१९ कार्तिक २०८३, बुधबार

मिसन ८४ : नेपालगन्ज–१३ को वडा अध्यक्षमा जकिर अलि राईको चर्चा चुलिँदै विकास, सामाजिक सद्भाव र जनताको अपेक्षा पूरा गर्ने नेतृत्वको खोजी, स्थानीयस्तरमा राईको उम्मेदवारीको माग

एसीपी संवाददाता

१९ कार्तिक २०८३, बुधबार १२:१२ मा प्रकाशित

दिनेश ठाकुर नेपालगन्ज, कात्तिक १८ — आगामी २०८४ सालमा हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा राजनीतिक गतिविधि र चुनावी चर्चा विस्तारै बढ्न थालेको छ। यसैक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नं. १३ को वडा अध्यक्ष पदका लागि स्थानीय समाजसेवी तथा युवा नेता जकिर अलि राईको नाम चर्चामा आउन थालेको छ।

वडाको समग्र विकास, सामाजिक सद्भाव र स्थानीयवासीका अपेक्षा पूरा गर्न सक्ने नेतृत्वको खोजी भइरहेका बेला राईलाई आगामी निर्वाचनमा वडा अध्यक्षको उम्मेदवार बनाउनुपर्ने आवाज स्थानीयस्तरमा उठ्न थालेको हो।वडा नं. १३ का विभिन्न टोल, चोक तथा स्थानीय जमघटमा राईको सम्भावित उम्मेदवारीबारे छलफल हुन थालेको बताइएको छ। सर्वसाधारणदेखि राजनीतिक वृत्तसम्म उनको नामलाई लिएर चासो र बहस बढ्दै गएको देखिन्छ।

लामो समयदेखि नेपालगन्जको सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका राई युवादेखि ज्येष्ठ नागरिकसम्म विभिन्न समुदायसँग निकट सम्बन्ध राख्ने व्यक्तिका रूपमा परिचित छन्। स्थानीयवासीका सुख–दुःखमा साथ दिँदै आएका कारण पनि उनलाई आगामी निर्वाचनका लागि सम्भावित उम्मेदवारका रूपमा हेरिएको छ।

स्थानीयस्तरमा उठिरहेका अपेक्षाअनुसार वडा नं. १३ मा स्वास्थ्य तथा शिक्षा सेवाको सुधार, सडक पूर्वाधारको विकास, युवा स्वरोजगारको प्रवर्द्धन र सामाजिक सद्भावलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता छ। यी विषयलाई प्रभावकारी रूपमा अघि बढाउन सक्ने नेतृत्वका रूपमा राईलाई अघि सार्नुपर्ने मतसमेत व्यक्त हुन थालेको छ।

निर्वाचन आउन अझै समय बाँकी रहे पनि ‘मिसन ८४’ लाई लक्षित गर्दै वडा नं. १३ मा जकिर अलि राईको नाम चर्चामा आउनुले स्थानीय राजनीतिक गतिविधि थप रोचक बन्दै गएको छ। यद्यपि उनको औपचारिक उम्मेदवारी र राजनीतिक दलको निर्णय भने सार्वजनिक हुन बाँकी छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x