प्रचण्डको ठेक्का लिन सक्दिनँ ‘ बाबुराम ” लोकतन्त्रको रक्षा गर्न काङ्ग्रेसले नेतृत्व लिनु पर्ने
काठमाडौं : जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले प्रतिनिधि सभा विघटनको विरुद्धको आन्दोलनको अगुवाई नेपाली काँग्रेसले गर्नुपर्ने बताएका छन्। सोमवार गणेशमान सिंह तथा शहीद स्मृति प्रतिष्ठानद्वारा राजधानीमा आयोजित ‘प्रतिनिधिसभा विघटनः संवैधानिक एवं राजनैनिक अन्यौलता र त्यसको निरूपण’ विषयक बहस कार्यक्रममा भट्टराईले उक्त भनाई राखेका हुन्।
आफू बीपी कोइरालाको अनुयायी भएको र गणेशमानलाई सधैं सम्मान गर्ने उल्लेख गर्दै अहिले घोचपेचको समय नभएको जिकिर गरे।
१२ बुँदेका पक्षधर कमजोर हुँदा यस्तो हालत
कार्यक्रममा पूर्व प्रधानमन्त्रीसमेत गरेका भट्टराईले संविधानसभा अगाडि १२ बुँदे सहमतिमा हस्ताक्षर गरेका पक्षधर कमजोर हुँदा अहिलेको अवस्था आएको दाबी गरे। नयाँ संविधान १२ बुँदे समझदारीबाट आएको उल्लेख गर्दै काँग्रेस र तत्कालीन माओवादी कमजोर हुँदा केपी ओलीजस्तो व्यक्ति हावी भएको उनको भनाई थियो।
‘संविधानसभाबाट संविधान आयो। दरबारहत्याकण्ड र ज्ञानेन्द्रले सत्ता लिएपछि जनताले पनि बुझे। गिरिजाप्रसाद र प्रचण्डको नेतृत्वमा १२ बुँदेपछि यो सम्भव भएको हो,’ उनले भने, ‘हामीजस्ता शक्ति कमजोर हुँदा केपी ओलीजस्ता मान्छे, जो सबै एजेन्डाका विरोधी हुन्, गणतन्त्रका विरोधी हुन्। महाखुराफाती पात्रलाई मञ्चमा उभ्यायौं।’ उनले थपे, ‘१२ बुँदेका पक्षधर काँग्रेस र तत्कालीन माओवादी। दरवारीया शक्ति र अन्य शक्ति बलियो भयो। यी दुवै अहिले कमजोर छन्। त्यसैले देशको अवस्था यस्तो आयो।’
अहिलेको घटनालाई सैवैधानिक हिसाब र राजनीतिक हिसाबले हेर्नुपर्ने बाबुरामको भनाई थियो। उनले भने, ‘२०४७ सालको संविधानमा प्रधानमन्त्रीको अधिकार थियो। तर, हामीले यसलाई संविधानसभाबाट टालेका थियौं। न यो उदार लोकतन्त्र हो न समाजवादी लोकतन्त्र। दुवै मिसिएको छ। काँग्रेस उदार लोकतन्त्र पक्षधर हो माओवादी समाजवादी शैलीको पक्षधर। बिचको प्रणाली हामीले बनायौं। पूर्वग्राही नबनौं। विकासमा जाऔं।’
भट्टराईले काँग्रेसले उदारमात्र र अरुले समाजवादीको कुरामात्र गर्न नहुने उल्लेख गर्दै केपी ओलीले इतिहासप्रति बदला लिएको दाबी गरे। भने, ‘इतिहासप्रति बदला लिए केपी ओलीले। उनी व्यक्ति हैनन्, पात्र हुन्।’
नेपालमा बेलाबेला क्रान्ति भइरहेको उल्लेख गर्दै नेताहरुको पनि चेतनास्तर नपुगेको बताए। भने, ‘क्रान्ति नै ढिला भयो हाम्रोमा। आर्थिक सामाजिक रुपमा हामी धेरै पछाडि छौं। युरोपमा २०० वर्षअघि नै भएको थियो। नेताहरुकै चेतनास्तर पुगेको छैन।’
प्रचण्ड माधवले कित्ता क्लियर गरोस्
तत्कालीन एमालेको पहिचान नभएको आफूले पहिले नै भएको उल्लेख गर्दै बाबुरामले अहिले पनि पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले कित्ता क्लियर गर्नुपर्ने बताए।
‘केपी ओलीलाई किन पार्टीबाट अझै निकाल्नुहुन्न? तपाईंहरूले कित्ता क्लियर गर्नुस्। तपाईंहरू अझै पनि सत्तामा जान खोजिरहनु भएको त होइन भन्ने हामीलाई र कांग्रेसलाई आशंका छ,’ उनले भने।
ओली अहिले नव फाँसीवादी अभ्यासमा रहेको आरोप बाबुरामको थियो। ‘केपी ओली चरम दक्षिणपन्थी नव फाँसीवादको अभ्यासमा छन्,’ उनले भने।
काँग्रेस र कम्युनिस्ट ब्रान्डमात्र भएको उल्लेख गर्दै यसमा जनतालाई अड्याउन नसकेको उनको भनाई थियो।
दुई शक्तिबिचको कार्यगत एकतामा निरन्तरता दिन नसक्नु दुर्भाग्य भएको उनले बताए। यसका लागि एक भएर जानुको विकल्प नरहेको बाबुरामको जोड थियो। ‘यसैको बिचबाट हिटलर प्रवृत्ति अगाडि बढेको छ। यसलाई परास्त गर्न हामी फेरि एक भएर जानुपर्ने भएको अवस्था छ,’ बाबुरामले भने।
शक्ति प्रदर्शनले बाह्य चलखेल रोकिने र अदालतले पनि सही निर्णय गर्ने उनको भनाई थियो।
‘बाह्य शक्तिहरुले पनि खेलेका छन्। हामी सतर्क बनौं। शक्ति प्रदर्शन गर्यो भने चलखेलहरु रोकिन्छन्। अदालत पनि संविधानभित्रै रहेर निर्णय गर्छ,’ काँग्रेससँग उनको आग्रह थियो।
‘प्रचण्डको ठेक्का लिन सक्दिनँ’
सरकारविरुद्ध प्रचण्डले हिंसात्मक आन्दोलनको कुरा गरेको प्रसंगमा आफूले उनको ठेक्का लिन नसक्ने बाबुरामले बताए। उनले भने, ‘एक जना साथीले हिंसात्मक आन्दोलनको कुरा गर्नुभयो। प्रचण्डजीको बारेमा म ठेक्का लिन्नँ। उहाँले कहिले के बोल्नुहुन्छ? आफैले बिहान बोलेको बेलुका उहाँलाई सम्झना हुँदैन।’
उनले सक्दो शान्तिपूर्ण ढंगले आन्दोलन गर्ने बताए। हस्ताक्षेप बढ्यो भने रामनाम जपेर बस्न नसक्ने समेत बाबुरामको भनाई थियो। भने, ‘हस्ताक्षेप बढ्यो भने हामी हातमा दही जमाएर बस्ने? हामी रामनाम जपेर बस्दैनौ।’
बाबुरामले संसद जिउँदै रहेकाले यो ब्युँतिएमा काँग्रेसले नै सरकारको नेतृत्व गर्ने अधिकार पाउने भएकोले संयुक्त आन्दोलनको तयारी गर्नुपर्ने अडान दोहोर्याए।
‘संसद जिउँदै छ। यसलाई ब्युँताएर अघि बढ्नुपर्छ। अर्को चुनाव किन पर्खने? प्रतिनिधिसभा पुनर्स्थापना भयो भने काँग्रेसको नेतृत्वमा सरकार बन्छ। संयुक्त आन्दोलनको तयारी गरौं,’ बाबुरामले भने, ‘हामीलाई सरकारमा जाने लोभ छैन। काँग्रेसले मुख्यत: भूमिका निर्वाह गर्नुपर्यो।’पहेलोपोस्ट


