नेपालगञ्जमा ३५.९०० ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
नेपालगञ्ज, ३ असोज — लागु औषध नियन्त्रण ब्युरोको शाखा कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ३ बाट ठूलो मात्रामा लागु औषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।
लागु औषध नियन्त्रण ब्युरो कोटेश्वर, काठमाडौँ (प्रशासन शाखा) द्वारा जारी प्रेस विज्ञप्तिअनुसार प्रहरी टोलीले विशेष सूचनाको आधारमा छापा मार्दा ३५ ग्राम ९०० मिलिग्राम खैरो हेरोइन फेला पारेको हो।
पक्राउ पर्नेमा जिल्ला बाँके नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ३ बस्ने ३२ वर्षीय मोहम्मद हसीन अन्सारी र सोही ठेगाना भएका २५ वर्षीय समीर अहमद अन्सारी रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट लागु औषध खैरो हेरोइन ३५.९०० ग्रामका साथै नगद रु. ७३,७००।-, ५ थान मोबाइल र १ थान डिजिटल तराजुसमेत बरामद गरेको छ।
पक्राउ परेका दुवै जनालाई लागु औषधसहित आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको लागु औषध नियन्त्रण ब्युरोले जनाएको छ।



