७ आश्विन २०८३, बुधबार

मौसम प्रतिकूल भएपछि जसपा नेपालको केन्द्रीय समिति बैठक सर्‍यो

एसीपी संवाददाता

७ आश्विन २०८३, बुधबार २०:२५ मा प्रकाशित

दिनेश ठाकुर नेपालगन्ज , असोज ७ — जनता समाजवादी पार्टी (जसपा), नेपालले पूर्वनिर्धारित केन्द्रीय समितिको बैठकको मिति परिवर्तन गरेको छ। देशका विभिन्न स्थानमा भारी वर्षा, बाढी तथा पहिरोको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको चेतावनीलाई ध्यानमा राख्दै बैठकको मिति सारिएको पार्टीले जनाएको छ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवद्वारा जारी विज्ञप्तिअनुसार यसअघि असोज १३, १४ र १५ गते आयोजना गर्ने तय भएको केन्द्रीय समितिको बैठक अब असोज २१, २२ र २३ गते बस्ने भएको छ।

पार्टीले नेपाल सरकार तथा मौसम पूर्वानुमान महाशाखाबाट प्रतिकूल मौसमको सम्भावनासम्बन्धी सूचना सार्वजनिक भएको र त्यस अवधिमा भारी वर्षा, बाढी तथा पहिरोका कारण सडक तथा यातायातसमेत प्रभावित हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै बैठकको मिति परिवर्तन गरिएको जनाएको छ।

देशका विभिन्न जिल्लाबाट काठमाडौँ आउने केन्द्रीय पदाधिकारी, केन्द्रीय कार्यकारिणी समिति तथा केन्द्रीय समितिका सदस्यहरूलाई सम्भावित मौसमजन्य जोखिमबाट जोगाउँदै बैठकमा सहज सहभागिता सुनिश्चित गर्न मिति परिवर्तन गरिएको विज्ञप्तिमा उल्लेख छ।

परिमार्जित कार्यतालिकाअनुसार बैठक २०८३ साल असोज २१, २२ र २३ गते बिहान ११ बजेदेखि ललितपुरको बालकुमारीस्थित ज्यापु समाज यलमा सञ्चालन हुनेछ।

जसपा नेपालले पार्टीका सम्पूर्ण केन्द्रीय पदाधिकारी, केन्द्रीय कार्यकारिणी समिति तथा केन्द्रीय समितिका सदस्यहरूलाई नयाँ तय गरिएको मिति, समय र स्थानमा अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरेको छ।

बैठकमा पार्टीको सांगठनिक अवस्था, आगामी कार्यदिशा तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ। जसपा नेपालकी केन्द्रिय कार्यकारिणी समिती सदस्य अम्बिका काफ्लेले जानकारी दिनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x