४ असार २०८३, बिहीबार

युगल किशोर शुक्ला अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कारद्वारा नेपालका अन्सारी भारतकाे जयपुरमा पुरस्कृत

एसीपी संवाददाता

१३ बैशाख २०८२, शनिबार १७:४७ मा प्रकाशित

जयपुर, राजस्थान (भारत) : “दक्षिण एशियाली देशहरूमा शान्ति र सहयोगमा पत्रकारहरूको भूमिका” विषयक भारतकाे जयपुर राजस्थानमा आयाेजित दुई दिवसीय कार्यक्रम (बैशाख १२ र १३ गते) मा सार्क पत्रकार मञ्च भारत च्याप्टरद्वारा दाेस्राे युगल किशोर शुक्ला पत्रकारिता पुरस्कारबाट दुई नेपाली सहित ९ जना पत्रकार पुरस्कृत भएका छन् ।

ऐपेक्स विश्वविद्यालय सिप्रापथ मानसराेवर जयपुर राजस्थानमा आयोजित कार्यक्रममा सार्क जर्नलिस्ट फोरम इन्डिया च्याप्टरले ऐतिहासिक ‘दाेस्राे युगल किशोर शुक्ला अन्तर्राष्ट्रिय पत्रकार पुरस्कार–२०२५’ बाट दक्षिण एसियाका विभिन्न देशका पत्रकारहरुलाई सम्मान गरेको हो ।

सो पुरस्कारबाट सम्मानित हुनेहरुमा नेपालबाट सार्क पत्रकार मञ्च नेपाल च्याप्टरको सम्मेलन तयारी समितिका उप-संयोजक माेहम्मद आरिफ अन्सारी रहेका छन् । अन्सारी भेरी एफएम नेपालगञ्जका स्टेसन प्रमुख तथा नेपाल प्रेस इन्ष्टिच्यूट, क्षेत्रीय सञ्चार स्राेत केन्द्र नेपालगञ्जका प्रमुख हुन ।

यो अवार्ड भारतका प्रथम पत्रकार युगल किशोर शुक्लाको नामबाट स्थापित गरी प्रदान गरिएको हो । कानपुरका पण्डित युगल किशाेरले ३० मई १८२६ मा कलकत्ताबाट पहिलाे हिन्दी पत्रिका “उदन्त मार्तण्ड”काे शुरुवात गरेका थिए । युगल किशोर शुक्ला भारतको पहिलो हिन्दी पत्रिका ‘उदन्त मार्तण्ड’ को पहिलो सम्पादक हुन । उनको नाममा सार्क पत्रकार मञ्च भारत च्याप्टरले सो पुरस्कार स्थापना गरेको भारत च्याप्टरका अध्यक्ष प्राे.डा. अनिरुद्ध सुधांशुले जानकारी दिए ।

ऐपेक्स विश्वविद्यालयका कुलपति डा. रवि जुनिवालकाे अध्यक्षता तथा सार्क पत्रकार मञ्चका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामाकाे प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा ऐपेक्स विश्वविद्यालयका प्राे कुलपति डा. खेमराज चाैधरी, उपकुलपति प्राे डा. साेमदेव सातन्सु, पूर्व प्रमुख प्राे.डा. सञ्जिव भनावट, गाैतम बुद्ध विश्वविधालय नाेयडाका डीन प्राे. डा. बन्दना पाण्डे, सार्क पत्रकार मञ्च भारत च्याप्टरका अध्यक्ष प्राे.डा. अनिरुद्र सुधान्सु, सार्क पत्रकार मञ्च कार्यसमिति सदस्य प्राे.डा. स्मिता मिश्रा, सार्क पत्रकार मञ्च श्रीलंका च्याप्टरका अध्यक्ष राहुल सामन्था, सार्क पत्रकार मञ्च तेलंगना च्याप्टरका माेहम्मद युसुफुद्दीन, महराष्ट्रका अनिल साम्बले, एयर कमाण्डर डी.एस. सेखावत, प्राे.डा. ओपी चंगानी, प्राे. डा. राकेश प्रेमी, डा. वसना चंगानी, डा. गरिमा श्रीवास्तवकाे विशेष उपस्थिति रहेकाे थियाे । 

सार्क जर्नालिष्ट फोरम ईण्डिया च्याप्टरका अध्यक्ष सुधांशुले दुई दशकभन्दा लामो समयदेखि अन्तर्राष्ट्रिय पत्रकारितामा योगदान पुर्याएबापत इलेक्ट्रोनिक र प्रिन्ट मिडिया गरि सम्मानित गरिएकाे हाे।

इलेक्ट्रोनिक मिडियातर्फ नेपालबाट माेहम्मद आरिफ अन्सारी, भेरी एफएम, श्रीलंकाबाट राहुल सामन्था र प्रिन्टबाट दिपेन्द्र प्रजापति रहेका छन् । पत्रकारिता शिक्षण क्षेत्रतर्फ प्राे सजीव भानावत, प्राे बन्दना पाण्डे, डाक्टर गरिमा रहेका छन । यसैगरी भाषागत पत्रकारिताकाे तर्फबाट उर्दु भाषाका लागि तेलंगनाका सैय्यद आरिफ, अंग्रजीतर्फ माेहम्मद युसुफुद्दीन कादरी र क्षेत्रीय भाषातर्फ जयपुरका शेख रईस अहमदलाई सम्मान गरिएकाे छ ।

यसैगरी सार्क पत्रकार मञ्च इण्डिया च्याप्टरले पत्रकारितामा योगदान पुर्याएको भन्दै सार्क पत्रकार मञ्चका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामा, नेपालका पत्रकार रुद्र सुवेदी,अजमत अली सिद्दिकी, रमेशचन्द्र कुमाल, मुकेश चाैधरी र नवीन नेपालीलाई पुरस्कारबाट सम्मान गरेको छ ।

उक्त सम्मेलनमा नेपाल, भारत, बंगलादेश, श्रीलंका लगायत दक्षिण एशियाली राष्ट्रका ४० पत्रकार र १ सय २० अनुसन्धानकर्ता, शान्ति अभियन्ता, पत्रकारिताका विधार्थीहरुकाे सहभागिता रहेकाे थियाे ।

कार्यक्रममा विश्वमा शान्ति स्थापना, क्षेत्रीय सहकार्य र पत्रकारिताकाे उत्तरदायित्व विषयमा १ सय २० वटा कार्य प्रस्तुत भएकाे थियाे साथै उक्त कार्यपत्रमा बहस, विचार विमर्श र अनुभव आदान प्रदान गरिएकाे थियाे । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x