नेपालगन्जका सबै वडामा ‘घण्टी’ बजाउने रास्वपा बाँकेको लक्ष्य, चुनावी अभियान तीव्र
दिनेश ठाकुर नेपालगन्ज , मसिर १३ गते — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाँकेले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेपालगन्ज उपमहानगरपालिकाका सबै वडामा विजय हासिल गर्ने लक्ष्य सहित चुनावी अभियान तथा प्रचार प्रसारलाई तीव्र बनाएको छ।
‘स्वतन्त्र सोच, समृद्ध नेपाल’ भन्ने मूल नारा सहित रास्वपाले आफ्नो चुनाव चिह्न ‘घण्टी’ मा मतदान गरी नगरमा परिवर्तन ल्याउन मतदाता समक्ष अपिल गरेको छ। पार्टीले सार्वजनिक गरेको प्रचार सामग्री मार्फत नेपालगन्ज उपमहानगरपालिकाका सम्पूर्ण वडामा आफ्ना उम्मेदवारलाई विजयी गराउन मतदातालाई आग्रह गरेको हो। राष्ट्रिय स्वतन्त्र पार्टी बाँकेका युवा नेता टंक धामीले नेपालगन्जको समग्र विकास, सुशासन र जनताको अपेक्षाअनुसारको परिवर्तनका लागि रास्वपा वैकल्पिक राजनीतिक शक्तिका रूपमा अगाडि बढिरहेको बताउनुभयो।
उहाँले भन्नुभयो, “नेपालगन्जलाई विकास, सुशासन, पारदर्शिता र जवाफ देहिताको नमुना सहर बनाउन आवश्यक छ। वर्षौंदेखि दोहोरिँदै आएका राजनीतिक अभ्यासभन्दा फरक सोच, इमानदार नेतृत्व र परिणाममुखी काम आजको आवश्यकता हो। त्यसैले आगामी स्थानीय निर्वाचनमा नेपालगन्जका सबै वडामा घण्टी बजाउँदै परिवर्तनको पक्षमा जनमत सिर्जना गर्ने हाम्रो लक्ष्य छ।”
धामीले युवाको जोश, जनताको विश्वास र परिवर्तनको चाहनालाई एकताबद्ध गर्दै पार्टी संगठनलाई वडा तहसम्म बलियो बनाउने अभियानमा जुटेको बताउनुभयो। उहाँका अनुसार स्थानीय तहमा जनताका आधारभूत आवश्यकता, शिक्षा, स्वास्थ्य, सडक, ढल निकास, सरसफाइ, रोजगारी र सुशासनलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने आवश्यकता छ।“घण्टी केवल चुनाव चिह्न मात्र होइन, यो जनताको परिवर्तनप्रतिको चाहना र नयाँ राजनीतिक संस्कारको सन्देश पनि हो,” उहाँले भन्नुभयो।
‘नेपालगन्ज उपमहानगरपालिका—घण्टी बजाऔँ, परिवर्तन ल्याऔँ, सबै वडामा विजय प्राप्त गरौँ’ भन्ने नारासहित रास्वपा बाँकेले आफ्नो चुनावी गतिविधि अगाडि बढाएको छ।
पार्टीले नगरका सबै वडामा संगठन विस्तार, जनसम्पर्क तथा प्रचार प्रसारलाई थप प्रभावकारी बनाउँदै आगामी स्थानीय निर्वाचनमा सशक्त उपस्थिति जनाउने लक्ष्य लिएको जनाएको छ।


