भेरी कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा नवआगन्तुक विद्यार्थीलाई भव्य स्वागत
दिनेश ठाकुर नेपालगञ्ज, मसिर१२ गते — नेपालगञ्जस्थित भेरी कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट (BCEM) मा नयाँ भर्ना भएका विद्यार्थीहरूको स्वागतका लागि भव्य ‘वेलकम प्रोग्राम’ सम्पन्न भएको छ।
कलेजका प्रिन्सिपल ई. छिनिड लाल थापा मगरको अध्यक्षतामा कलेजकै सभाहलमा आयोजित कार्यक्रममा कलेज प्रशासनका पदाधिकारी, प्रमुख तथा विशिष्ट अतिथि, प्राध्यापक र विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा नेपालगञ्ज टेक्निकल कलेजकी प्रिन्सिपल ई. रेशमी भट्ट र सोही कलेजका लेखा प्रमुख पंकज पाण्डेयलगायतको विशिष्ट उपस्थिति रहेको थियो।कार्यक्रममा अतिथिहरूलाई खादा तथा कलेजको ब्याज लगाएर सम्मान गरिएको थियो। नवआगन्तुक तथा पुराना विद्यार्थीहरू कलेजको निर्धारित पोसाक र रातो खादा लगाएर उत्साहपूर्वक कार्यक्रममा सहभागी भएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका प्रिन्सिपल ई. छिनिड लाल थापा मगरले नयाँ विद्यार्थीहरूलाई कलेज परिवारमा स्वागत गर्दै शैक्षिक यात्रामा अनुशासन, मेहनत, लगनशीलता र सकारात्मक सोचलाई प्राथमिकता दिन आग्रह गर्नुभयो। उहाँले विद्यार्थीहरूको शैक्षिक तथा व्यावहारिक क्षमता विकासमा कलेजले आवश्यक सहयोग र मार्गदर्शन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसैगरी, कार्यक्रममा उपस्थित अतिथिहरूले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै प्राविधिक तथा व्यवस्थापन शिक्षाले दक्ष जनशक्ति उत्पादन र भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभएको थियो।
कलेजका प्रबन्ध निर्देशक किशोर पाण्डे तथा कलेज प्रशासनका अनुसार कार्यक्रमको मुख्य उद्देश्य नयाँ विद्यार्थीहरूलाई कलेज परिवारसँग परिचित गराउनुका साथै पुराना र नयाँ विद्यार्थीबीच आपसी सद्भाव, आत्मीयता र सहकार्यको भावना विकास गर्नु रहेको थियो।कार्यक्रमले नवआगन्तुक विद्यार्थीहरूलाई कलेजको शैक्षिक वातावरणसँग घुलमिल हुन सहयोग पुग्ने विश्वास कलेज प्रशासनले व्यक्त गरेको छ।



