर्ने सुजाता कोइरालाले पनि केही खुलाएकी छन्।

शेखर कोइरालालाई सभापति बनाउनका लागि परिवारका सबै सदस्यको सहयोग रहेको स्थिति बनेको उल्लेख गरेकी सुजाताले प्रकाश र मनिषा कोइरालाको पनि समर्थन रहेको खुलासा गरेकी छन्। उनको यो खुलासाले फिल्मी अभिनयको उत्तरार्धतिर लागेकी मनिषा कांग्रेसको सक्रिय राजनीतिमा आउने सम्भावनाको संकेत गरेको छ।

महाधिवेशनका समयसम्म मनिषालाई मनोनित प्रतिनिधिका रुपमा लगेर केन्द्रीय सदस्यमा उठाउन सक्नेगरीका तयारी पनि कोइराला परिवारले गर्नेछ।
मनिषाको लोकप्रियताको कसीमा शेखर कोइराला आगामी सभापतिको उम्मेदवारीसहित मैदानमा प्रचारबाजीमा उत्रिने पनि अनुमान गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x