करियर परामर्शमार्फत १०० युवा उद्यमशीलतातर्फ प्रेरित बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियाका मधुवन र ठाकुरबाबामा कार्यक्रम सम्पन्न, बजारमुखी व्यवसाय र आर्थिक आत्मनिर्भरतामा जोड
बर्दिया, कात्तिक १५ — बाँके युनेस्को क्लब (बीयूसी) ले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरिरहेको युवा सशक्तीकरण तथा रूपान्तरणका लागि नवप्रवर्तन (YETI-II) परियोजनाअन्तर्गत बर्दियाका दुई नगरपालिकाका १०० युवालाई करियर परामर्श तथा व्यवसाय अभिमुखीकरण प्रदान गरेको छ।
मधुवन र ठाकुरबाबा नगरपालिकामा सञ्चालित एकदिने अभिमुखीकरण कार्यक्रमले युवालाई स्थानीय बजारको मागअनुसार व्यवसाय छनोट गर्न, सम्भावित आयआर्जनका क्षेत्र पहिचान गर्न तथा स्वरोजगार र आर्थिक आत्मनिर्भरताको दिशामा अघि बढ्न प्रेरित गरेको आयोजकले जनाएको छ
चारवटा छुट्टाछुट्टै सत्रमा सञ्चालन गरिएको कार्यक्रममा प्रत्येक सत्रमा २५ जनाका दरले कुल १०० युवाको सहभागिता रहेको थियो। सहभागीहरू मधुवन नगरपालिका वडा नम्बर १ र २ तथा ठाकुरबाबा नगरपालिका वडा नम्बर ३, ४ र ५ का युवा थिए।
कार्यक्रमको सहजीकरण विनय दिल लामाले गर्नुभएको थियो।
कार्यक्रममा YETI-II परियोजनाका संयोजक राधेकृष्ण थारुले परियोजनाका उद्देश्य, कार्यपद्धति तथा युवा उद्यमशीलता, रोजगारीका अवसर र आर्थिक आत्मनिर्भरता प्रवर्द्धनमा करियर परामर्शको महत्त्वबारे जानकारी गराउनुभएको थियो।त्यसैगरी, परियोजनाका फिल्ड अफिसर सृजना थारु र सुनिता चौधरीले कार्यक्रमको व्यवस्थापन, समन्वय तथा सहजीकरणमा भूमिका निर्वाह गर्नुभएको थियो।
बजारको मागअनुसार व्यवसाय छनोट गर्न जोड
सहभागितामूलक कार्यक्रम दृश्याङ्कन विधि (VIPP) मार्फत सञ्चालन गरिएको अभिमुखीकरणमा मेटाकार्ड अभ्यास, अन्तरक्रियात्मक छलफल तथा समूहगत क्रियाकलाप समावेश गरिएको थियो। सहभागीलाई स्थानीय बजारको माग, उपभोक्ताको रुचि, सम्भावित व्यवसायका अवसर तथा उद्यम सञ्चालनका लागि आवश्यक सीप, स्रोतसाधन र लगानीबारे जानकारी दिइएको थियो।
कार्यक्रममा कृषि, पशुपालन तथा स्थानीय परिवेशअनुकूल उत्पादनमूलक र सेवामूलक व्यवसायका सम्भावनाबारे छलफल गरिएको थियो। युवाले व्यवसाय सुरु गर्नुअघि बजारको सम्भाव्यता मूल्याङ्कन गर्ने, प्रतिस्पर्धाको अवस्था बुझ्ने, सम्भावित जोखिम पहिचान गर्ने तथा आफ्नो रुचि, सीप र लगानी क्षमताअनुसार व्यवसाय छनोट गर्ने विषयमा व्यावहारिक ज्ञान हासिल गरेका थिए।
त्यसैगरी, वातावरणमैत्री व्यावसायिक अभ्यास, जलवायु उत्थानशीलता, स्रोतसाधनको दिगो उपयोग र प्रभावकारी जोखिम व्यवस्थापनलाई पनि प्राथमिकतामा राखिएको थियो। व्यवसायलाई दीर्घकालसम्म टिकाइराख्न उपभोक्ताको आवश्यकता बुझ्ने, बजारसँग सम्बन्ध विस्तार गर्ने, सेवाको गुणस्तर कायम राख्ने तथा प्रभावकारी व्यवस्थापकीय अभ्यास अपनाउने विषयमा समेत छलफल गरिएको थियो।
‘कार्यक्रमले भविष्यको लक्ष्य निर्धारण गर्न सहयोग गर्यो’
कार्यक्रममा सहभागी कल्पना थारुले अभिमुखीकरण उपयोगी, जानकारीमूलक र व्यावहारिक रहेको बताउनुभयो। उहाँका अनुसार आफ्नो रुचि, सीप, उपलब्ध स्रोतसाधन र बजारको सम्भावनाका आधारमा उपयुक्त व्यवसाय पहिचान तथा छनोट गर्ने विषयमा कार्यक्रमबाट महत्त्वपूर्ण ज्ञान प्राप्त भएको छ।
उहाँले कार्यक्रमले आफ्नो भविष्यप्रतिको दृष्टिकोण स्पष्ट बनाउन तथा आर्थिक आत्मनिर्भरता र दिगो आयआर्जनका लागि दीर्घकालीन लक्ष्य निर्धारण गर्न प्रेरणा दिएको बताउनुभयो।
तालिमबाट प्राप्त ज्ञान र मार्गदर्शनले आगामी दिनमा सही व्यावसायिक निर्णय लिन, उद्यमशीलताको यात्रा अघि बढाउन तथा आफू र आफ्नो परिवारको उज्ज्वल भविष्य निर्माण गर्न सहयोग पुग्ने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो।
स्वरोजगार र आर्थिक आत्मनिर्भरतामा योगदान गर्ने अपेक्षा
कार्यक्रमले युवाको बजारमुखी करियर विकल्प, उद्यमशीलता तथा दिगो जीविकोपार्जनका अवसरसम्बन्धी बुझाइ अभिवृद्धि गर्नुका साथै स्वरोजगार र आर्थिक आत्मनिर्भरताप्रति सकारात्मक सोच विकास गर्न सहयोग पुर्याएको आयोजकको अपेक्षा छ।
युवालाई सही ज्ञान, सीप, अवसर र आत्मविश्वास प्रदान गर्न सके उनीहरूले आफ्ना आकाङ्क्षालाई व्यावहारिक उद्यममा रूपान्तरण गर्दै स्थानीय अर्थतन्त्रको विकासमा योगदान दिन सक्ने विश्वास गरिएको छ।समावेशी, सहभागितामूलक र व्यावहारिक विधिबाट सञ्चालन गरिएको उक्त कार्यक्रमलाई YETI-II परियोजनाअन्तर्गत युवा सशक्तीकरण, रोजगारीका सम्भावना खोजी तथा उद्यमशीलता प्रवर्द्धनको महत्त्वपूर्ण प्रयासका रूपमा लिइएको छ।
युवा सशक्तीकरण तथा रूपान्तरणका लागि नवप्रवर्तन (YETI-II) परियोजना प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लबद्वारा कार्यान्वयन भइरहेको छ। परियोजनाले युवालाई आफ्नो क्षमता पहिचान गर्न, व्यावसायिक अवसर खोज्न तथा आत्मनिर्भर र समृद्ध भविष्य निर्माणतर्फ अघि बढ्न सहयोग पुर्याउने लक्ष्य राखेको छ।



