नेपाल भारत सिमा बिवादमा बिचार साटा साट
नेपाल तथा भारतका परराष्ट्र सचिवबीच द्विदेशीय सीमासम्बन्धी विषयमा छलफल सुरु भएको बताउँदै काठमाडौंस्थित भारतीय दूतावासले ‘बाँकी खण्डमा सीमासम्बन्धी कार्यहरु सम्पन्न गर्नेबारे आफ्ना विचारहरु साटासाट गरेको’ जनाएको छ ।
परराष्ट्र सचिव भरतराज पौड्यालको निम्तोमा नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगंलाले आफ्ना औपचारिक र शिष्टाचार भेटवार्ताहरु बिहीबारै टुंग्याएका छन् । भ्रमणबारे दूतावासले जारी गरेको विज्ञप्तिमा दुवै देशका परराष्ट्र सचिवले ‘उच्चस्तरीय द्विपक्षीय सम्बन्धमा नयाँ गतिलाई कायम राख्न र दुवै देशहरुबीच परम्परागत रुपमा रहीआएको घनिष्ठ, मैत्रीपूर्ण र बहुपक्षीय साझेदारीलाई अझ मजबुत बनाउन सहमति जुटेको’ जनाइएको छ ।
विदेश सचिव श्रृंगलाले सिंहदरबारमा भएको शिष्टाचार भेटका क्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई भारतीय विदेशमन्त्री डा. एस जयशंकरले संयुक्त आयोगको अर्को बैठकमा सहभागी हुन पठाएको निमन्त्रणा दिएकोबारे पनि विज्ञप्तिमा उल्लेख छ । गत वर्ष भदौ ४ मा परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठक बसेयता द्विदेशीय सीमा विवादलगायतका कारण ‘संवादहीनता’को स्थिति रहँदै आएको थियो । नयाँ राजनीतिक नक्सा र सिमांकनको आ–आफ्नै अडानका कारण एक वर्षयता दुवै मुलुकबीच कुटनीतिक तथा राजनीतिक ‘संवादहीनता’ स्थिति रहीआएको थियो ।
‘परराष्ट्र मन्त्री ज्ञवाली तथा सचिव पौड्यालसँगको भेटवार्तामा विदेश सचिव श्रृंगलाले द्विपक्षीय सम्पर्कलाई गति प्रदान गर्न, जनता–जनताबीचको सम्बन्धलाई मजबुत बनाउन, सारभूत एवम् रणनैतिक द्विपक्षीय पहल र आपसी हितका विषयहरुको ठोस प्रगतिका लागि दुवै पक्षबीच सहमति आवश्यक रहेको कुरामा जोड दिनुभयो,’ विज्ञप्तिमा उल्लेख छ । सचिव श्रृंगलाको भ्रमण तथा भेटवार्ताबारे बिहीबार अबेर परराष्ट्र मन्त्रालयले सिंहदरबारबाट जारी गरेको विज्ञप्तिमा भने द्विदेशीय सीमा समस्यामा भएको छलफलबारे कुनै सूचना उल्लेख गरिएको छैन ।
राजनीतिक उच्चस्तरीय भ्रमण जरुरी : देउवा
विदेश सचिव श्रृंगलाले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग पनि बिहीबार साँझ भेटवार्ता गरेका छन् । बूढानीलकण्ठस्थित देउवा निवासमा भएको भेटवार्तामा नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, डा.दिनेश भट्टराईसमेतको उपस्थिति थियो ।
‘दुइ देशबीच थाती रहेका सबै प्रकारका समस्याको सम्बोधन गर्न र सम्बन्धमा सहजीकरण निम्त्याउन द्विदेशीय उच्चस्तरीय भ्रमणको जरुरी देखिएको छ,’ सभापति देउवाले विदेश सचिव श्रृंगलासमक्ष भने, ‘उच्चस्तरमा यस्ता भ्रमण र एजेन्डामा सहमति जुटेपछि कार्यान्वयन सहज भएर जान्छ, विगतमा भएका अभ्यासले यस्तै देखाएको छ ।’
भेटवार्तामा सहभागी डा.दिनेश भट्टराईका अनुसार, सभापति देउवाले भारतसँगका कतिपय ठूला परियोजना सञ्चालनमा सहमति जुटेपनि कार्यान्वयनमा कठिनाइ हुने गरेको सन्दर्भसमेत उठाएका थिए । पञ्चेश्वर परियोजनामा भइरहेको ढिलाइ तथा कोसी उच्च बाँधको योजनाबारेमा देउवाले सरोकार राखेका थिए । ईकान्तिपुर बाट


