२ श्रावण २०८३, शनिबार

फत्तेह सिंह काँग्रेस नेतृत्वसंगको अनबनका कारण पञ्चायतमा लागेका थिए

सन्तोष रेग्मी

२ श्रावण २०८३, शनिबार १९:५० मा प्रकाशित<

मूलतः फत्तेसिंह थारु प्रजातान्त्रिक विचार राख्दथे तर पारिवारिक परम्परा, सामाजिक अवस्था, तत्कालीन स्थानीय काँग्रेस नेतृत्वसंगको अनबन लगायत थुप्रै कारण थियो होला जसले उनी पञ्चायतमा लागेका थिए ।

२, पञ्चायतमै लाग्दा पनि उनी विद्रोहीजस्तै थिए । बाँकेको पञ्चायती संस्थापन चेतबहादुर थापा र उनको समूहसंग फत्तेसिंहको सुमधूर सम्वन्ध बन्नै सकेन । उनले सो समूहसंग लामो समय आन्तरिक प्रतिस्पर्धा गरे । जसले गर्दा अञ्चलाधीश नवराज गुरुङ्ग पनि फत्तेसिंहको विपक्षमै भए । इतर समूहको सदस्य हुँदै नेताका रुपमा स्थापित हुँदै गर्दा अञ्चलाधीश गुरुङ्ग पनि फत्तेसिंहको अवरोधकका रुपमा ‘चलखेल’मा सक्रिय भए । पञ्चायती निर्वाचनमा चेतबहादुर थापाविरुद्ध जीत हासिल गरेपछि हौसिएका फत्तेसिंहले अञ्चलाधीश गुरुङ्गलाई युगाण्डाका तत्कालीन शासक इदि अमिनसंग तुलना गर्दै ‘ अब जनताको छोराले चुनाव जितेको छु, इदि अमिनलाई ठिक पार्छु’ भने । साह्रै बाठा अञ्चलाधीश गुरुङ्गले आफूमाथि फत्तेसिंहको आक्रोशलाई दरबारतिर केन्द्रित गर्दै राजालाई इदिअमिन भन्यो भनेर राजअपहेलनाको मुद्धा लगाइदिए । निकै र धेरैतिरको प्रयत्नपछि मात्र दरबार फत्तेसिंहलाई ‘विश्वास गर्ने’ अवस्थामा पुग्यो । र त्यसपछिमात्र उनले सहायक, राज्य हुँदै फूलमन्त्रीको यात्रा तय गरे ।

३, पञ्चायतका बेला लोकप्रिय थारु प्रजातन्त्र स्थापनाका क्रममा विवादमा तानिए । आफ्नै टोल, घरबारीटोलमा उनीमाथि जुत्ताको माला लगाउने तथा ढलमा चोपल्नेजस्ता क्रियाकलाप भए । त्यसबाट अपमानित महसुस गरेका उनले ‘बहुदलमा पनि जनअनुमोदित भएर तिनै मानिसहरुबाट फूलको माला र अबिर जात्रा गराउँछु’ भने । २०५१ को मध्यावधि निर्वाचनमा बाँकेको क्षेत्र नम्बर ३ बाट निर्वाचित भै त्यो अपमानको घाउ मेट्न सफल भए । लगत्तै मन्त्री भए ।

४, कृषि, शिक्षा, भूमिसुधार, रक्षासहित ७ पटक मन्त्री भए । बाँकेमा सक्दो काम गरे । शिक्षा क्षेत्रमा उनको योगदान सबैभन्दा बढी रह्यो । कतिसम्म भने उनी शिक्षामन्त्री हुँदा बाँकेमा निकै धेरै विद्यालय खोलिए । अन्य जिल्लाको कोटा पनि सकेसम्म बाँकेमै राखे । स साना बस्तीमा पनि विद्यालयको अनुमति, शिक्षक र भवनको व्यवस्था गरे । ‘बाँकेमा ८–१० जना विद्यार्थी जुट्ने ठाउँ हुनुपर्छ त्यहाँ २ जना शिक्षकको दरवन्दीसहित विद्यालय स्थापना हुन्छ’ त्यसबेला शिक्षा मन्त्रालयका कुना कुनामा त्यसखाले चर्चा हुने गरेको सम्वद्धहरु बताउँछन् । नेपालगञ्जमा सीमित विद्यालयको सुविधा गाउँगाउँसम्म पुग्यो । जनता मावि सन्तकुटी, शंकर मावि थपुवा, ज्ञानोदय मावि खजुरा, जनकल्याण मावि बद्रीपुर, सिद्वेश्र मावि सिधनवा लगायत दर्जनौं विद्यालयको सञ्चालन, स्तरोन्नति, भवन र शिक्षक उनै मन्त्री हुँदा व्यवस्था गरिएका हुन । जनता मावि सन्तकुटीको त विद्यालय खारेजी प्रक्रिया नै उल्ट्याएर उनले आवश्यक सबै व्यवस्था गरिदिएका हुन । विष्णुमान श्रेष्ठको प्रधानाध्यापकत्वमा रहेको जनता मावि सन्तकुटी पछि यस्तो विद्यालय बन्यो जसले कुनै बेला बाँकेको समग्र शिक्षाको भारी लामो समय बोक्यो । विद्यालय भन्नेबित्तिकै जनता मावि र प्रधानाध्यापक भन्नेबित्तिकै विषणुमान श्रेष्ठ एक समयको बाँकेको सत्य हो ।

५, अन्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दा पनि उनले सक्दो काम गरे । सधैंजसो प्रधानमन्त्रीहरुले सम्हाल्ने रक्षा मन्त्रालय सम्हाल्ने थारु नेताको दुर्लभ भूमिका फत्तेसिंहले पाए ।

६, प्रेमबहादुर भण्डारी, हरदेववक्स चौधरी, ठाकुरसिंह थारु, त्रिलोकबहादुर सिंह, रामलाल तमोली, पाराश्वर पौडेल आदि फत्तेसिंहका शुभाकाँक्षी, सहकर्मी र सहयोगीका रुपमा रहे ।
७, फत्तेसिंह थारुमा निर्वाचन लडिरहने लत पनि थियो । उनी हारे पनि जिते पनि सक्दासम्म चुनावमा लडिरहे ।
८, लामो समय शक्ति र सत्तामा रहँदा पनि आफ्नो गाउँमा पक्की बाटो नबनाएको, विकासका पूर्वाधार नपुर्याएको जस्तो आरोपले भने उनलाई गिज्याइरह्यो । अहिले पनि उनका प्रतिस्पर्धीले ‘फत्तेसिंहले आफ्नै गाउँ त बनाएन के गर्यो र ?’ भन्छन् । जीवनको उत्तरार्धसम्म पनि उनलाई त्यो कुराको प्रतिकार गर्न गाह्रो परिरहेको थियो ।
९, उनी आफ्नो राजनीतिक सिद्धान्त र आस्थामा सधैं प्रतिवद्ध रहे । भलै पछिल्ला दिनमा राप्रपासहित राजावादीका भूमिका उनलाई ‘सतही, कामचलाउ र निरशाजनक’ जस्तो लागेको बताउँथे ।

उनको देह स्थानीय राप्तीघाटमा जल्दै गर्दा मनमा उनीबारेका थुप्रै कुरा खेलिरहे । उनीसंग थुप्रै पटक भेट भयो । हरेक भेटमा सञ्चार माध्यमका लागि लामो कुरा गर्ने इच्छा जाहेर गरेँ । उनी अनौपचारिक कुरा गर्न सहज तयार भए पनि औपचारिक कुराकानीका लागि मसंग तयार भएनन् । २०५८, ०५९ मा टुडे नेपाल, नेपालगञ्ज एक्सप्रेस, पछि कालपृष्ठ र त्यसपछि रेडियो नेपालक लागि कुरा गर्ने मेरो प्रस्ताव उनले हाँसेरै टारिदिए ।
अब त्यो अधूरै रह्यो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x