१३ असार २०८३, शनिबार

बुधबार डा. मोनीले अग्रपंक्तिमै बसेर कोभिसिल्ड खोप लगाएकी छन्

एसीपी संवाददाता

१५ माघ २०७७, बिहीबार ००:०२ मा प्रकाशित

पोखरा । गत चैत १५ गते बागलुङकी १९ वर्षीया किशोरीलाई कोरोना संक्रमण पुष्टि हुँदा गण्डकी प्रदेशभरि नै खैलाबैला मच्चिएको थियो ।

बागलुङ कुँडुलेकी ती किशोरीलाई कोभिड देखिएपछि चिकित्सककै भागाभाग चलिएको थियो । त्यसको २ दिनपछि कोरोना परीक्षणमा खटिएकी थिइन् डा. मोनी सुवेदी ।

चैत १७ गते डा. मोनी आफूले कोरोना परीक्षणको तालिम लिएर अरुलाई पनि सिकाइरहेकी थिइन् । प्रदेशकै पहिलो संक्रमितको काठमाडौंमै परीक्षण गरिएको थियो ।

त्यतिबेलासम्म गण्डकी प्रदेशमा प्रयोगशाला तयारसमेत भइसकेको थिएन । केही समयमै प्रयोगशाला तयार भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा खटिएकी मोनीसँग परिवार, समाज र चिनेजानेका मानिससमेत डराउँथे ।

‘त्यो बेला चिकित्सकलाई ठूलो डर थियो, के हो, कसो हो भन्ने थियो भने सर्वसाधारण र अन्यको हकमा डरको कस्तो रुप थियो होला,’ डा. मोनीले भनिन्, ‘कोरोनाको चरम संकट काटेर यहाँसम्म आइपुगेका हौं ।’

गण्डकीमा पहिलो कोरोना संक्रमित देखिएको १० महिना पुग्नुभन्दा अघिल्लो दिन कोभिड–१९ विरुद्धको खोप कोभिशिल्ड लगाउने अभियान सुरु भएको छ । जसरी कोरोना सुरु हुँदा मानिसमा डर थियो, अहिले खोपसँग पनि उत्तिकै डर छ ।

पहिलो चरणमा खोप लगाउन लागेकाले यसले कतिको काम गर्छ भनेर परीक्षणका लागि पठाएको भन्दै शंका उपशंका भइरहेको छ । डा. मोनीलाई पनि गाउँ, छिमेक र परिवारलेसमेत पहिले खोप नलगाउन भनेका थिए । तर, बुधबार डा. मोनीले अग्रपंक्तिमै बसेर कोभिसिल्ड खोप लगाएकी छन् ।

‘९४/९५ प्रतिशतले मानिसले नलगाउन खोप नलगाउन भनेका थिए । खोप लगाएँ आज गर्व छ । मैले फस्टमै लगाउने भनें । म मानसिक हिसाबमै तयार थिएँ,’ डा. मोनीले भनिन् ।

हिजो अग्रपंक्तिमा रहेर काम गर्दा जसरी गर्व लागेको थियो, त्यसरी नै पहिलो चरणमा पहिलो लहरमै बसेर खोप लगाउन पाउनु खुसीको कुरा भएको उनको भनाइ थियो ।

‘मेरो परिवार, समाज, छिमेकी, मैले काम गर्ने संस्था सबैलाई अब मेरो नतिजा हेर्नुस् भनेकी छु,’ डा. मोनीले भनिन्, ‘सबैका लागि म आफैं एक परीक्षण हुनेछु र मलाई विश्वास छ, एक उदाहरण बन्ने छु ।’

यस्तै अनुभव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड उपचार केन्द्रका फोकल पर्सन डा. बुद्धिसागर लामिछानेको पनि छ । गण्डकी प्रदेशकै एकमात्र कोभिड अस्पतालमा सुरुदेखि नै खटिएका लामिछानेले खोप लगाउन पाउँदा गर्व लागेको बताए ।

यस्तै सुरुदेखि प्रयोगशालामा खटिएका ल्याब टेक्निसियन शंकर भण्डारीलाई पनि धेरैले सुरुमा खोप नलगाउन भनेका थिए । तर, सरकारले फ्रन्टलाइनरलाई पहिलो चरणमा खोप लगाउने निर्णय गरेपछि जनतालाई ऊर्जा भर्न पनि आफूले लगाउने दायित्व सम्झिएको उनको भनाइ छ ।

गण्डकी प्रदेशकै स्वास्थ्यकर्मीको ऊर्जा भर्ने कामको सुरुआत पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. वुद्धिबहादुर थापाले गरेका थिए । गण्डकी प्रदेशमा उनैले पहिलो खोप लगाएर अभियान सुरु भएको हो ।

प्रतिष्ठानबाट बिहान १० बजे कोभिड–१९ विरुद्धको खोप लगाउने अभियान आरम्भ हुँदै थियो । पहिलो खोप कसलाई लगाएर अभियान सुरु गर्ने भन्ने चर्चा हुँदै थियो । यो कुरा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. वुद्धिबहादुरले थाहा पाए ।

सामाजिक विकास मन्त्रालयमा सम्पर्क गरेर डा. थापाले आफूले पहिलो खोप लगाउने बताए । ‘मैले नै खोप लगाउँछु भन्नुको पछाडि १/२ वटा कारण थिए । पहिलो त, प्रतिष्ठानको नेतृत्व गर्ने उपकुलपतिले नै लगाएर अभियान सुरु गरेपछि यसको सन्देश राम्रो जान्थ्यो, दोस्रो म फिजिसियन डाक्टर हुँ, मैले नै पहिलो खोप लगाउँदा मान्छेमा शंका उपशंका कम हुन्छ,’ डा. थापाले भने ।

धेरै जनाले पहिलो चरणको खोप नलगाउने भनेको तर आफू फिजिसियन डाक्टर नै भएकाले भ्रम निवारणका लागि पनि लगाउनुपर्छ भन्ने लागेको थापाले बताए । खोप लगाउनेहरुमा असर देखिएको र ज्यानसमेत गुमाएको जस्ता अफवाह आइरहेको भन्दै डा. थापाले त्यो गलत भएको बताए । ‘कोरोनाको डर पहिले पो थियो, अब खोप लगाएपछि त ढुक्क भयो नि,’ थापाले भने ।

कोरोना सुरु भएको १ वर्षभित्रै खोप लगाउन पाउनु निकै खुसी कुरा भएको थापाको भनाइ छ । ‘दुखाइ, साइड इफेक्ट अहिलेसम्म देखिएको छैन । अफिसमै काम गरिरहेको छु,’ थापाले भने ।

लगाउने पनि आफैं लगाइदिने पनि आफैं भएकाले स्वास्थ्यकर्मीलाई त्यति ठूलो डर देखिएको छैन । खोप नयाँ भएकाले यसको असरबाट सबै अनविज्ञ छन् तर अरु खोप र यो खोप लगाउने तरिका भने एउटै हो ।

बुधबार गण्डकी प्रदेशमा खोप अभियानको सुरुआत गर्दै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विज्ञान र बायो टेक्नोजोजीका कारण यति छिट्टै खोप पाउन सफल भएको  बताए । ‘१/२ वर्ष अगाडिसम्म यति छिट्टै खोप नआउन सक्थ्यो,’ मुख्यमन्त्री गुरुङले भने, ‘टेक्नोलोजीकै कारण यति छिट्टै आएको हो, ती तमाम वैज्ञानिकलाई धन्यवाद भन्नुपर्छ ।’

पहिलो चरणमा सम्पूर्ण सरकारी, गैरसरकारी, निजी अस्पताल र मेडिकल कलेजमा कार्यरत स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र अस्पतालको फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारी, एम्बुलेन्स तथा शववाहनका चालकले खोप लगाउनेछन् ।

गण्डकी प्रदेशका लागि ३९ हजार १ सय ३९ मात्रा खोप छुट्याइएको छ । गण्डकी प्रदेशका ११ वटै जिल्लमा खोप लगाउन सुरु भइसकेको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए । प्रदेशका १६ हजार ७ सय ३० जना फ्रन्टलाइनरलाई १८ गतेभित्रमा खोप लगाइसक्ने प्रदेश सरकारको योजना छ ।

प्रदेशका सबै जिल्ला अस्पताल र पोखरामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, संक्रामक तथा सरुवा रोग अस्पताल, मणिपाल शिक्षण अस्पतालमा फ्रन्टलाइनरलाई खोप लगाइएको छ ।

कोभिडविरुद्ध खोप लगाएका व्यक्तिमा ज्वरो आउने, टाउको दुख्ने, तातो हुने, सुन्निनेलगायत समस्या देखिन सक्ने भन्दै त्यसलाई सामान्य रुपमा लिन प्रदेश स्वास्थ्य निर्देशक शर्माले आग्रह गरे । खोप लगाउनेहरुमा गम्भीर समस्या आइहालेमा प्राथमिक उपचार जिल्ला अस्पतालमै गर्ने र गम्भीर भए पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मणिपाल शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेज र संक्रामक तथा सरुवा रोग अस्पतालमा रिफर गरी उपचार गराइने उनको भनाइ छ ।

गण्डकी प्रदेशमा मंगलबारसम्म १ लाख २५ हजार ४९७ जनाको कोरोना परीक्षण भएको छ । त्यसमध्ये १५ हजार ३ सय ३७ जना संक्रमित भएका छन् । ४ सय ६४ जना अहिले सक्रिय संक्रमित छन् भने १४ हजार ६७१ संक्रमित निको भएका छन् ।साभार अनलाइनखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x