नेपाल प्रेस युनियन बाँकेका पदाधिकारीलाई कांग्रेस बाँकेको सम्मान
नेपालगन्ज । नेपाली कांग्रेस बाँकेले नेपाल प्रेस युनियन बाँकेको नवनिर्वाचित जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई स्वागत तथा सम्मान गरेको छ।
नेपाली कांग्रेस बाँकेको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष कमल खत्रीसहित नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गर्नुभएको हो।
गत भदौ ६ गते सम्पन्न अधिवेशनबाट खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको थियो। सम्मान कार्यक्रममा युनियनका जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यसँगै प्रदेश र संघीय पार्षदहरूको समेत सहभागिता रहेको थियो।
कार्यक्रममा कांग्रेस बाँके सभापति गौडेलले नेपाल प्रेस युनियनलगायत पार्टी निकट भ्रातृ तथा शुभेच्छुक संस्थाको सक्रियताले पार्टीलाई जनतामाझ थप स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
उहाँले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालको शुभकामना दिँदै उनीहरूको काम र गतिविधिले कांग्रेसको प्रतिष्ठा र सम्मान बढाउने विश्वास व्यक्त गर्नुभयो।
कांग्रेस बाँकेका सचिव सुधांशु कोइरालाले प्रेस युनियनलगायत शुभेच्छुक संस्थाबाट विभिन्न जिम्मेवारीमा निर्वाचित व्यक्तिहरूले लोकतान्त्रिक मूल्य, विचार र नीतिलाई प्रभावकारी रूपमा अघि बढाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो।
नेपाल प्रेस युनियन बाँकेको नयाँ नेतृत्वले पत्रकारिता क्षेत्रको व्यावसायिकता, प्रेस स्वतन्त्रता र संगठनको सुदृढीकरणमा भूमिका खेल्ने अपेक्षा गरिएको छ।


