२३ असार २०८३, मंगलवार

नेपालगञ्जमा एलजीबीटीआईक्यू+ विषयमा पत्रकार अभिमुखीकरण सम्पन्न ।

एसीपी संवाददाता

२३ असार २०८३, मंगलवार २०:०४ मा प्रकाशित

आरिफ अन्सारी , नेपालगञ्ज. ।

यौनिक तथा लैंगिक अल्पसंख्यक (एलजीबीटीआईक्यू+) समुदायसम्बन्धी नैतिक, समावेशी तथा मानवअधिकारमा आधारित पत्रकारिताबारे पत्रकार तथा सञ्चारमाध्यमका प्रतिनिधिलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको महासंघ नेपाल (एफएसजीएमएन) को आयोजनामा तथा युरोपियन युनियन र डीसीए नेपालको सहयोगमा सञ्चालन भएको ‘प्राइड प्रोजेक्ट’ अन्तर्गत उक्त कार्यक्रम नेपालगञ्जमा सम्पन्न भएको हो।
कार्यक्रममा एलजीबीटीआईक्यू+ समुदायका विषयमा समाचार सम्प्रेषण गर्दा सम्मानजनक भाषा प्रयोग गर्नुपर्ने, व्यक्तिको सहमति बिना पहिचान सार्वजनिक गर्न नहुने तथा भेदभाव, हिंसा र पूर्वाग्रहलाई बढावा नदिने गरी जिम्मेवारौत्र ौत्रपघत्रकारिता गर्नुपर्ने विषयमा प्रस्तुति तथा छलफल गरिएको थियो।

यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको महासंघ नेपालका ‘प्राइड प्रोजेक्ट’ अफिसर मनिला न्यौपाने, ट्रान्स महिला सिम्रन शेरचन तथा पश्चिम तारा नेपाल नेपालगञ्जकी प्रमुख एवं यौनिक तथा लैंगिक अल्पसंख्यक अधिकारकर्मी परिना चौधरीले विषयगत प्रस्तुति दिनुभएको थियो।

सहभागी पत्रकार तथा सञ्चारकर्मीलाई समुदायका अधिकार, समावेशी रिपोर्टिङ, ‘डु नो हार्म’ सिद्धान्त तथा समाचार लेखनका क्रममा अपनाउनुपर्ने सावधानीबारे जानकारी गराइएको थियो। समाचार तयार गर्दा व्यक्तिको यौनिक तथा लैंगिक पहिचानलाई अनावश्यक रूपमा मुख्य विषय नबनाई उनीहरूको अधिकार, सेवा–सुविधामा पहुँच, कानुनी अवस्था, चुनौती तथा उपलब्धिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइयो।

अभिमुखीकरणमा समाचार लेख्दा सम्बन्धित व्यक्तिको स्पष्ट सहमति लिएर मात्र नाम, तस्बिर, भिडियो वा पहिचान खुल्ने विवरण प्रयोग गर्नुपर्ने बताइएको थियो। व्यक्तिको सहमति बिना पहिचान सार्वजनिक गर्दा उसको व्यक्तिगत सुरक्षा, पारिवारिक सम्बन्ध तथा सामाजिक जीवनमा असर पर्न सक्ने भएकाले गोपनियताको सम्मान गर्नुपर्ने विषयमा पनि जोड दिइएको थियो।

कार्यक्रमले समाजमा सम्मान, समानता र मानवअधिकारको प्रवर्द्धनमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको औँल्याएको थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x